Logo

पूर्वाधार बैंकको उद्घाटन रमिता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । गत सातादेखि मुलुकका ठूला पूर्वाधार निर्माणमा लगानी गर्ने उद्देश्यले स्थापना भएको पूर्वाधार विकास बैंकले औपचारिक सुरुवात गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम भएतापनि प्रधानमन्त्रीको नियमित स्वास्थ्य परीक्षणका कारण उक्त बैंकको उद्घाटन अर्थमन्त्री युवराज खतिवडाले गरेका थिए । नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएका अन्य दुई दर्जन भन्दा बढी वाणिज्य बैंकहरू भन्दा फरक ढंगले मुलुकको ठूला पूर्वाधार निर्माणमा लगानी केन्द्रित गर्ने गरी विशिष्ट बैंकका रूपमा स्थापना भएको यो नेपालको पहिलो वाणिज्य बैंक हो । यसअघि पञ्चायतकालमा ठूूला उद्योग स्थापना र कर्जा प्रदानको उद्देश्यले नेपाल औद्योगिक विकास निगमको स्थापना गरिएको थियो । हाल उक्त संस्था विकास बैंकमा परिणत भई राष्ट्रिय वाणिज्य बैंकमा गाभिइसकेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अर्थमन्त्री खतिवडाले आर्थिक समृद्धिका लागि मुलुकमा ठूलो लगानी आवश्यक भएको समयमा पूर्वाधार विकास बैंक सञ्चालनमा आएकाले यसले पूर्वाधार निर्माणमा परिपूरकको भूमिका निर्वाह गर्नुपर्ने बताए । हाल सञ्चालनमा रहेका विभिन्न प्रकृतिका बैंक तथा वित्तीय संस्थाको कार्यप्रकृति भने समान रहेकोतर्फ औंल्याउँदै खतिवडाले पूर्वाधार बैंकलाई अन्य भन्दा पृथक र आफ्नो उद्देश्यअनुरूपको हुन पनि आग्रह गरे । उनले भने ‘ठूला पूर्वाधार निर्माणमा लगानी गर्न नेतृत्वदायी भूमिका खेल्नुपर्यो, एनआरएन र विदेशी लगानीकर्ताको लगानी भित्र्याउन पनि पहल गर्न पर्यो ।’
राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मुलुकको आवश्यकताअनुसार पूर्वाधार विकास बैंक स्थापना भएकाले आर्थिक विकासमा महत्त्वपूर्ण टेवा पुग्ने बताएका थिए । ‘पुँजी संकलनका लागि बैंकलाई पूर्ण अधिकार छ,’ उनले भने, ‘यसकारण स्वदेश विदेशबाट पुँजी संकलन गरी पूर्वाधार विकासमा लगानी गर्नपर्यो ।’
मध्यमार्गी अर्थमन्त्री
कार्यक्रमलाई उपयोग गर्दै अर्थमन्त्रीले उपस्थित केही बैंकर र व्यवसायीलाई मिलेर ब्याजदरको विवाद अन्त्य गर्न आग्रह गरे । कहिले बैंकर र कहिले व्यवसायीलाई विभिन्न आशा देखाउँदै आएका अर्थमन्त्री खतिवडाले उक्त अवसरमा ब्याजदर समस्या समाधानको निम्ति आफूले हस्तक्षेप गर्न नपरोस् भनेर कडा चेतावनी समेत दिए । भुक्तभोगीका अनुसार यतिखेर अर्थमन्त्री व्यवसायी र बैंकर दुबै पक्ष आफ्नो अडानमा रहेको मौकाको फाइदा उठाउँदै हाइसञ्चोमा देखिन्छन् । व्यवसायी र बैंकर दुबै पक्ष मिलेको अवस्थामा अर्थतन्त्रसँग सम्बन्धित आफू अनुकूलका नीति र कार्यक्रम अघि बढाउन गाह्रो हुने उनलाई विगतदेखि नै हेक्का रहेको छ ।
