Logo
Logo

दुई न्यायाधीशलाई इजलासबाट हटाउनुपर्नेमा जोड


दृष्टि संवाददाता


काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा सुनुवाइ गर्न गठित संवैधानिक इजलासबाट न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई हटाउनुपर्नेमा वरिष्ठ अधिवक्ताहरुले जोड दिएका छन् ।

संवैधानिक इजलासका सदस्यमाथि उगेको प्रश्नमाथि जारी बहसका क्रममा वरिष्ठ अधिवक्ताहरुले यस्तो माग गरेका हुन् । बहसमा सहभागी वरिष्ठ अधिवक्ता हरिहर दाहालले अहिलेको मुद्दाको निवेदक नै नेकपा विवादसम्बन्धी फैसलाबाट प्रभावित व्यक्तिहरु भएकाले उक्त फैसला गर्ने न्यायाधीश संवैधानिक इजलासमा नबस्नु नै उचित हुने बताए ।

अर्का वरिष्ठ अधिवक्ता मूक्ति प्रधानले पनि न्यायाधीशद्वय श्रेष्ठ र केसीले आफूलाई अलग गर्ने निर्णय गर्दा राम्रो हुने सुझाव दिएका छन् । वर्तमान परिवेशको सुरुवात नै नेकपा खारेजीबाट भएको भन्दै श्रेष्ठले यस्तो सुझाव दिएका हुन् ।

बहसमा सहभागी वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले रिट निवेदक १४६ सांसदमध्ये ७२ जना त्यही फैसलाबाट प्रभावित भएको भन्दै न्यायाधीशद्वय श्रेष्ठ र केसी संवैधानिक इजलासबाट हट्नु नै उपयुक्त हुने बताएका छन् ।

आफ्नो पार्टी नेकपासँग नाम मिल्ने पार्टी निर्वाचन आयोगले दर्ता गरेको भन्दै ऋषि कट्टेलले दिएको रिटमा न्यायाधीश बमकुमार श्रेष्ट सम्मिलित बेन्चले फैसला गर्दै नेकपा खारेज गरेकोले उनलाई वर्तमान संवैधानिक इजलासमा राख्न नहुने कानुन व्यवसायीको धारणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्