Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : प्रतिनिधिसभा विघटनको विरोधदेखि विदेशी सहयोगसम्म


दृष्टि संवाददाता


हेडलाइन्स्


१. प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा फेरि प्रतिनिधिसभा विघटन, संविधानको धारा ७६ को उपधारा ५ वमोजिम प्रधानमन्त्रीमा दाबी गर्ने एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरवहादुर देउवा दुवैले बहुमतको आधार प्रस्तुत गर्न नसकेको राष्ट्रपति विद्यादेवी भण्डारीको ठहर, २६ कात्तिकमा पहिलो र ३ मंसिरमा दोस्रो चरणको मध्यावधि निर्वाचनको मिति घोषण ।

२. प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदमविरुद्ध राजनीतिक र कानुनी रुपमा सशक्त प्रतिवाद गर्ने पाँच दलिए गठबन्धनको निर्णय, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव हस्ताक्षर गरेका १४९ जना सांसदलाई नागरिकतासहित उपस्थित हुन निर्देशन, कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव पक्ष, जसपाको बाबुराम–उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाको सांसदहरु नागरिकतासहित उपस्थित हुनुपर्ने ।

३. प्रतिनिधि सभा विघटन गर्ने कदम असंवैधानिक र अलोकतान्त्रिक भएको सभामुख अग्निप्रसाद सापकोटाको ठहर, वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेस भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदा रहँदै प्रतिनिधिसभा विघटनको निष्कर्षमा पुग्नु कदापि संवैधानिक कदम मान्न नसकिने भनाइ, संवैधानिक सर्वोच्चता र लोकतन्त्रको रक्षाका राजनीतिक दलहरु, नागरिक समाज, संविधानविद्, कानुन व्यवसायी, बुद्धिजीवीलाई फेरि एकपल्ट एकजुट हुन आग्रह ।

४. नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको अभियोगमा ११ जना सांसदलाई स्पष्टीकरण सोध्ने नेकपा एमालेको निर्णय, एमालेले माधवकुमार नेपाल, झलनाथ खनाल, भीमबहादुर रावल, कल्याणी खड्का, रामकुमारी झाँक्री, सरला यादव, मुकुन्द नेपाल, पुष्पाकुमारी कर्ण, कलिला खान, नीरादेवी जैरु र लक्ष्मीकुमारी चौधरीसँग स्पष्टीकरण सोध्ने, जवाफ जेठ १० गतेभित्र पेश गरिसक्नुपर्ने ।

५. गत २४ घण्टामा देशभर १२९ जना कोरोना संक्रमितको मृत्यु, ८ हजार ९ सय ८० जना संक्रमित, ८ हजार ८४८ जना संक्रमित निको भए, देशभर ८८६ जना व्यक्ति क्वारेन्टाइनमा ।

६.सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई पुनः बदर गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विश्वास, प्रतिनिधिसभा विघटन असंवैधानिक मात्र नभएर निरंकुश, स्वैच्छाचारी र प्रतिगमनकारी भएको ठहर, कोरोना महामारी नियन्त्रणमा सबै राजनीतिक दल केन्द्रित हुनुपर्ने बेलामा निरंकुश र तानाशाही प्रवृत्तिविरुद्ध प्रतिवाद गर्नुपर्ने समय आएको भनाइ ।

७. संविधानलाई राष्ट्रपति र प्रधानमन्त्रीले आफूअनुकूल प्रयोग गरेको कांग्रेस सभापति शेरबहादुर देउवाको आरोप, संविधान बमोजिम राष्ट्रपतिले तत्काल आफूलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्नेमा इन्कार गरेको भन्दै विरोध, गणतन्त्र, संविधानको रक्षा गर्न राष्ट्रपति र प्रधानमन्त्रीका असंवैधानिक तथा अलोकतान्त्रिक कार्यका विरूद्ध राजनीतिक र न्यायीक लडाइँ लड्ने प्रतिवद्धता ।

८.नेपालको कोभिड–१९ महामारीविरुद्ध अमेरिकाले उपलब्ध गराएको स्वास्थ्य सामाग्रीको पहिलो खेप काठमाडौं आइपुग्यो, अमेरिकी सहयोग नियोग युएसएड र अमेरिकी दूतावासका प्रतिनिधिद्वारा सर्जिकल मास्क, फेस सिल्ड र ग्लोब्स स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमलाई सामग्री हस्तान्तरण, दुईदिनभित्र अमेरिकी कार्गो बिमानले थप दुई खेप सामान ल्याउने ।

९.म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको पार्टी खारेज हुने संभावना, सुकीको पार्टी नेस्नल लिग फर डेमोक्रेसी (एनएलडी)लाई देशको निर्वाचन आयोगले खारेज गरिदिने तयारी, प्यालेस्टिनीको बसोबास रहेको गाजा पट्टीमा ११ दिनदेखि जारी आक्रामक कारबाही रोक्न इजरायल सरकार र गाजाको विद्रोही संगठन हमासबीच भएको युद्धविरामको सुडानद्वारा स्वागत, चीनले कोभिड १९ का विरुद्धमा लड्नका लागि दक्षिण एसियाली छिमेकी राष्ट्र बंगलादेशलाई सहयोग गर्ने ।

१०. र, नेपाल बक्सिङ संघलाई संघको साधारण सभा स्थगित गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निर्देशन, कोरोनाको दोस्रो लहरका कारण उत्पन्न विषम परिस्थितिलाई मध्यनगर राख्दै राखेपको पूर्व स्वीकृती नलिइ गर्न लागिएको भन्दै राखेपको आपत्ति, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) टोकियो ओलम्पिक निर्धारित समयमै हुने ।

प्रतिक्रिया दिनुहोस्