उद्घटनमा रमिता
पूर्वाधार बैंकको उद्घाटन समारोहमा सीमित पाहुनालाई मात्र बोलाइएको थियो । केन्द्रीय बैंकबाट गभर्नर र बैंकर संघबाट अध्यक्ष ज्ञानेन्द्र ढुंगाना तथा केही नीजि क्षेत्रका महानुभावहरूको उपस्थिति देखिन्थ्यो । अधिकांश पाहुनालाई बाहिर पालमै राखेर बैंकका एकाध पदाधिकारी र अर्थमन्त्रीले मात्र एकान्त ठाउँमा बैंकको उद्घाटन गरेर बोलाइएका पाहुनालाई टेलिभिजनबाट उद्घाटनको दृष्य देखाइएको थियो । उद्घाटन समारोहमा बोलाएर पनि आफूहरूलाई समारोहस्थल बाहिरै राखेको भन्दै अधिकांश बैंकर र नीजि क्षेत्रका पाहुना अर्थमन्त्री बैंक उद्घाटन र बैंक भवनको निरीक्षणपछि भाषणस्थलमा आइपुग्दा हिँडिसकेका थिए । आफैं नयाँ बैंकको उद्घाटन गर्ने र अरुलाई भने बैंकको संख्या घटाउन निर्देशन दिँदा उपस्थित अधिकांशले कानेखुशी गरेका थिए । स्रोतका अनुसार बैंक संख्या घटाउन अप्रत्यक्ष रूपमा गभर्नर चिरञ्जीवी नेपाललाई मन्त्री खतिवडाले सम्झाएको हुनसक्ने उपस्थित सबैले बुझेका थिए ।
उता बैंकर्स संघलाई पूर्वाधार बैंकको उद्घाटनमा वास्ता नगरेको अवस्थालाई सबैले रहस्यको रूपमा लिएका छन् । संघका अध्यक्षलाई ‘क’ वर्गको बैंकको उद्घाटन समारोहमा औपचारिक सम्बोधन गर्न नदिनुको रहस्य पछि मात्र खुलेको छ । पूर्व मुख्यसचिव विमल कोइरालालाई सो बैंकको अध्यक्ष बनाउन मरिमेट्नेहरूमा बैंकर्स संघको अध्यक्ष समेत हिँडेको भनेर अर्थ मन्त्रालयका केही भित्रियाहरूले मन्त्रीलाई चुक्लि लगाइदिएका थिए । स्मरणरहोसा् वर्तमान सरकारको खोइरो खन्ने पूर्व प्रशासकहरूमा कोइराला सबैभन्दा अगाडी छन् । विदेशी संघ संस्था र कुटनीतिक निकायको बोलीमा लोली मिलाउनेमा पनि उनी अग्र देखिएका छन् ।
उता, अर्थमन्त्रीसँग व्यक्तिगत रूपमा कोइरालाको सम्बन्ध विगतदेखि नै सुमधुर देखिँदैन । कोइराला विगतमा अर्थ सचिव हुँदै मुख्य सचिव हुँदा शक्तिकेन्द्रको आर्शिवाद लिएर गरेको चर्तिकलाप्रति अर्थमन्त्री विज्ञ रहेको पनि स्रोत बताउँछ । अर्थसचिव हुँदा कोइराला नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको सदस्य समेत थिए । खतिवडा भने नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागको कायम मुकायम र पछि प्रमुखको भूमिकामा कार्यरत थिए । त्यसैले पनि एकाध विषयमा उनले अप्ठेरो पारेकाले हुनसक्छ खतिवडाले कोइरालालाई पूर्वाधार बैंकको अध्यक्ष बनाउन नहुने पक्षमा थिए । त्यसैले कोइराला अध्यक्षबाट हटाइए ।

प्रतिक्रिया दिनुहोस्