Logo
Logo

एमालेमा यसकारण रोकियो नेपाल समूहमाथिको कारबाही


दृष्टि संवाददाता


काठमाडौं । एमालेले आफ्ना १२ नेतालाई स्पष्टीकरण सोधेको एक साता नाघे पनि कुनै निर्णय गरेको छैन । ती नेताले स्पष्टीकरणको जवाफ दिएका छैनन्त । र, स्थायी कमिटीको मंगलबार बसेको बैठकले पनि यस विषयमा निर्णय लिएन ।

एमाले नेतृत्व माधवकुमार नेपाल पक्षका ती नेतालाई कारबाही गरिहाल्नेभन्दा पनि अन्तिम समयसम्म एकताको प्रयास गर्ने पक्षमा देखिएको छ ।

पार्टी प्रवक्ता प्रदीप ज्ञवाली एकताका लागि हदैसम्म लचिलो हुने बताए। उनका अनुसार स्पष्टीकरण सोधिएका १२ नेताको कारबाही प्रक्रिया रोकिएको छ । ‘धेरै साथी मूलधारमा जोडिनुहोस्, उनले भने– ‘बडो गर्वका साथ देउवालाई प्रधानमन्त्री बनाउने, आफ्नो पार्टीका नेतालाई हराउने कुरा गर्नुभएको छ। त्यही पनि फर्किनुभयो राम्रो नै हुन्छ । तर, एकताको प्रयासको तालमेलमा मेल खाँदैन ।’

उनले केही सदस्य पार्टीबाट निष्कासनमा परेकाले कार्यदल भने अस्तित्वमा नरहेको बताए। उनले कार्यदल पुनर्गठन हुन सक्ने बताए । सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, विरोध खतिवडा, यज्ञबहादुर सुनारलगायतलाई जेठ १० मा स्पष्टीकरण सोध्ने निर्णय भएको थियो ।

वरिष्ठ नेताद्वय नेता माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावलसहित ११ जनालाई स्पष्टीकरण सोधेको दुई दिनमै निष्कासन गरिएको थियो । नेपालसहित नेतालाई जेठ ८ मा स्पष्टीकरण सोधेर १० गते पार्टी सदस्यसमेत नरहने गरी कारबाहीको निर्णय भएको थियो ।

एमाले नेताहरूले स्पष्टीकरण सोधिएका घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायत नेतासँग संवाद गरिरहेका छन् । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल पक्षका दोस्रो तहका नेताहरूबीच सोमबार साँझ चार घन्टा छलफल भएको थियो । दरबारमार्गस्थित एक होटलमा भएको वार्ता एकता कसरी गर्ने भन्नेमा केन्द्रित भएको थियो ।

उक्त वार्तामा नेपाल पक्षबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराई सहभागी थिए । ओलीबाट विष्णु पौडेल, सुवास नेम्वाङ र प्रदीप ज्ञवाली सहभागी थिए। यो समाचार आजको अन्नपूर्ण पोस्टबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्