संसद विघटनविरुद्ध रिट लिएर सर्वोच्चमा विपक्षी गठबन्धन « Drishti News – Nepalese News Portal
Logo

संसद विघटनविरुद्ध रिट लिएर सर्वोच्चमा विपक्षी गठबन्धन


दृष्टि संवाददाता


काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध राजनीतिक र कानुनी प्रतिवाद गर्ने भनेका ५ राजनीतिक दलका शीर्ष नेताहरु रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष), जनता समाजवादी पार्टी (उपेन्द्र पक्ष) र राष्ट्रिय जनमोर्चाका नेताहरु सर्वोच्च अदालत पुगेका हुन् । विघटित प्रतिनिधि सभाका १४६ जना सदस्यको हस्ताक्षर जुटाएर विपक्षी गठवन्धनका नेताहरु सर्वोच्च पुगेका हुन्।

रिटमा देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने आदेश होस्, ओली अवैधानिक प्रधानमन्त्री भनियोस्, धारा ७६ (५) को ब्याख्या होस्, तत्काल संसद पुनःस्थापनाको लागि अन्तरिम आदेश होस् र निर्वाचन गर्दा आर्थिक व्ययभार हुने भएकाले रोक्नलाई अन्तरिम आदेश होस् भन्ने मागदाबी तय गरिएको छ ।

यसअघि सिंहदरबारमा सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका नेता छलफल गरेका थिए ।

गत शुक्रबार १४९ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए । सोही दिन सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्