Logo
Logo

निर्वाचन आयोगले ठाकुर पक्षसँग माग्यो लिखित जवाफ


दृष्टि संवाददाता


काठमाडौं । उपेन्द्र यादव पक्षले जसपाको आधिकारिकता दाबी गरेपछि निर्वाचन आयोगले महन्थ ठाकुर पक्षसँग जवाफ माग गरेको छ । आयोगको आइतबारको बैठकले निर्णय गर्दै ठाकुर पक्षलाई १५ दिनको समय उपलब्ध गराउँदै जवाफ दिन भनेको हो ।

असार ४ गते उपेन्द्र यादव पक्षले केन्द्रीय कार्यकारिणी समितिको निर्णयसहित आधिकारिकतासम्बन्धी विवाद निरुपण गरिपाउँ भनी निर्वाचन आयोगमा पत्र दिएको थियो ।

आयोगको निर्णयमा भनिएको छ , ‘जनता समाजवादी पार्टी नेपालका तर्फबाट उक्त दलको केन्द्रीय कार्यकारिणी समितिको निर्णय र आवश्यक कागजातसहित राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ को खण्ड (ग) बमोजिम दलका पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकतासम्बन्धी विववाद निरुपण गरिपाउँ भन्नेसमेत व्यहोराको निवेदन २०७८/३/४ मा दर्ता हुन आएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ को उपदफा २ बमोजिम निवेदन दावीका सम्बन्धमा लिखित जवाफ पेश गर्नका लागि यस्तो दावी तथा प्रमाणको प्रतिलिपी संलग्न गरी जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनको सूचना दिने र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेश गर्ने ।’

जसपामा विवाद बढ्दै गएपछि दुवै पक्षले एकअर्कालाई कारबाही गर्दै आयोगलाई जानकारी गरारहेका छन् । गत जेठ १८ गते यादव पक्षले ठाकुर पक्षका ४ जना र ठाकुरले यादवलाई निष्कासन गर्दै आफ्नो दलको दर्ता किताबलाई अद्यावधिक गर्न अनुरोध गरेका थिए । तर, आयोगको जेठ ३१ को बैठकले दुवै पक्षको कारबाहीलाई अस्वीकार गर्दै साविक पदाधिकारीलाई कायमै रहने भनेको थियो ।

प्रतिक्रिया दिनुहोस्