Logo
Logo

गणतन्त्र भिक्षा मागेर पाएको होइनः प्रधानमन्त्री ओली


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र भिक्षा मागेर नल्याएको बताउनुभएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा अधिवेशन समापनको मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्रीले नेपाल कुनै हालतमा पछाडि फर्कन नसक्ने बताउनुभयो । “जोगीले फेरी लगाएजस्तो जनताले फालिसकेको राजतन्त्र ल्याउँछौं भन्दै केही मान्छे फेरी लगाएर हिडेका छन्,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “२५० वर्षअघि घलेहरुले बुझेका थिए, जन्मसिद्ध राजा हुँदैन । दौडेरै भए पनि जित्नै पर्छ ।”

प्रधानमन्त्री ओलीले प्रतिगमनको सम्भावना नरहेको उल्लेख गर्दै अनावश्यक चलखेल नगर्न सचेत गराउनुभयो । “लोकतन्त्र भिक्षा मागेर ल्याएको होइन । गाई र त्रिशूल खेलेर ल्याएको होइन । गणतन्त्र रगत बगाएर ल्याएको हो,” प्रधानमन्त्रीको भनाइ छ, “राजतन्त्र–राजतन्त्र भनेर धेरै फट्याकफुटुक नगरे हुन्छ ।”


विप्लव समूहलाई पटक पटक हिंसात्मक गतिविधि त्याग्न आग्रह गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले सरकारले बाध्य भएर उक्त समूहका गतिविधि प्रतिबन्धित गरेको उल्लेख गर्नुभयो । “लोकतान्त्रिक अभ्यासको उच्चतम अभ्यास चुनाव हुन नदिने, निर्दोष मान्छे मार्ने, अंगभंग गर्ने, यस्तो नगर्न आग्रह गरियो,” विप्लव समूह कतै दर्ता नभएको बताउँदै भन्नुभयो, “त्यस समूहका आपराधिक क्रियाकलाप माथि निषेध गरिएको हो । त्यसो गर्दा कतिलाई हनहनी ज्वरो आयो । बम पड्काउन पाउने, चन्दाका नाममा लुट्न पाउने कुरा लोकतन्त्रको नाममा हुन्छ ?”


विप्लव समूहका गतिविधि सरकारले नियन्त्रण गरेरै छाड्ने बताउँदै प्रधानमन्त्रीले तोकिएको समयभित्र हतियार बुझाउन अपिल गर्नुभयो । “यस्ता तत्वलाई राज्यले नियन्त्रण गर्छ, अब ब्याक गियर छैन,” उहाँले भन्नुभयो, “विप्लव समूहलाई हतियार बुझाउन समय दिएका छौं । लुरुलुरु हतियार लिएर आए हुन्छ । दुई तिहाईको–दुई तिहाईको भनिन्छ, दुई तिहाईकै सरकारको हो, यस्तो जथाभावी हुन दिइँदैन ।”


अशान्तिको श्रृंखला लामो समय चल्न नदिने प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो । “कसैले कल्पना नगरे हुन्छ । निराशा छाडौ आशावादिताका साथ अघि बढौं,” उहाँले भन्नुभयो, “निराश जनता देशका लागि घातक हुन्छ ।”


प्रधानमन्त्री ओलीले विकासका कामले तीब्रता पाएको बताउँदै भन्नुभयो, “मेरो स्वभाव प्रश्न गर्ने होइन, उत्तर दिने छ । समस्या खडा गर्ने होइन, समाधान दिने बानी छ, त्यसकारण विकास किन भइरहेको छैन भनेर चिन्तन मनन गर्ने होइन विकास गरेर देखाइन्छ ।”
प्रधानमन्त्री ओलीले उपयुक्त समयमा गिरिशचन्द लालको प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्