
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग खोप उपलब्ध गराइदिन आग्रह गरेका छन् ।
अमेरिकी सहप्राध्यापक डन्कन मारुसँगै स्टाट न्यूजमा लेख लेख्दै अमेरिकासँग स्टकमा रहेको एक करोड २० लाख खोप नेपाललाई उपलब्ध गराइदिन आग्रह गरेका हुन् ।
लेखमा नेता थापाले महामारीले सिर्जना गरेको अहिलेको मानव संकटले नेपालमा आएको २०१५ को विनाशकारी भूकम्पभन्दा भयानक प्रभाव पार्ने निश्चित देखिएको उल्लेख गरेका छन् ।
उनले नेपाल र अमेरिकाबीच तत्कालै बहुपक्षीय सहयोगमार्फत् एस्ट्राजेनेका खोप प्रदान गरि आगामी दिनमा थप मानिसको ज्यान गुम्नबाट बचाउन सकिने थापाले लेखमा उल्लेख गरेका छन् ।
उनले अमेरिकाका लागि पनि अमूल्य जीवन बचाउने अनि नेपालसँगको मित्रता पुनःस्थापित गराउनुका साथै नेपालको स्वास्थ्य प्रणाली मजबुत बनाउनमा गर्दै आएको लामो सहयोगलाई अर्को स्तरमा पुर्याउने अद्वितीय अवसर आएको समेत उल्लेख गरेका छन् ।















