Logo
Logo
माफियाको चंगुलमा कैलाली-कञ्चनपुरको वन

वन फडानी र काठ तस्करी बढ्दै, सरोकारवाल निकाय मौन


हिक्मत बम/युगअस्त्र



धनगढी । कोरोनाको कहरले देश आक्रन्त बनेका बेला वन माफियाहरु, वन तस्कर र वनमाराहरु सक्रिय भएका छन् । वषौंदेखि कैलाली र कञ्चनपुरको वन क्षेत्रमा गिद्वेदृष्टि लगाउँदै आएका वन माफिया, तस्कर र वनमाराहरु यती बेला सक्रिय भएका छन् ।

ठेकेदारको योजन र कर्मचारीहरुको मेलेमतोमा कैलाली र कञ्चनपुरका सामुदायिक वन क्षेत्रमा निषेधाज्ञाको मौकाछोपी वन माफिया र वन तस्करहरु सक्रिय भएका हुन् । पछिल्लो समय कैलाली र कञ्चनपुर जिल्लाको वन क्षेत्रमा वन माफिया र तस्करहरुले विभिन्न बहानामा मौकाछोपी वन फडानी र काठ तस्करी गर्दै आएको बताइएको छ ।

प्राकृतिक सम्पदाको दोहन र उत्खनन् गर्दै अकुत सम्पत्ति कमाउन पल्केका माफिया र तस्करहरु कोरोना कहरका बेला सक्रिय भएको चुरेका स्थानीयहरुले बताएका छन । उनीहरुका अनुसार यो बेला देश आक्रन्त बनेको छ, जे गर्दा पनि कसैले केहि गर्दैन र कसैले पनि निगरानी गर्दैन भन्दै वन कर्मचारीहरुको मेलेमतोमा माफिया र तस्करहरुले विभिन्न योजना बनाइ चुरेका वनजंगल फडानी गर्ने गरेका छन ।


कैलालीको चुरे गाउँपालिका वडा नम्बर ६ को सिद्ध प्रगतिशील सामुदायिक वनमा सडक निर्माण गर्ने बहानमा वन माफिया र तस्करहरुले एक सय ५० वटा सालका रुखहरु काटेको स्थानीयहरुले बताएका छन । स्थानीयहरुले वनजंगल फडानी भएको विषयमा डिभिजन वन कार्यालय कैलालीलाई जानकारी गराउदा पनि बेवास्ता गरेर बेखवर जस्तै भएको बताएका छन ।

यो त एक उदाहरण मात्र हो, चुरेका अन्य सामुदायिक वनमा पनि माफिया र तस्करहरुले वन फडानी, काठ तस्करी गर्नुका साथै अवैधानिक रुपमा खोटो संकलन गर्ने कार्य भइरहेको छ । चुरेका प्रायजसो वनबाट काठ तस्करी भइरहेको पाइएको हो । वन फडानी र काठ तस्करीको विषयमा डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कडेलसंग बुझ्दा उहाँले चुरेको विषयमा आफु जानकार नरहेको बताएका छन् ।


उनले भने, यदि वन फडानी र तस्करी भएको पाइयो भने कारवाही आगाडि बढाइने छ । निषेधाज्ञाको बेला तस्करहरुले वन फडानी गर्ने र काठहरु रातारात अत्तरिया र धनगढका मिलहरुमा पुगाउने गरेका छन । भने कतिपय काठहरु डोजर लगाएर खाडल कोरेर त्यहि क्षेत्रमा गाड्ने गरेको पनि पाइएको छ ।

त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका ८ तिलाचौरमा रहेको सिद्धनाथ बैजनाथ सामुदायिक तपोबनमा पनि काठ तस्करी मौलाएको छ । लकडाउनको मौकछोपी तस्करहरुले वन फडानीसंगै काठ तस्करी गर्दै आएका छन ।

रातभर काठ तस्करहरु जंगलमा गएर काठहरु कटान गर्ने र विहान ४ बजेको समयमा नजिककैको काठ मिलमा बेच्ने गरेको स्थानीयले बताएका छन् । नदि नजिकका रुख तथा चुरे आसपासमा रहेका रुखहरु पनि तस्करहरुले काटेर वन फडानी गरेको स्थानीयहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्