Logo
Logo

प्रदेश १ को आगामी वर्षकाे बजेटमा सत्तापक्षकै विरोध


दृष्टि संवाददाता


माेरङ । प्रदेश १ सरकारले प्रदेशसभामा पेश गरेको आर्थिक वर्ष २०७८/७९ का राजश्व र व्ययको अनुमान माथिको छलफलमा सत्तापक्ष र विपक्षी सांसदहरुले आलोचना गरेका छन् ।

सोमबारबाट प्रदेशसभामा सुरु भएको बजेटमाथिको सामान्य छलफलमा सत्तारुढ दल नेकपा एमाले र विपक्षी सांसदले बजेटकाे विरोध गरेका हुन् । उनीहरुले सरकारले कोरोना महामारीका बीचमा आएको बजेटले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता नदिएको टिप्पणी गरे ।

बैठकमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राखेको भनेपनि स्वास्थ्यमा अत्यन्त न्यून बजेट विनियोजन गरेको टिप्पणी गरे। उनले दुई आर्थिक वर्ष ऋणत्मक भएको वृद्धिदर आर्थिक पुनरोत्थानको कार्यक्रम बिना एकैपटक ६ प्रतिशत वृद्धिमा पुग्न नसक्ने भन्दै त्यसलाई सच्याउन आग्रह गरे ।

त्यस्तै नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य राजेन्द्र राईले विगतमा सरकार आर्थिक अनुशासनमा नबसेको भन्दै आगामी दिनमा आर्थिक अनुशासन कायम गर्ने तर्फ ध्यान दिन आग्रह गरे । सरकारले विभिन्न कार्यक्रमहरुको नाममा ३ अर्ब बजेट विनियोजन गरेको र तालिमका नाममा मात्र ३६ करोड रुपैयाँ विनियोजन गरेर फजुल खर्चमा जोड दिएको आरोप लगाए ।

नेकपा एमालेकै सांसद लछुमन तिवारीले सरकारले अनुदानमा आधारित भएर कमजोर बजेट बनाएको टिप्पणी गरे। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद शेखरचन्द्र थापाले विगतदेखि नै सरकारले स्रोत सुनिश्चितता नहुने गरी हचुवाका आधारमा बजेट बनाउने गरेको आरोप लगाए ।

प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/८९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्