Logo
Logo

बागमती प्रदेशको नीति तथा कार्यक्रम पारित, बैठक १ असारसम्म स्थगित


दृष्टि संवाददाता


हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको छ । प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सत्तापक्ष र प्रतिपक्षबीच छलफल भएको थियो ।

छलफलमा सहभागी सत्तापक्षका सांसदले प्रदेश सरकारले तयार पारेको आगामी आर्थिक वर्षका लागि तयार पारेका नीति तथा कार्यक्रमको विभिन्न बुँदाहरुमा संशोधनका लागि सुझाव पेश गरेका थिए ।

प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रसहितका दलले सरकारले पुरानै कार्यक्रमलाई निरन्तरता दिएको र कुनै ठोस कार्यक्रम ल्याउन नसकेको भन्दै प्रदेश सरकारले हावामा नीति तथा कार्यक्रम ल्याएको बताएका थिए ।

सांसदहरुले उठाएका प्रश्न र सुझावका बारेमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जवाफ दिएका थिए । उनले प्रदेश सरकारले प्रदेशका नागरिकहरुलाई केन्द्रमा राखेर कोरोना नियन्त्रण, उपचार र खोपको सुनिश्चितता हुने गरी सरकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको बताए ।

सांसदहरुले पेश गरेको नीति तथा कार्यक्रम माथिको संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत गरेपछि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले नीति तथा कार्यक्रमलाई स्वीकृतिका लागी संसद्मा पेश गरेको थिए । सभामुख श्रेष्ठले स्वीकृतिका लागि प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको हो ।

नीति तथा कार्यक्रम स्वीकृत भएपछि बागमती प्रदेशसभा बैठक आगामी असार १ गतेसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्