काठमाडौं । पटक–पटक विवादमा परेका उपप्रधानमन्त्री ईश्वर पोखरेल पछिल्लो समय बढी स्मार्ट हुन खोज्दा फेरि चिप्लिएका छन् । जनतामा गलत सूचना फैलाएर प्रशंसा कमाउन खोज्दा उनको मात्र नभई सरकारकै बेइज्जती भएको छ ।
गत साता उनी दुई विषयमा चिप्लिए । पहिलो आफ्नो पहलमा बेलायतबाट २० लाख डोज खोप आउन लागेको भनेर प्रचार गरे । बेलायतका लागि नेपाली राजदूतसँग समेत भेटेर छलफल गरेका थिए । सोही आधारमा बेलायतबाट खोप आउन लागेर भनेर प्रचार हुँदा जनतामा एक किमिसको उत्साह छायो ।

तर, नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटको ट्वीटपछि वास्तविकता छर्लङग भयो । समाचारबारे ध्यानाकर्षण भएको भन्दै उनले प्रष्टिकरण दिदै बेलायतले डब्लुएचओको फन्ड कोभ्याक्समार्फत नेपाललाई भ्याक्सिन दिने उल्लेख गरिन् । कति दिने र कहिले दिने भन्ने अझै टुंगो लागिसकेको छैन । उनको भनाईले सरकारको गलत प्रचारको खण्डन गरेपछि सरकारले नै झुटको खेती गरिरहेको प्रष्ट भयो ।
त्यस्तै, गत साता नै सरकारले तातोपानी नाका हुँदै २० हजार अक्सिजन सिलिन्डर ल्याएको भनेर प्रचार भएकोमा त्यो निजी व्यवसायीले ल्याएको खुलेको थियो । त्यसले चीनबाट पनि ठूलो मात्रामा भ्याक्सिन आउन लागेको भनेर प्रचार गरिएको थियो । तर, अहिलेसम्म भ्याक्सिन आउने कुनै टुगो लागेको छैन । सरकारले काम गर्न नसकेपछि यसरी एकपछि अर्काे झुटा आश्वासन दिएर जनतालाई झुक्याउने काम भइरहेको छ ।
कोरोनाबाट विश्वमै सर्वाधिक प्रभावित नेपालमा स्वास्थ्य सामाग्रीमा सहयोग गरेपनि कुनै पनि देशले भ्याक्सिन दिएका छैनन् । यसको पछाडी सरकारको कुटनीतिक असफलता समेत रहेको धेरैको टिप्पणी छ ।
उता उपप्रधानमन्त्री पोखरेलको सिसिएमसी निर्देशक समितिको जिम्मेवारी पनि खोसुवामा परेको छ । कोभिडसम्बन्धि अध्यादेशअनुसार अब सिधैं प्रधानमन्त्रीकै नेतृत्वमा निर्देशक समिति रहनेछ । त्यसमा उपप्रधानमन्त्री ईश्वर पोखरेल ‘जोकरफाल्तु’को रुपमा सदस्य मात्र हुनेछन् ।











