Logo
Logo

छुवाछुत प्रथा सभ्य समाजका लागि अस्वीकार्य : राष्ट्रपति


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जातीय भेदभाव तथा छुवाछुतविरुद्धको दिवस अवसरमा शुभकामना दिँदै छुवाछुतविरुद्ध दृढतापूर्वक क्रियाशील रहन सबैमा अपील गरेकी छन् ।

राष्ट्रपति भण्डारीले सन्देशमार्फत छुवाछुत प्रथा सभ्य समाजका लागि अस्वीकार्य रहेको भन्दै यस कुप्रथाको समूल अन्त्य गर्दै न्यायपूर्ण, सभ्य, सुसंस्कृत र समतामूलक समाज निर्माणका लागि समग्र सांस्कृति रुपान्तरणको खाँचो राष्ट्रपतिले औँल्याएकी छन् ।

‘जातीय विभेद सामाजिक, नैतिक, मानवीय गरिमाविरुद्धको अपराध हो । त्यसैले जातीय भेदभाव तथा छुवाछुत प्रथाविरुद्ध दृढतापूर्वक क्रियाशील रहन सबैमा आह्वान गर्दछु,’ राष्ट्रपतिको वक्तव्यमा भनिएको छ ।

उनले सामाजिक जागरणबाट सबैमा समभावको विकास गर्न तथा सबै जातजाती र समुदायबीच आपसी एकता, मेलमिलाप र सहयोगको भावना अभिबृद्धि गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनु यो दिवसले अभिप्रेरित गर्ने विश्वास लिएकी छन् ।

२०६३ जेठ २१ गते सरकारले नेपाललाई जातीय भेदभाव र छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो । २०६८ सालदेखि यसलाई दिवसका रुपमा मनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्