Logo
Logo

काेराेनाविरुद्धको खोपबारे १० दिनभित्र ब्रेक थ्रु हुन्छ : परराष्ट्रमन्त्री


दृष्टि संवाददाता


काठमाडाैं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोभिड-१९ विरुद्धको खोपबारे दश दिनभित्र ब्रेक थ्रु हुने बताएका छन् । शुक्रबार स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको एक कार्यक्रममा मन्त्री ज्ञवालीले चीन र अमेरिकासँग कुटनीतिक छलफल भइरहेको बताउँदै खोपबारे दश दिनभित्र ब्रेक थ्रु हुने दावी गरे ।

यस्तै खोपका लागि चीन, बेलायत, अमेरिका रुससँग औपचारिक तथा अनौपचारिक रुपमा पहल गरिरहेको मन्त्री ज्ञवालीले बताए ।

‘कोरोनाविरुद्धको खोपहरू क्लिनिकल ट्रायलको क्रममा रहँदै खोप उत्पादन गर्ने देश र कम्पनीलाई नेपालले गरेको पत्राचारको प्रतिउत्तर सकारात्मक आएको थियो, अहिले चीन, रुस, अमेरिका, बेलायतलाई पत्राचार गरिसकेका छौँ,’ उनले भने ।

चीनले खोप ९० राष्ट्रलाई सहयोग र व्यापारिक सम्झौतामा उपलब्ध गराएको हुँदा चीनले नेपाललाई खोप दिने विश्वास व्यक्त गरे । अमेरिकासँग पनि ६ करोड एस्ट्राजेनेकाको खोप स्टक भएको पहल भइरहेको परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।

नेपालले पहिलो चरणमा चीनसँग ५० लाख जोड र जोनसोन एण्ड जोनसोनसँग ५० लाख जोड खरिद गर्ने उनले बताए । कोरोनाविरुद्धको खोप असमान तरिकाले वितरण गर्दा विकासशील राष्ट्रहरुले समस्या भोगेको उनले बताए ।

मन्त्री ज्ञवालीले कोरोनाविरुद्धको खोप खरिदका लागि ३६ अर्ब रुपैयाँ बजेट सुनिश्चित गरेको जानकारी दिएका छन् । खोप खरिदका लागि बजेट सुनिश्चत भएपनि असमान वितरणले खोप प्राप्त गर्न समस्या भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्