Logo
Logo

के हो माइक्रोब्लेडिङ ?


डा. रेखा थापा


सुन्दर आँखाका लागि आँखीभौं अर्थात ‘आइब्रो’को विशेष भूमिका हुन्छ । तर, सबैको आइब्रो भनेजस्तो राम्रो हुँदैन । त्यसैले आइब्रो राम्रो बनाउन मेकअपको सहायता लिइन्छ । तर, व्यस्त समयमा दिनहुँ आइब्रो बनाउन फुर्सद कसैलाई हुँदैन । यस्तो अवस्थामा ‘माइक्रोब्लेडिङ’ उपयोगी हुन्छ । यो प्रविधि आइब्रो नहुनेका लागि वरदान नै भन्दा फरक पर्दैन ।

माइक्रोब्लेडिङ ‘सेमी परमानेन्ट मेकअप’ हो । जसले आइब्रोको सेप दिनुका साथै बाक्लो देखाउँछ । मसिनो सियो भएको पेनको सहायतामा छालाको बाहिरी भागलाई काटेर भित्र तह (डर्मीस लेयर)मा पिग्मेन्ट (रंग) राखिन्छ । जसले बाहिरी भागसम्म कपालको जस्तै धर्सा देखाउँछ । जुन वास्तविक आइब्रो जस्तै देखिन्छ ।

कति समयसम्म टिक्छ ?
माइक्रोब्लेडिङ ट्याटु जस्तै हो । तर, ट्याटु जति गहिरो जाँदैन । थोरै मात्रामा रंग बस्ने भएकोले विस्तारै फिका हुँदै जान्छ । एकपटक गरिसकेपछि १ देखि २ वर्षसम्म रहन्छ । त्यसैले समय समयमा टचअप गर्नुपर्ने हुन्छ ।

यद्यपि छालाको प्रकार, प्रयोग गरिने पिग्मेन्टको गुणस्तर, व्यक्तिको रहनसहन, वातावरण, सौन्दर्य सामग्रीको असरमा यसको टिकाउ निर्भर हुन्छ । जस्तै चिल्लो छालामा चाँडै फिका हुन्छ ।

माइक्रोब्लेडिङ गर्दा मसिनो घाउ (स्क्रयाच) हुन्छ । जुन घाउ निको हुन करिव एक हप्ता लाग्छ । यो अवधिमा ‘आफ्टर केयर’ औषधि प्रयोग गरी घाउलाई संक्रमणबाट बचाउनुपर्छ । यसो गर्दा घाउ चाँडै निको हुनुका साथै पिग्मेन्टलाई गाढा बनाउँछ ।

एक हप्तापछि छाला उक्किन्छ । छाला उक्किदा लगभग ४० प्रतिशत पिग्मेन्ट पनि जान्छ । त्यसैले चाहेको भन्दा केही गाढा कलर लगाउँदा पछि राम्रो हुन्छ । तर, पिग्मेन्ट चयन गर्दा छाला र प्राकृतिक रौँको कलर नै चयन गर्नुपर्छ । धेरै डार्क कलरले अप्राकृतिक देखिन्छ । हामी नेपालीको छालामा ब्राउन, डीप कफी र डार्क ब्राउन, कोकोनट ब्राउन कलर राम्रो देखिन्छ । ब्ल्याक कलर सकेसम्म प्रयोग गर्नु हुँदैन ।

के माइक्रोब्लेडिङ गर्दा दुख्छ ?
माइक्रोब्लेडिङ गर्दा मसिना घाउ हुने भएकाले दुखाई महसुस हुन्छ । त्यसैले माइक्रोब्लेडिङ सुरु गर्नुभन्दा २० मिनेट अगाडि ‘टपिकल एनेस्थेटिक क्रिम’ लगाउनुपर्छ । जुन क्रिमले केही समयको लागि छालालाई लठ्याइदिन्छ । र, दुखाई महसुस हुँदैन ।

