Logo
Logo

करमा यसरी हुन्छ छल


दृष्टि संवाददाता



काठमाडौं । नेपाललाई धनी नागरिकको गरिब देश भनिन्छ । किनकी नेपालमा व्यवसाय गर्नेहरुले राज्यलाई ठगेर आफु मोटाउने गरेका छन् । सरकारी कर्मचारीकै मिलेमतोमा करमा ठूलो बदनामी हुने गरेको छ ।

नेपालगञ्जकै केही घटना हेर्ने हो भने पनि यो प्रष्ट हुन्छ । जहाँ राजश्व कार्यालयका प्रमुखसँगको मिलेमतोमा करोडौ कर छली भइरहेको कर्मचारीहरू बताउँछन् । इँटाभट्टा, सुन पसल तथा मोटरपार्टस् पसलका सञ्चलकसँगको मिलेमतोमा कर छली भइरहेको छ । आन्तरिक राजश्व कार्यालयका प्रमुख शरदचन्द्र पौडेल लगायत कर्मचारीको मिलेमतोमा कर छली भइरहेको हो ।

बाँकेको खजुरा गाउँपालिका– ५ मा रहेको जयबागेश्वरी पश्चिमाञ्चल इँट्टा तथा टायल फ्याक्ट्रीले मात्र ठूलो मात्रामा कर छली गरेको छ । यसका मालिक राजेन्द्र प्रसाद आचार्य हुन् । करिब ४० करोडको लगानी रहेको सो उद्योगमा दैनिक ४०÷५० हजार ईट्टा उत्पादन हुन्छ । करोडौंको कारोबार भएपनि १०÷१५ लाखको कारोबार देखाएर कर छली हुँदै आएको छ । सो कम्पनीले भ्याट नै छली गर्दै आएको स्रोत बताउँछ । नेपालगञ्जको सरदा ईटाभट्टा, बर्मा ईटाभट्टा तथा जयनेपाल ईटाभट्टाले पनि त्यसैगरी मिलेमतोमा कर छल्दै आएका छन् । ‘माथिल्लो निकायबाट छानबिन गरेमा तत्कालै सबै थाहा हुन्छ,’ एक कर्मचारी भन्छन्,‘हाकिम नै कर छल्न सिकाउने गर्दछन् ।’

त्यस्तै नेपालगञ्जका सदरलाइनका पसलहरुमा पनि त्यस्तै अवस्था छ । बाले मुन्ना सुन पसल तथा संजय ज्वलेर्सले कारोबार रकम लुकाउने गरेका छन् । त्यस्तै राईमार्ट, वेष्टन मार्ट, बाँके बस्त्रालय, रस्तुकी बस्त्रालय पनि त्यस्तै अवस्था छ ।

कान्तिपुर इलेक्ट्रोनिक्समा मोबाइलको अवैध कारोबार हुने तथा सफल बजारमा भन्सार छलीका मोटर पार्टको बिक्रि हुने गरेको स्रोत बताउँछ । रुपैडियाको राधेराधे पसलबाट नेपालगञ्ज, कोहलपुरका अटापार्टस्हरुमा भन्सार छलीका सामानको ठूलो मात्रामा कारोबार हुने गरेको स्रोतले दृष्टिलाई बताएको छ ।

प्रतिक्रिया दिनुहोस्