Logo
Logo

तयारी पूरा नहुँदा स्वास्थ्य बीमा कार्यक्रम शुरु हुन सकेन


रासस

252
Shares

कावासोती । स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक तयारी पूरा हुन नसक्दा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा स्वास्थ्य बीमा कार्यक्रम शुरु हुनसकेको छैन ।

चैत मसान्तसम्ममा स्वास्थ्य बीमा गरेकाहरुले सेवा लिने अवधि जेठ १ गतेबाट शुरु भएको छ । तर स्वास्थ्य बीमा बोर्ड प्रदेश कार्यालय गण्डकी प्रदेशले नवलपुरमा स्वास्थ्य बीमा कार्यान्वयनका लागि छनोट भएका स्वास्थ्य संस्थासँग बीमा कार्यान्वयन सम्झौता गर्न ढिलाइ गरेका कारण कार्यक्रम कार्यान्वयन हुनसकेको छैन ।

कार्यक्रम कार्यान्वयनका लागि छनोट भएकामध्ये मध्यविन्दु जिल्ला अस्पताल नवलपुरबाहेकका स्वास्थ्य संस्थासँग केही दिन अगाडि मात्रै सम्झौता भएको स्वास्थ्य बीमा बोर्ड प्रदेश कार्यालय गण्डकी प्रदेश संयोजक जीवनाथ खरेलले बताए । तर सम्झौता गरेका स्वास्थ्य संस्थामा पनि आवश्यक पूर्वधार तयारी र जनशक्ति व्यवस्थापन हुन नसक्दा कार्यान्वयन हुनसकेको छैन ।

जिल्लामा मध्यविन्दु जिल्ला अस्पताल चोरमारा प्राथमिक स्वास्थ्य केन्द्र, देउराली अस्पताल हुप्सेकोट, बुलिङटार प्राथमिक स्वास्थ्य केन्द्र, रकुवा डेडगाउँ प्राथमिक स्वास्थ्य केन्द्र, गैँडाकोट नगर अस्पताल र दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनका लागि छनोट गरिएको थियो ।

कोभिड सङ्क्रमणका कारणले समेत स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा समस्या भएको मध्यविन्दु जिल्ला अस्पतालका प्रमुख डा वीरबहादुर थापाले बताए । अहिले अस्पतालमा कोभिडका बिरामीको चाप रहेकाले अन्य सेवा प्रदान गर्नसमेत असजह अवस्था रहेको छ ।
स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन सम्झौता गरेका स्वास्थ्य संस्थाबाट तत्काल सेवा प्रवाहका लागि प्रदेश कार्यालयबाट आवश्यक समन्वय गरिरहेको र मध्यविन्दु जिल्ला अस्पतालसँग सम्झौताका लागि नियमित छलफल गरिरहेको खरेलले बताए ।

नवलपुरमा गत फागुन १ गतेदेखि दर्ता सहयोगीमार्फत जिल्लाका स्थानीयवासीको स्वास्थ्य बीमा गरिएको थियो । जिल्लामा दर्ता सहयोगीमार्फत चैत मसान्तसम्म स्वास्थ्य बीमा गराएकाहरुको यकिन तथ्याङ्क अझै प्राप्त हुनसकेको छैन ।

बीमा फारमको अनलाइन इन्ट्रीको काम अन्तिम चरणमा रहेको स्वास्थ्य बीमा कार्यक्रम जिल्ला बोर्ड नवलपुर संयोजक जायश्वर भुसालले बताए । प्रारम्भिक तथ्याङ्कअनुसार जिल्लामा करिब ३० हजार जनाले पहिलो चरणमा स्वास्थ्य बीमा गराएका छन् । कार्यालय व्यवस्थापन, आवश्यक समन्वयलगायतका कारण कार्यान्वयनमा केही ढिलाइ भएको उनले बताए ।

नवलपुरमा स्वास्थ्य बीमा गराएका स्थानीयवासीले पहिलो सेवाको बीमा फारम भर्ने समयमा उल्लेख गरेको स्वास्थ्य संस्थामा जानुपर्छ । थप उपचार आवश्यक भए सोको सिफारिशका आधारमा मात्रै स्वास्थ्य बीमा बोर्डमा सूचित स्वास्थ्य संस्थामार्फत उपचार प्राप्त गर्छन् ।

आकस्मिक सेवा भने सूचित सबै अस्पतालबाट प्राप्त हुन्छ । तर नवलपुरका स्वास्थ्य संस्थासँग सम्झौता नहुनु, भए पनि कार्यान्वयन नहुनुले यहाँका सेवाग्राही सेवाबाट बञ्चित छन् । अर्कोतर्फ अनलाइनमा हुनुपर्ने ‘इन्ट्री’को काम पनि बाँकी हुँदा थप समस्या छ ।

बीमा गरेका ३० हजार घरपरिवारले जेठ महिनाबाट सेवा प्राप्त गर्नुपर्ने भए पनि उनीहरु सेवा लिनबाट बञ्चित भएका छन् । पहिलोपटक कार्यक्रम शुरु गर्न लागिएकाले शुरुमा केही व्यवस्थापनमा समस्या हुँदा ढिलो भएको भुसालले बताए ।

प्रतिक्रिया दिनुहोस्