Logo
Logo

आरआरएनद्वारा इच्छाकामना गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग


दृष्टि संवाददाता


काठमाडौं । नेपाल ग्रामीण पुनःनिर्माण संस्था (आरआरएन)ले इच्छाकामना गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । आरआरएनले आइतबार गाउँपालिकामा पुगेर रु सात लाख ३२ हजार बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

आइतबार एक कार्यक्रमकाबीच आरआरएनका प्रतिनिधि कृतिराज बुढाथोकीले गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । संस्थाले गाउँपालिकामार्फत इच्छाकामनामा रहेको दारेचोक स्वास्थ्य चौकीलाई उक्त सामग्री प्रदान गरिनेछ । गाउँपालिकालाई सहयोग गरेको सामग्रीमा अटोमेटिक हेन्ड स्यानिटाइजर तीन थान, फेस सिल्ड १३० थान, पल्स अक्सिमिटर ३० थान, पिपिई सेट १२० थान, सर्जिकल ग्लोब्स १२० थान, सर्जिकल मास्क १०० प्याकेट, स्यानिटाइजर ४५ बोतल, आइसोलेशन किट ८० थानलगायतको सामग्री रहेको छ ।

आरआरएनका प्रतिनिधि बुढाथोकीले इच्छाकामना गाउँपालिकाका अध्यक्ष गुरुङलाई स्वास्थ सामग्री हस्तान्तरण गर्दै कोरोनाको बिरामी तथा कार्यालयका कर्मचारीको स्वास्थ्यमा सहयोग पुगोस् भन्ने हेतुले गाउँपालिकालाई आवश्यक सामग्री सहयोग गरेको बताए । सामग्री बुझेपछि गाउँपालिकाका अध्यक्ष गुरुङले कोरोना सङ्क्रमणको संकटकोे अवस्थामा गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेकामा आरआरएनलाई धन्यवाद दिँदै सहयोग सामग्रीले कोरोनाका बिरामीको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपप्रमुख कृतिकुमार श्रेष्ठ, प्रवक्ता सावित्री गुरुङ जनस्वास्थ्य अधिकृत हरि देवकोटालगायतको उपस्थिति थियो । यसअघि आरआरएनले चितवनको कालिका नगरपालिकालाई रु १० लाख ५३ हजार र भरतपुर महानगरपालिका २९ नं वडालाई रु ७० हजार बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्