Logo
Logo

तमानखोलामा संक्रमितसँगै जटिल बिरामी बढे


दृष्टि संवाददाता


बागलुङ । भूगोल र जनसंख्याले सानो रहेको तमानखोला गाउँपालिकामा कोरोनाका संक्रमित थोरै छन् । यहाँका संक्रमितमध्ये धेरै बिरामी छन् ।

कोरोनाको पहिलो भेरियन्टको समयमा लामो समयसम्म सङ्क्रमणबाट बचेको तमानमा भारतबाट आएका मात्रै सङ्क्रमित भएका थिए । अन्यत्र नियन्त्रणमा आएपछि यहाँका स्वास्थ्यकर्मीमा सङ्क्रमण देखियो ।

दोस्रो लहरका क्रममा भने तमानखोला पनि बढी प्रभावित भएको छ । अहिलेसम्म तमानखोलाका ७१ जनामा मात्रै कोरोना पुष्टि भएको छ । तीमध्ये २२ जना डिस्चार्ज पनि भइसके । बाँकी ४९ मा नौजना गम्भीर बिरामी छन् ।

बिरामी बागलुङ र पोखराका अस्पतालका आइसियुमा छन् । यो संख्या संक्रमितको २० प्रतिशत हो । कूल सङ्क्रमितको २० प्रतिशत गम्भीर बिरामी हुनु राम्रो नभएको स्वास्थ्य शाखाका प्रमुख तिलक छन्त्यालले बताए ।

‘एकदुई पटक मात्रै परीक्षण गर्दा यो सङ्ख्या देखिएको हो, परीक्षण बढाउँदा डरलाग्दो हुन सक्छ’, उनले भने, ‘परीक्षण गर्दा ७० प्रतिशतमा सङ्क्रमण देखिएको थियो ।’ यस क्रमले परीक्षण बढाउने र संक्रमित भेटिने हो भने डरलाग्दो अवस्था आउने उनले बताए ।

गाउँपालिकाले थप ८५ जनाको स्वाब सङ्कलन गरेर पिसिआरका लागि पठाएको छ । ती स्वाबबाट पनि धेरैमा सङ्क्रमण देखिन सक्ने उनले बताए । घरघरमा लक्षणसहितका संक्रमित र शंकास्पद बिरामी भएकाले रिपोर्ट डरलाग्दो बन्ने उनले आशंका व्यक्त गरे ।

अघिल्लो वर्षझैँ क्वारेन्टिन नबन्नु, शहरी क्षेत्र र भारतबाट आएका मान्छे सोझै गाउँ पुग्नुले सङ्क्रमण घरघरमा पुगेको स्थानीयवासीले बताएका छन् । तमानखोलालगायत ग्रामीण क्षेत्रको चेतना कमी भएकाले सङ्क्रमण बढ्दै गएको उनले बताए ।

ढोरपाटन नगरपालिकामा पनि सङ्क्रमितमध्ये बिरामी भएर आइसोलेशन र अक्सिजनसहितको उपचार दिनुपर्ने बढिरहेका छन् । बोबाङलगायतका ग्रामीण बस्तीमा जुनसुकै बेला डरलाग्दो गरी सङ्क्रमण फैलन सक्ने प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङका प्रमुख डा मिलन मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस्