Logo
Logo

‘अवैध जुवा’ को भिडियो हटाउन विज्ञापन बोर्डको निर्देशन


दृष्टि संवाददाता


काठमाडाैं । विज्ञापन बोर्डले ‘वान एक्स वेट’ को नाममा डिजिटल प्लेटफर्म मार्फत भएका ‘अवैध जुवा’ मा लगानी गर्ने सम्बन्धी विज्ञापन हटाउन निर्देशन दिएको छ ।

केही दिनयता केही चर्चित कलाकार समेत कतिपय व्यक्तिहले आफ्नो यूट्युब च्यानल मार्फत ‘वान एक्स वेट’ लाई प्रमोशन गर्ने खालका भिडियोहरु राखेपछि बाेर्डले त्यसाे नगर्न निर्देशन दिएकाे हाे ।

उनीहरुले भिडियो मार्फत ‘वान एक्स वेट’ मा लगानी गरेर रिक्स विना पनि पैसा कमाउन सक्ने भन्दै उक्त गेमको विज्ञापन गरेका छन् । नेपालको कानुनले जुवा, तास र सौदाबाजीलाई अवैध मानेको छ ।

विज्ञापन बोर्डले आइतबार विज्ञप्ति जारी गरी ‘वान एक्स वेट’ को नाममा विभिन्न डिजिटल प्लेटफर्म मार्फत अवैध जुवामा लगानी गर्न सकिने सम्बन्धी विज्ञापन दिई कारोबार भइरहेको जानकारी बोर्डमा प्राप्त भएको जनाउँदै त्यस्तो काम नगर्न सचेत गराएको छ ।

विप्तिमा भनिएको छ, ‘यस्ता काम विज्ञापन ऐन २०७६ को दफा ५ को उपदफा १ को खण्ड (ख) को व्यवस्था विपरीत भएकाले तत्काल यस्ता गतिविधिहरु बन्द गर्न र प्रमोशनल भिडियोहरु डिजिटल प्लेटफर्मबाट हटाउन सूचित गरिन्छ ।’

बोर्डले विज्ञापन नहटाए कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको छ ।

विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ कोे दफा ५ को उपदफा १ को खण्ड (क) मा ‘प्रचलित नेपाल कानूनले उत्पादन, विक्रीवितरण उपयोग वा प्रयोग गर्न निषेध गरेका कुनै वस्तु, पदार्थ वा सेवाको उत्पादन बिक्रीवितरण उपयोग वा प्रयोग गर्न प्रोत्साहन गर्ने खालका विज्ञापन गर्न नहुने’ प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्