Logo
Logo

चिकित्सक कुट्नेलाई कारबाही गर्न प्रचण्डको माग


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालगञ्जको भेरी अस्पतालका डाक्टर र नर्समाथि भएको आक्रमणको निन्दा गरेका छन् ।

अध्यक्ष प्रचण्डले फेसबुकमा स्टाटस लेख्दै निन्दा गरेका हुन् । ‘नेपालगञ्जस्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरुमाथि भएको कुटपिट जस्तो अमानवीय व्यवहारप्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ र खेद प्रकट गर्दछ’ अध्यक्ष प्रचण्डले लेखेका छन्, ‘हाम्रो पार्टीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरी अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथि नै सांघातिक हमला गर्ने जो कोहीलाई पनि कानुनी कारवाही गरियोस् भनि माग पनि गर्दछ ।’

भेरी अस्पतालको भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएका एक बिरामीका आफन्तले बिहीबार साँझ ड्युटीमा खटिएका चिकित्सक र नर्सहरुलाई आक्रमण गरेका थिए । आक्रमणको विरोधमा अस्पतालका चिकित्सक, नर्स तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।

यस घटनाको नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार बिहान ट्वीट गर्दै भनेका घटनाको निन्दा गरेका छन् ।
यसैबीच यो समाचार तयार पार्दासम्म आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्