Logo
Logo

चार दलले मागे लुम्बिनीका मुख्यमन्त्री नियुक्ति कागजात


दृष्टि संवाददाता


काठमाडौं । लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति प्रकृया र सांसदहरुको हस्ताक्षरसम्मको कागजपत्र प्रदेश प्रमुखको कार्यालयसँग माग गरेका छन् ।

मुख्यमन्त्री पोखरेलको नियुक्तिलाई असंवैधानिक बताउँदै सर्वोच्च अदालत जाने बताएको गठबन्धनले कागजात नपाएपछि लिखित रुपमा कागजात माग गरेको हो । गठबन्धनले सोमबार नेपालको संविधानको धारा र सूचनाको हक सम्बन्धी २०६४ दफा ३ वमोजिम प्रदेश प्रमुखको कार्यालयमा लिखित पत्रमार्फत कागजात मागेको छ ।

नेपाली कांग्रेस संसदीय दलका सचेतक निर्मला क्षेत्री, नेकपा माओवादी केन्द्रकी सचेतक पार्वती पुन, जसपा सचेतक पुर्मति ढेंगा र राजमो सांसद तारा जीसीले सोमबार एक निवेदन दिँदै कागजपत्र माग गरेका हुन् ।

लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले डाकेको प्रदेश सभा विशेष अधिवेशन सम्बन्धी पत्र, मुख्यमन्त्री पोखरले दिएको राजीनामा, पुनः नियुक्ति र चार दलले माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रस्तावसहित बुझाएको कागजपत्र सूचनाको हक सम्बन्धी ऐन २०६४ दफा ३ अनुसार माग गरिएको कांग्रेस सचेतक क्षेत्रीले बताइन् ।

गत वैशाख १९ गते चार दलको माग अनुसार विशेष अधिवेशन आह्वान भएको भएपनि मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको घोषणा गरेर केही घण्टामै वहुमत दावी गरेर पुनः नियुक्त भएका थिए ।

पोखरलले आफूसँग बहुमत रहेको दावी गरेपनि विपक्षी दलले ४१ जना सांसदको हस्ताक्षर सहित माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्