Logo
Logo
टिप्पणी

एमालेमा पूर्व माओवादी नेताको कन्तबिजोक !


मिलन लिम्बू


काठमाडौं । सर्वोच्चले नेकपा एमालेको १०औं महाधिवेशन आयोजक कमिटी खारेज गरेसँगै नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमाले रोजेका नेता कार्यकर्ता संकटमा छन् ।

सर्वोच्चले नवौं महाधिवेशनमार्फत निर्वाचित कमिटीलाई नै एमालेको आधिकारिक कमिटी भन्यो । एमाले प्रवेश गरेका माओवादी नेता त्यो कमिटीमा पर्दैनन् । पार्टीको विधानले नै नचिन्ने भएपछि पूर्व माओवादी समूह अब के गर्ने ? भन्दै छलफल गर्न थालेका छन् ।

रामबहादुर थापा ‘बादल’ नेतृत्वमा टेपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, मणि थापा लगायत नेताबीच छुट्टै छलफल हुने गरेको छ । अधिकांश छलफलको एजेण्डा ‘एमालेमा व्यवस्थापन’ बन्ने गरेको छ । तर, जति छलफल गरे पनि कता र कसरी व्यवस्थापन हुने भनेर पूर्व माओवादी नेताले उत्तर पाउन वा निष्कर्ष निकाल्न सकेका छैनन् ।

सहज छैन व्यवस्थापन
आन्तरिक किचलोले नेकपा एमाले तत्काल कुनै पनि निर्णय गर्न सक्ने अवस्थामा छैन । त्यसैले एमालेमा पूर्व माओवादीलाई समायोजन जटिल बनेको हो । माओवादी नेताको व्यवस्थापन हुनका लागि कि त एमाले फुट्नुपर्छ, कि त ओली समूह र वरिष्ठ नेता मावकुमार नेपाल समूहबीच वर्तमान मतभेद अन्त्य भइ एकता हुनुपर्छ । अर्थात पार्टीको हरेक निर्णयमा दुवै समूहको सहमति चाहिन्छ । तर, त्यो सम्भव छैन ।

पार्टी अध्यक्षको रुपमा प्रधानमन्त्रीसमेत रहेका ओलीले केही निर्णय त गर्न सक्छन् तर महाविधेशन र महाधिवेशनले निर्दिष्ट गरेको लक्ष्यबाहेक अरु गतिवधि गर्न सक्दैनन् । किनकी पार्टीको विधानले ओलीलाई घेरा नाघ्न दिँदैन । विधान विपरित गतिविधि गरे पनि न्यायालयले खारेज गरिदिन्छ ।

यस्तो अवस्थामा ओलीले माधाव समूहलाई फकाउनु पर्ने हुन्छ । तर, मावध समूह विपक्षी दलकै हैसियतमा ओलीको कदमविरुद्ध संघर्षमा छ । त्यस्तो अवस्थामा ओली–माधव कम्तिमा आजभोली नै मिलिहाल्ने अवस्था छैन । त्यसैले पूर्व माओवादी नेता एमाले बन्न नसकेका हुन् ।

एमाले बनाउने प्रकृया
माओवादी नेताहरुलाई एमाले बनाउन विधान अधिवेशनमार्फत विधान संशोधन गर्नुपर्ने हुन्छ । तर, फुटको संघारमा रहेको एमालेको विधान अधिवेशन गर्न सम्भव छैन । विधान अधिवेशन नभएपछि विधान संशोधन हुन सक्दैन । विधान संशोधन नभएको अवस्थामा वर्तमान केन्द्रिय कमिटी विस्तार हुन सक्दैन ।

यो कुराको पुष्टि र आधार १०औं महाधिवेशन आयोजक कमिटी सर्वोच्चले खारेज गर्नुलाई मान्नु पर्छ । अर्थात अहिलेकै अवस्थामा कटिमीको घटबढ गर्नु विधानविपरित हुन्छ । यस्तो अवस्थामा एमाले प्रवेश गरेका नेता वैधानिकता संकटमा रहनुको विकल्प हुँदैन ।

माओवादी लत्याउनेहरुको मनोदशा
एक्लो कमाण्डरको रुपमा एमाले रोजेका रामबहादुर थापा ‘बादल’ अहिले झन् एक्लो भएका छन् । जनयुद्ध हुँदै शान्ति प्रकृयामा आइपुग्दा शालीन नेताको रुपमा पाएको माया र विश्वास ‘लोभीपापी नेता’मा परिणत भएको छ । पछिल्लो पटक श्रीमतीलाई नै मन्त्री बनाए ।

