आगामी चुनाव कम्युनिष्टलाई महंगो पर्नेछ « Drishti News – Nepalese News Portal
Logo

आगामी चुनाव कम्युनिष्टलाई महंगो पर्नेछ


शम्भु श्रेष्ठ



सिंगो विश्वका सरकार कोभिड–१९ दोस्रो लहरको रोकथाम, उपचार र नियन्त्रणमा जुटिरहेको बेला नेपालको सरकार भने, सत्ता जोगाउने घृणित खेलमा रुमलिरहेको छ । कोरोना कहरको महामारीमा गत वर्षदेखि नै आफ्ना नागरिकको ज्यान जोगाउन सरकार आफैँ राजनीतिक अस्थिरता निम्त्याएर नागरिकलाई भोक, रोग र शोकमा डुब्न बाध्य बनाएका छन् ।

सत्ता जोगाउन जस्तोसुकै घृणित खेल खेल्न पछाडि नपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीका कारण आम नागरिक हैरान भइसकेका छन् । पहिलो चरणको कोरोना महामारीलाई बेवास्ता गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रोपटकको राष्ट्रपति निर्वाचनमा धुलो चाट्न पर्यो । त्यही प्रवृत्तिका प्रधानमन्त्री ओली भने, संसद्मा बहुमत गुमाउँदा समेत सत्तामा टिकिरहेका छन् ।

संविधानको दुरुपयोग गर्दै सत्तामा टिक्नकै लागि उनले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए । कोरोना महामारीका बीच २०७७ वैशाख १७ र २७ निर्वाचन गर्नका लागि उनले प्रतिनिधिसभा विघटन गरेका थिए । धन्न, सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदियो । नभए पुस ५ गते घोषणा गरिएको निर्वाचन कोरोनाको दोस्रो महामारीबीच सम्पन्न हुने सम्भावना नै थिएन ।

दोस्रो चरणको कोरोना भाइरसले धेरै नागरिकको ज्यान लिइसकेको छ । मुलुक अहिले पनि लकडाउनमा छ । यदि सर्वोच्च अदालतले गत फागुन ११ गते संसद् पुनःस्थापना नगरिदिएको भए र तोकिएको समयमा निर्वाचन त हुने थिएन नै, त्यस पछाडि नेपालको राजनीतिको हविगत के हुने थियो, सोचनीय विषय छ ।

अहिले पनि कोरोनाका कारण मुलुक लकडाउनमा छ । अक्सिजन, भ्याक्सिन, भेन्टिलेटरलगायतका सामग्री विदेशी राष्ट्रसँग भिख माग्नुपर्ने अवस्था छ । नागरिक कोरोनाका कारण मरेर पनि शव जलाउन र किरिया खर्च गर्न नसक्ने अवस्थामा छन् । कोरोनाले लाखौंको रोजगारी गुमेको छ । उत्पादनमूलक उद्योगधन्दा बन्द छ ।

पर्यटन क्षेत्र पूरै क्षतविक्षत भएको छ । यस्तो भयावह अवस्था आफ्नो आँखा अगाडि हुँदा पनि सरकार भने सत्ता जोगाउनमै व्यस्त भएको देखेर कवि शिरोमणि लेखनाथ पौड्यालको ‘मै खाऊ मै लाऊ, सुख, सयल वा मोज मै गरु, मै हाँसु, मै नाचु अरु सबै मरुन् दुर्बलहरु भनी दाह्रा धस्ने अबुझ, सठदेखि छक्क परी चिता खित्का छाडि, अभयसित हाँसे मरिमरि…’ कविता सम्झन बाध्य छन् ।

नेकपा एमाले र माओवादी केन्द्र मिलेपछि ओली दुईतिहाइका प्रधानमन्त्री बनेका थिए । राजनीतिक स्थिरता, सुशासन र आर्थिक विकासलाई उनले प्राथमिकतामा राख्नुपथ्र्यो । तर, दुर्भाग्य ‘अभागीलाई खानेबेलामा रिस उठ्छ’ भनेझैं उनले प्रतिनिधिसभा विघटन गरेर जनताको दुईतिहाइ मतको अवमूल्यन गरे । यो उनको असफलता मात्रै होइन, असक्षमता पनि हो ।

०७४ सालको प्रतिनिधिसभामा कम्युनिष्ट पार्टीलाई दुईतिहाइ मत दिए पनि पाँच वर्ष सरकार सञ्चालन गर्न ओली असक्षम भए । आफ्नो सत्ता जोगाउन मधेसवादी दलसँग सहकार्य गरे । ओलीलाई उनको राष्ट्रवादी छविका कारण नेपाली जनताले दुईतिहाइ मत दिएका थिए, आखिरमा त्यो खोक्रो राष्ट्रवाद मात्र रहेछ भन्ने कुरा उनको व्यवहारले पुष्टि गरिदिएको छ ।

सत्ताका लागि जे पनि गर्ने प्रवृत्ति नेपाली कांग्रेसमा हुर्किएकै कारण नेपाली जनताले कम्युनिष्ट पार्टीलाई त्यसको विकल्पमा रोजेका थिए । तर, त्यो जनविश्वासलाई ओली आफैँले समाप्त मात्र पारेनन्, सिंगो कम्युनिष्ट आन्दोलनलाई विसर्जनउन्मुख बनाए ।

सामान्य नागरिकमा कम्युनिष्ट भनेको गरिब जनताको हित गर्ने, मजदुर किसान र श्रमिकको पक्षमा काम गर्ने पार्टी हो भनेर बुझ्थे । त्यही हिसाबले अहिलेसम्म कम्युनिष्ट पार्टी टिकेको पनि हो । त्यसमाथि राष्ट्रवादको पक्षमा कसैसँग सम्झौता नगरी राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डताको रक्षा गर्ने पार्टी हो पनि कम्युनिष्ट पार्टी नै हो भनेर बुझेका थिए ।

कम्युनिष्ट पार्टीको स्थापनादेखि अहिलेसम्म यही कुराको लागि धेरैले आफ्नो बलिदानी पनि गरेका छन् । तर, आजको राजनीतिक घटना र कोरोनाका बीच पनि सरकारको सत्ता लुछाचुडीले कम्युनिष्ट पार्टी भनेको भ्रमको खेती गर्ने दलाल पूँजीपति र माफिया, बिचौलिया र भ्रष्ट नोकरशाहीको पार्टी हो भनेर बुझ्न थालेका छन् । यो अपजसको भारी आगामी चुनावमा कम्युनिष्टहरुका लागि धेरै महंगो पर्ने छ । किनभने, कोरोना महामारीमा सरकार जनताको लासको रमिते मात्र बन्यो ।

प्रतिक्रिया दिनुहोस्