Logo
Logo

विपी प्रतिष्ठानमा दिनहुँ नाराजुलुुस, घेराबन्दीमा उपकुलपति


दृष्टि संवाददाता


धरान । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र मौलाएको आर्थिक, शैक्षिक अनियमितताको विरुद्धमा गत हप्तादेखि स्थानीय नागरिक सञ्जाल र कर्मचारी विद्यार्थी र चिकित्सकहरुले दिनहु नाराजुलुुस गरेर दबाब वढाउन थालेपछि प्रतिष्ठान प्रशासन वार्तामा आउन बाध्य भएको छ ।

१५ महिनाअघि उपकुलपति भएर आएका डा. ज्ञानेन्द्र गिरीले कोभिड महामारीको बेला प्रतिष्ठानमा भएका अक्सिजन प्लान्टलगायतका मेसिनहरुलाई सञ्चालन गर्न नसक्दा दर्जनौँ बिरामीको ज्यान जानुका साथै दर्जनाँै बिरामीले दुःख पाएको भन्दै उनको विरोधमा सिडियोदेखि स्थानीय राजनीतिक दल, नागरिक समाजसमेत रुष्ट भएका थिए । तर उनीहरुको गुनासोलाई समेत बेवास्ता गर्न थालेपछि धरानका राजनीतिक दल र नागरिक समाजका प्रतिनिधिहरुले एक नागरिक दबाब सञ्जाल नै गठन गरेर ७ बुँदे मागपत्र उपकुलपतिलाई बुझाएका थिए । प्रतिष्ठानभित्र मौलाएको अनियमितता, अव्यवस्थापनलाई सुधार्ने विषयमा दिएको सो ७ बुँदे मागहरु ७ दिनभित्र पूरा गर्न अल्टिमेटम दिएका थिए । तर आज १५ दिन भइसक्दा पनि सो माग पूरा गर्नुको सट्टा भिसी गिरी काठमाडाँै गएर बसेका छन् । यता नागरिक सञ्जालको भन्दा चर्को नाराबाजी गर्दै आएका प्रतिष्ठानको चिकित्सक, विद्यार्थी र नर्सहरुले भने आफ्नो आन्दोलन जारी राख्दै वार्ताको टेबलमा पनि बसेका छन् ।

चिकित्सकहरु कसरी भड्किए ?

प्रतिष्ठानभित्र भएको अनियमितिताको विषयमा फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेलले अख्तियारका प्रमुखलाई एसएमएस गरेका थिए । सो एसएमएस अरुहरुलाई पनि पठाउन अनुरोध गरेका थिए । सोही विषयलाई लिएर उपकुलपति गिरीले उनलाई जेठ ३० गते स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरण पत्रमा प्रतिष्ठानको नियमावलीमा उल्ल्ोखित आचारसंहिताविपरीत कार्य गरेकामा तपाईँलाई कारवाही किन नगर्ने भन्दै ३ दिनभित्र स्पष्टीकरण दिन पत्राचार गरेको थियो । सो पत्र पाएपछि अनियमितताको विरोधमा पनि बोल्न नपाउनु भन्दै फ्याकल्टीका चिकित्सिक जेआर र विद्यार्थी नर्सहरु आन्दोलित बन्न पुगेका थिए । ‘आफूहरुले प्रतिष्ठानभित्र भएका अनियमितताको विषयमा कुरा उठाउँदा भिसीले दबाउन खोज्छ भने अब हामी चुप लागेर बस्नेवाला छैनौँ, प्रतिष्ठानमा सुधार नआउञ्जेल हाम्रो आन्दोलन जारी रहन्छ’, भन्छन् जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीका उपाध्यक्ष डा पदम नेपाली ।

प्रतिष्ठानभित्र हुने अनियमितताको विरोधमा बोल्दै आएका फ्याकल्टी वेलफेयरका अध्यक्ष पोखरेल आफूलाई भिसीले स्पष्टीकरण सोध्न सक्छ । तर, उसलाई लाखौँ जनता, नागरिक समाज, चिकित्सक, विद्यार्थी कर्मचारीहरुले किन भ्रष्टचार अनियमितता गरिन्छ जसको कारण बिरामी मारिन्छ यसको जवाफ दे भन्दा किन दिन सक्नुहुन्न ? अनि यही सवाल हामीले उठाउँदा हामीलाई चाहिँ किन स्पष्टीकरण ?

