काठमाडौं । बाँकेस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेविरूद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ।
शुक्रबार जिल्ला प्रहरी कार्यालयले कुटपिट गर्नेहरूविरूद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको जिप्रका बाँकेले जनाएको छ । प्रहरीले अस्पतालमा कुटपिट गर्नेहरू तीन जनालाई पक्राउ गरेको थियो। उनीहरू तिनै जनाविरूद्ध ज्यानमार्ने उद्योगको मुद्दा दर्ता भएको हो।
पक्राउ पर्नेहरुमा दाङ तुल्सीपुर उपमहानगरपालिका ११ बस्ने ५० वर्षीय भरत बहादुर रावत, ४६ वर्षीय मान बहादुर रावत र ३० वर्षीय लोकराज रावत रहेका छन् । उनीहरुलाई प्रहरीले जिल्ला अदालत बाँके पुर्याएको छ । अदालतले अनुसन्धानका लागि ५ दिनको म्याद दिएको एसपी ओम रानाले जानकारी दिए।
बिहीबार राति कोभिड आईसीयूमा उपचाररत दाङका ५४ वर्षीय संक्रमितको मृत्यु भएपछि उनका आफन्तले आईसीयू कक्षमै पसेर चिकित्सक तथा नर्सहरुमाथि कुटपिट गरेका थिए । हाल पक्राउ परेका मानबहादुर मृतकका भाइ हुन् भने बाँकी दुई जना मृतकका छोराहरु हुन्।
सूचना प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी उपरीक्षक समेतको टोली खटि गई उनीहरुलाई नियन्त्रणमा लिएको हो ।