माइक्रोब्लेडिङ गर्दा आर्टिस्टले ध्यान दिनुपर्ने कुराहरु :
– एक व्यक्तिलाई प्रयोग गरिएका सामानहरु अर्को व्यक्तिमा प्रयोग गर्न हुँदैन ।
– ग्लोब्स, पिग्मेन्ट, ब्लेड, बड्ज जस्ता सामग्री प्रयोग गर्ने वित्तिकै फ्याक्नुपर्छ ।
– पुनः प्रयोग गर्न मिल्ने सामग्रीहरुलाई एकपटक प्रयोग गरिसकेपछि राम्रोसँग निर्मलीकरण
गरेर मात्र पुःन प्रयोग गर्नुपर्छ ।
– ग्लोब्स लगाइसकेपछि अरु कुरा छुनु हुँदैन । आर्टिस्ट र क्लाइन्ट दुबैले माक्स अनिवार्य लगाउनुपर्छ ।
– एकपटक पिग्मेन्ट छालाभित्र पसेपछि हटाउन सजिलो हुँदैन । त्यसैले, ध्यानपूर्वक काम गर्नुपर्छ ।
– जथाभावी काट्दा रौको फोलिकललाई असर गर्न सक्ने भएकाले विशेष ध्यान दिनुपर्छ ।

माइक्रोब्लेडिङ गर्नुभन्दा अगाडि के गर्ने के नगर्ने ?

– रगतलाई पातलो बनाउने कुनै पनि चिज खानु हुँदैन ।
– कमसेकम १५ दिन अगाडिदेखि अल्कोहल, एसपिरिन प्रयोग गर्नु हुँदैन ।
– ‘रेटिनल एक्ने क्रिम’ वा ‘केमिकल पील’ आइब्रोको वरिपरि २ हप्ता अगाडिबाट लगाउनु हुँदैन ।
– बोटोक्स प्रयोग गरेको कम्तीमा तीन हप्तापछि मात्र माइक्रोब्लेडिङ गर्नुपर्छ ।
– छालालाई घामबाट जोगाउनुपर्छ ।

माइक्रोब्लेडिङ गरिसकेपछि के गर्ने के नगर्ने ?

– एक हप्तासम्म पानीले भिजाउनु हुँदैन ।
– घाउ निको हुँदै जाँदा चिलाउन सक्छ । त्यस्तो अवस्थामा कोट्याउने र जबरजस्ती उकाउने काम गर्नु हुँदैन ।
– आफ्टर केयर क्रिम लगाउनुपर्छ । जसले घाउ चाँडै निको हुन्छ । इन्फेक्सन हुन दिँदैन ।
– साउना स्टिम र स्विमिङ गर्न मिल्दैन । शरीरलाई पसिना आउनबाट बचाउनुपर्छ ।
– केहि समस्या परे विज्ञलाई तुरुन्त सम्पर्क गर्नुपर्छ ।

माइक्रोब्लेडिङ कसले गर्न हुँदैन ?

– गर्भवती महिलाले माइक्रोब्लेडिङ गर्न हुँदैन । साथै, स्तनपान गराइरहेका महिलाले पनि गर्न मिल्दैन ।
– डाइबिटिजका बिरामीले पनि माइक्रोब्लेडिङ गर्नु हुँदैन ।
– ब्लड प्रेसर हाई भएकाले गर्नु हुँदैन ।
– आइब्रोको वरिपरि मासुको डल्लो आएको भए गर्नुहुँदैन ।
– अङ्ग प्रत्यारोपण गरेको अवस्थामा गर्न मिल्दैन ।
– २० वर्षभन्दा कम उमेरले गर्न हुँदैन ।
– थाइरोइडको समस्या भएकाले पनि गर्नु हुँदैन ।

माइक्रोब्लेडिङ ‘एडभान्स आइब्रो ट्रिटमेन्ट टेक्निक’ हो । ब्लेड प्रयोग गरी स्क्रयाच गरेर छालाको भित्र तहसम्म पिग्मेन्ट पुर्याउनुपर्ने भएकाले जोखिम हुन्छ । त्यसैले यस विषयमा विशेषज्ञता हासिल गरेका व्यक्तिबाटै माइक्रोब्लेडिङ गर्नुपर्ने हुन्छ । विशेषज्ञबाट माइक्रोब्लेडिङ गर्दा समस्या हुँदैन ।

प्रतिक्रिया दिनुहोस्