Logo
Logo
साहित्य

नगेन्द्रराज शर्मा- साहित्यिक पत्रकारिताका शिखरपुरुष


छविरमण सिलवाल


नेपाली साहित्यिक पत्रकारिताका शिखरपुरुष नगेन्द्रराज शर्मासँग मैले पनि साहित्यिक यात्राको क्रममा सहभागी हुने अवसर प्राप्त गरेको थिएँ । पहिलोपटक हेटौँडा र दोस्रोपटक मन्थली । अहिले पनि उहाँहरुको समूह नेपालका विभिन्न स्थानहरुमा घुमिरहेको देखिन्छ । केही वर्ष अगाडि मैले रोचक दाजु र नगेन्द्र दाजुलाई आफ्नै गाडीमा राखेर बनेपासम्म लैजाने अवसर पाएको थिएँ ।

जनमत साहित्यिक पत्रिकाको वार्षिक कार्यक्रममा उहाँहरु विशेष अतिथिका रुपमा आमन्त्रित हुनुहुन्थो । र, प्रमुख अतिथि ठाकुर पराजुलीलाई पनि सँगै लैजाने जिम्मेवारी मेरै थियो । बिहान दश बजे हामी बनेपा जाने कुरा मैले बताएको थिएँ । उहाँले मलाई नौ बजे नै हामी कहाँ आऊँ भनेर फोन गर्नुभयो, म तपाईको घरमै आउँछु र त्यताबाट रोचकदाजुलाई लिएर जाने कुरा मैले बताएँ ।

तपाईलाई किन दुःख दिनु हामी कोेटेश्वरसम्म ट्याक्सीमा आउँछौ भन्ने उहाँको आग्रह थियो । मैले म आफै आउँछु भने र ठिक दश बजे अभिव्यक्ति परिसर अगाडि गाडी रोकें । उहाँ तल झरेर भन्नुभयो– ‘तपाई मेरो घरमा आउँनु भएको छैन र पनि कसरी पत्तालगाउँनु भयो ?’ मैले भने दाजु यो बाटो धेरै हिडिन्छ अभिव्यक्ति परिसरको बाहिरैबाट दर्शन पनि गरिन्छ ।

आखिर देवताहरु जहाँ बसें पनि मान्छेहरु खोज्दै पुग्छन् नि होइन र ? उहाँ मुसुक्क हाँस्नुभयो र भन्नुभयो– ‘अब हामी रोचकजीकोमा भएर जाने होइन त ?’ त्यसपछि हामी टंगालतिर लाग्यौं । बेलुका फर्कदा पनि उहाँहरुले जडीबुटीमै ओराल्नको लागि निकै जोड गर्नुभयो, मैले सुने नसुने झैं गरी गाडी चलाइरहें ।

नगेन्द्र दाजुको स्वभाव कसैलाई भनि नविझाउँने, शालिन व्यक्तित्वको रुपमा म चिन्दछु । मन्थलीको चारदिने बसाईमा म उहाँसँग निकै प्रभावित भए । बेलुका भएपछि पिउँनु पर्ने, पिए पछिको शालिनता उहाँको निकै मन पर्यो मलाई । रोचक दाजु, ज्ञानुवाकार पौड्ल र नगेन्द्र दाजुको गफ सुनिरहुँ लाग्ने ।

मन्थली यात्रामा हामी अर्कै मोटरमा पर्यो । उहाँहरु अर्काेमा । हाम्रो लागि प्रबन्ध गरिएको बस र समयको लागि जगदीशदाजुले म्यासेज मार्फत जानकारी दिनु भएको थियो । उहाँहरु पनि बससँगै जाने तर अर्काे गाडीमा । जगदीशदाजुको कडा निर्देशनमा म कोटेश्वर ठिक समयमा पुगेको थिए । गाडी पनि ठ्याक्कै समयमै आएको थियो । कारणवस भक्तपुरमा विशेष अवरोधका कारण हामी चढेकोे गाडी साँखु, नाग्लेभारे हुँदै मेलम्ची पुगेर जिरोकिलोमा फर्कने रुट बन्यो । आखिर यात्रा तय त गर्नु नै छ ।

चितवनबाट कवि कपिल अज्ञात र धनराज गिरीसँगै यात्रामा हुनुहुन्थ्यो । कपिल अज्ञात ज्योतिष पनि भएकोले हिँड्दा चरा नक्षत्र परेको हुनाले यात्रामा यस्तो घुमाई हुन्छ भनेर भन्दै हुनुहुन्थो । बाटो कस्तो होला भन्ने मात्र हामीलाई चिन्ता थियो । त्यसमा पनि मन्थली जानको लागि बल्लबल्ल समय मिलाएको थिएँ । जे पर्ला त भन्दै गाडी पेप्सीकोलाबाट उत्तर मोडियो ।