हेर्दा बादललाई एमाले रोजेका माओवादीहरुको कमाण्डर देखिन्छ । तर, एमालेमा पूर्व माओवादीहरुको कोही कमाण्डर छैनन् । समूह पनि छैन । बेला–बेला भेला भएर छलफल गर्ने मात्र हुन् ।

बादल पछिका नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह लगायत एकअर्कालाई नेता मान्ने पक्षमा छैनन् । सबैले आफूलाई नै कमाण्डर ठान्ने गरेका छन् । तर, उनहीहरु पनि बादल जस्तै एक्लो कमाण्डर हुन् ।

सांसद नरहे पनि ओलीले मन्त्री बनाएसम्म पूर्व माओवादी नेतालाई एमालेमा कसरी व्यवस्थापन हुने भन्ने चिन्ता र चासो नै थिए । तर, मन्त्री पनि बन्न नपाउने भएपछि पूर्व माओवादी नेतामा विरहले स्थान पायो । ‘आफैले जन्माएर हुर्काएको पार्टी छोडेर अर्कोलाई रोजियो तर त्यो पनि आफ्नो हुन सकेन, गल्ति गरियो’, उनीहरुको अहिलेको मनोदशा हो ।

केही दिन अगाडीको एक छलफलमा बालदले पोखेको पीडा– ‘प्रचण्ड जे जस्तो भए पनि पार्टी त माओवादी नै हो । जुन पार्टी हामीले बनायौं । हजारौं शहीदको रगतले बन्यो । माओवादी छोड्नु गल्ति नै गरियो । जहाँ मनैदेखी नेतृत्व स्वीकार्ने कार्यकर्ता छन् । यहाँ त के हो के हो ? कसैले विश्वास गरिहाल्ने वातावरणसमेत छैन ।’ सबैले आ–आफ्ना पीडा सम्झेर हो भनेका थिए ।

उनीहरु माओवादी फर्केलान् ?
नेपालको राजनीतिमा दल परिवर्तन गर्नु सामान्य कुरा बन्यो । विचार, सिद्धान्त वा नीति तथा कार्यक्रमका आधारमा पार्टी प्रवेश गर्ने या परित्य गर्ने भन्दा पनि स्वार्थमा वारीपारी गर्न विकृति छ । त्यसैले उनीहरु माओवादी फर्कदैनन् भन्ने छैन ।

माओवादी र माधव समूह मिल्दा भीम रावलले स्थान पाउने र आफू विस्थापित हुने मनोदशामा गुज्रेका लेखराज भट्ट, माधव नेपालका कारण रौतहटमा विस्तापित हुने डरले ओली रोजेका प्रभु शाह र राजनीतिमा कम उपयोगीता भएका मणी थापाहरु कुनै पनि बेला फर्कन पनि सक्छन्, कुनै पनि बेला कुनै काण्डमा राजनीति समाप्त पार्न पनि सक्छन् । बादलको बाध्यता बेग्लै छ । उनको पीडा उनै आफै जानुन् !

एमालेको आन्तरिक किचलोले सकारात्मक भन्दा पनि हानिकारक परिणाम दिने कुरामा कोही अन्योल छैनन् । भर्खरै हानी व्यहोरेको ओली नेतृत्वको एमालेले आगामी निर्वाचनमा अर्को हानी व्यहोर्नुपर्ने त छँदैछ । त्यसैले पनि पूर्वमाओवादी नेताहरु मझदारको मनोदशमा गुज्रेका छन् । एमालेमै बसौं एमाले पनि होइन, माओवादी फर्कौ के अनुहार देखाएर फर्कने ?

माओवादीमै फर्कन केही नेताले प्रचण्डसँग संवाद गरेकै हुन् । प्रतिवाद नै गरे पनि पार्टीमा फर्कने वातावरण मिलाउन अनुनय गरेको प्रमाणले होइन भन्दैन । यसको मतलव उनीहरु राजनीतिक भविश्यलाई लिएर अत्यासलाग्लो अवस्थामा छन् । त्यसैले फर्कन पनि सक्छन् ।

प्रतिक्रिया दिनुहोस्