पोखरेललाई स्पष्टीकरण सोधेको दिनदेखि दिनहुँ उपकुलपतिको कार्यालय अगाडि नाराजुलुस र धर्ना दिने कार्यक्रम भइरहेको छ । छातीमा विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेर दुईपटक चिकित्सकहरुले धरान नगर परिक्रमा समेत गरिसकेका छन् । हाल आन्दोलित चिकित्सकहरुलाई हालै धरानमा गठन भएको नागरिक दबाब सञ्जाललगायत प्रतिष्ठानकै नर्स, विद्यार्थी कर्मचारीहरुको पनि सहयोग समर्थन प्राप्त हुन थालेको कुरा जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीका उपाध्यक्ष डा. पदम नेपाली वताउछन ।

उपकुलपतिसँग ‘प्राध्यापक’को सर्टिफिकेट मागे

आर्थिक अनियमितताले प्रतिष्ठान जर्जर बन्न पुगेको विषय उठिरहेको बेला हाल आन्दोलनरत चिकित्सक विद्यार्थीहरुले भने उपकुलपति डा गिरिको प्राध्यापक पदमाथि नै प्रश्न उठाउन थालेका छन् । उनीमाथि कुनै पनि विश्वविद्यालयबाट प्राध्यापक उपाधि नै नपाई प्राध्यापक डाक्टर लेख्ने गरेको आरोप लाग्ने गरेको छ । प्रतिष्ठानका उपकुलपति हुनका लागि अनिवार्यरुपमा प्राध्यापक उपाधि प्राप्त गरेको व्यक्ति हुनुपर्दछ । तर डा गिरीले हालसम्म कुन विश्वविद्यालयबाट कहिले प्राध्यापकको उपाधि पाएका हुन् सर्टिफिकेट देखाउन आन्दोलनरत चिकित्सकहरुले चुनौती दिएका छन् । गत बुधबार बिहान धरान नगरमा निकालिएको जुलुसमा आन्दोलनकारी चिकित्सकहरुले छातीमा यही प्रश्न गरेको पोष्टर बोकेका थिए । उनीहरुले डा गिरीले कुन–कुन शोधपत्रहरु कुन–कुन जर्नलमा कहिले–कहिले प्रकाशित भएको छ ? भनी थप प्रश्न तेस्र्याएका छन् । तर डा गिरीले भने आफू यहाँको जस्तो झोले प्राध्यापक नभएर अमेरिकामा भिजिटिङ प्रोफेसर भएर काम गरेको बताउँदै आएका छन् । चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानका उपकुलपतिको भागमा परेको तीनवटा विद्यार्थीको सिट दिने प्रावधान रहेको छ । सोहीअनुसार उपकुलपति डा गिरीले आफू प्राध्यापक डाक्टर नै भएको भन्दै मेडिसिन विभागमा तीन विद्यार्थीका लागि सिट माग गरेका थिए । तर आयोगले उनी प्राध्यापक भएको मागदाबीप्रति नै शंका गरी सिट नदिएपछि प्रतिष्ठानभित्रै ठूलो हल्लीखल्ली मच्चिएको छ । आयोगले उपकुलपति गिरीले प्राध्यापक भएको कुनै आधिकारिक कागजात उपलब्ध गराउन नसकेकाले उक्त सिट नदिएको स्रोतको दाबी छ । कोशी अञ्चल अस्पतालमा मेडिकल सुपरिटेण्डेन्टसम्म भएका डा गिरी कसरी प्राध्यापक भए भनी उनका समकालीन चिकित्सकहरु पनि अनभिज्ञ रहेको बताउँछन् ।

आन्दोलनकारी र पदाधिकारीबीच वार्ता

शनिबार आन्दोलनकारी पक्ष र प्रतिष्ठानका पदाधिकारीबीच पहिलो वार्ता भएको छ । उपकुलपति काठमाडाँै गएका कारण निमित्त उपकुलपतिको हैसियतले शिक्षाध्यक्ष प्राडा गुरु खनाल, अस्पताल निर्देशक प्राडा गौरीशंकर शाहलगायतका पदाधिकारी र आन्दोलनकारीको प्रतिनिधिहरु भएको वार्ता सकरात्मक भएको बताए । प्रतिष्ठानको व्यवस्थापन पक्षलाई सुधार गर्दै चिकित्सक कर्मचारीहरुको बढेको तलब सुविधा दिने कुरा भएको वार्ताका सहभागीहरुले बताए ।

तर नागरिक दबाब सञ्जाल धरानका संयोजक राजेन्द्र शर्मा भने ‘जबसम्म प्रधानमन्त्री, स्वास्थ्यमन्त्रीहरुले उपकुलपतिको नियुक्तिमा पैसा लिने चलन छाड्दैनन् तबसम्म यो चलिरहन्छ । यसो नगर्न हामीले ज्ञापनमार्फत ध्यानाकर्षण त गरायौँ तर कतिको सुन्ने हो शंकै लाग्छ’ भन्छन् । नागरिक सञ्जालका एक सदस्य भने जबसम्म अख्तियारले यहाँका भ्रष्टाचारीहरुलाई जेल सजाय गराउन सक्दैन तबसम्म यहाँ भ्रष्टाचार हट्दैन भन्छन् । उनको तर्क छ यहाँ भएका भ्रष्टचारीहरुलाई अख्तियारले कहिले कारवाही गरेन बरु उल्टै आयुक्तहरुले पैसाको बार्गेनिङ गरेर करोडौं कमाएका छन् । तर एक जनालाई पनि कारवाहीमा हालेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्