धुलिखेलबाट गएको भए दुई घण्टाको बाटो त्यताबाट पाँच घण्टा लागेको थियो । खाडीचौरमा हाम्रो लागि खानाको व्यवस्था गरिएको थियो । खाडीचौरमा खाना खाएर हामी मन्थली हानियौं । मन्थली पुग्दा करिब आठ बजिसकेको थियो । बेलुकाको खाना तयार भैसकेछ । ल उहाँहरु थकाईले लोत भएर आउनु भएको छ । औषधिको व्यवस्था गरौं, हामीले त यी लिइरहेका छौं औषधि, नगेन्द्रदाजुले भन्नुभएको थियो । भोक र थकाइले गर्दा सबै औषधिको व्यवस्थामा लागे ।

अगाडि आगोको धुनी जगाएको छ, वरिपरि कवि, पत्रकारहरु गोलबद्ध रुपमा बसेका छन्, कसलाई के चाहिन्छ, जगदीशदाजु हेर्दै हुनुहुन्छ । कसको गिलास खाली भए नगेन्द्रदाजुको नजर छ । समग्रमा निकै उत्साहित छन्, सबैजना कसलाई कति ख्वाउनुपर्छ र को बाट कस्तो रचना सुन्नुपर्छ सबैको लिष्ट छ ।

यानी एउटा उत्कृष्ट व्यवस्थापन भएको छ, प्रत्येक दिन एउटा खसी ढालेको छ । ब्रेकफास्ट, खाना, दिउँसोको खाजा, बेलुकाको नास्ता र बेलुकाको खानाको रुटिङ अलग्गै छ । त्यसपछि धेरै पटक जगदीश दाजुको मन्थली जाने आग्रहलाई मैले पूरा गर्न सकिन, आफ्नै कार्य व्यस्तताले गर्दा । उहाँहरुको मन्थली यात्रा भने अहिले पनि निरन्तर चलिरहेको छ ।

यसकारण पनि कार्यक्रमको विशिष्ठता झल्किरहेको देखिन्छ । नजिकबाट जति म नगेन्द्रदाईलाई चिन्छु, उहाँले मलाई चिन्नु हुन्न जस्तो मलाई लाग्ने । कार्यक्रमहरुमा भेट भएमा अभिव्यक्ति पत्रिका दिदै भन्नु हुन्थ्यो खैँ तपाईको रचना आएन त ? यसो पठाउँनुस न । म हस भन्थे । रोचकदाजु र उहाँको जोडी निकै रमाइलो लाग्दथ्यो मलाई । दुबै जनाले साहित्यिक पत्रिका निकाल्नु हुने एक आपसमा कुनै प्रकारको मतभेद नदेखिने । एउटा उदाहरणीय जोडीको रुपमा मैले चिनेको छु ।

मलाई लाग्दथ्यो, नगेन्द्रदाईलाई मैले मात्र एकोहोरो चिनेको छु, उहाँलाई मेरो नाम थाह छैन होला । प्रायः धेरैलाई यस्तै हुन्थ्यो । उहाँको पनि यस्तै होला भन्ने लाग्दथ्यो । मैले त्यहीँ सोच्दै गरेको थिए, तर उहाँले तपाईको रचना आएको छ भनेर भन्नुभयो र चार–पाँच प्रति ‘अभिव्यक्ति’ दिनुभयो । त्यसबेला मलाई कम्ती खुशी लागेन । किनकि, मैले धेरै पटक भोगेको छु, ठूला साहित्यकारहरुलाई एकतर्फी नमस्कार गरेको र उनीहरुले जहिल्यै पनि तपाईँको नाम के रे ? भनेर सोध्ने गरेको ।

अब मन्थलीकै प्रसंगबाट कुरा शुरु गरौं । तिन दिने हाम्रो मन्थली बसाईको क्रममा उहाँसँग नजिकिने अवसर प्राप्त भयो । उहाँको शालिनतालाई नजिकबाट चिन्ने अवसर प्राप्त भयो । नगेन्द्र दाजुले जहिले पनि जगदीश दाजुलाई त भनेको मलाई कस्तो कस्तो लागेको थियो । त्यसो त राप्रउ पोखरेलसँग पनि जगदीश दाजु त त म म मै कुरा गर्नु भएको सुनेको थिए, केही कुराहरु कति कति बेला असहज भैदिदोँ रहेछ ।

त्यसबेला मलाई पनि त्यस्तै लाग्नु नौलो थिएन । त्यसबेलाको कुरा मनमा खिलिरहेको थियो । मन्थलीबाट फर्केपछि जगदीश दाजुको घर चोभारमा गएको बेलामा मैले सोधें– ‘दाजु तपाईलाई नगेन्द्रदाजुले किन त भन्नु भएको हो ?’ उहाँ मुसुक्क हाँस्नु भयो र भन्नु भयो उहाँ त मेरो दाजु हुनुहुन्छ नि थाह थिएन तपाईलाई । मैले भने ए यो नाता त मलाई थाहै थिएन । कहिलेकाहीँ यस्ता कुराहरुले गर्दा रमाईलो अनुभूति हुँदो रहेछ ।

नगेन्द्रदाजुको अर्को अचम्मको कुरा रहेछ मन्दिर कहिल्यै नजाने । मन्थलीबाट हामी फर्कदै थियौ, चरिकोटमा दोलखा भिमसेनको दर्शन गरेर जाने योजना बन्यो । चरिकोटमा खाना तयार भैसकेको थिएन, समयको सदुपयोग पनि हुने र भगवानको दर्शन पनि हुने यो राम्रो अवसर थियो ।

त्यसकारण हामी मन्दिरतर्फ गयौं । म लगायत सबै जना दर्शनार्थ लामवद्ध भए । तर, नगेन्द्र दाजु मन्दिरको सिढीँमा बसेर हामीलाई पर्खदै हुनुहुन्थ्यो । मैले उहाँलाई सोधें दाजु दर्शन गर्न जानु भएन ? उहाँले सटिक उत्तर दिनु भयो– ‘मन्दिरमा त्यहीँ ढुङ्गो त हो नि यी यता पनि छन् नि ढुङ्गाहरु ।

हेर्नुस् त सक्कली देवताहरु मन्दिर बाहिर मागेर बसेका छन् ।’ उहाँको कुरा चित्तबुझ्दो त छ नै, त्यो आ–आफ्नो आस्थाको विषय भएकोले मलाई त्यति नौलो लागेन । मैले पुनः सोधे अनि किन यतै आउनुभयो त ? माथि नै बस्नुभएको भए हुने नि ? उहाँले भन्नुभयो– ‘यसो कलाकौशल पनि देख्न पाइन्छ । साथीहरुको साथ छोड्नु पनि भएन नि भन्दै उहाँ मुसुक्क हाँस्नुभयो ।’

अरु कुराहरु भन्दा पनि उहाँको त्याग तपस्याले गर्दा हामी उहाँसँग नजिकिएका हौँ । नेपाली साहित्यिक पत्रकारितामा अभिव्यक्तिले ठूलो योगदान दिएको छ । कैयौ सर्जकहरु जन्माएको छ, जो अहिले नेपाली साहित्यको आकाशमा चर्चाको शिखर चुमिरहनुभएको छ, उनीहरुको पहिलो प्लेटफर्म ‘अभिव्यक्ति साहित्यिक पत्रिका’ नै थियो ।

साहित्य अनुत्पादक रुपमा हेरिरहेको सरकारी नियतिविरुद्धमा किन आफ्नो छाक कटाउँनुपरेको होला भन्ने प्रश्न उठे होलान ? तर उहाँ कतै विचलित नभई निरन्तर चलिरहनुभयो हो, यस्तै सुकर्मले नै हो हामीले उहाँलाई सम्मान गर्नुपर्ने । यो अवधिमा यस्ता साहित्यिक पत्रिकाहरु कति प्रकाशित भए, कति बन्द भए त्यसको लेखाजोखा छैन । तर, अभिव्यक्ति, रचना पत्रिकाहरुको निरन्तरताले नेपाली साहित्यिक पत्रकारितालाई निकै उचाइमा पुर्याएको हाम्रो ठहर छ ।

त्यसकारण पनि नगेन्द्रदाजु हाम्रा पूजनीय हुनुहुन्छ । उहाँले गरेको कर्मले मन्दिर धाउनु नपर्ने कुरा मलाई राम्रो लाग्यो । उहाँ आफैँले धेरै सर्जकहरुको लागि अभिव्यक्ति पत्रिका एउटा तीर्थस्थल हो । नेपाली साहित्यमा लाग्ने हरेक स्रष्टाको लागि उहाँ प्रेरणादायी व्यक्तित्वको रुपमा रहनु भएको छ ।

यस्ता महापुरुषहरुको जन्म युगमा केही केही मात्र हुने गर्दछन् । उहाँ अहिले ८३औँ वसन्तमा हिँड्दै हुनुहुन्छ । अहिले पनि उहाँको जोस अलिकति पनि कम भएको छैन । यस्तो ओजस्वी स्रष्टा युगमा एकाधमात्र जन्मने गर्छन् । उहाँको जन्मोत्सवका अवसरमा उहाँको सुस्वास्थ र दीर्घायुको कामना गर्दछु ।

प्रतिक्रिया दिनुहोस्