Logo
Logo

बिपी स्वास्थ्य प्रतिष्ठानमा बेथितिः सञ्चित घाटा सात अर्ब, बेरुजु एक अर्ब


दृष्टि संवाददाता



काठमाडौं । व्यवस्थापन लथालिंग हुँदा पूर्वीनेपालको स्वास्थ्य र शिक्षाको अग्रणी संस्था बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्रभित्रै जर्जर बनेको छ । ०५८ देखिको बेरुजु मात्रै एक अर्ब १० करोडभन्दा माथि पुगेको छ ।

०७७ सम्म प्रतिष्ठानको सञ्चित घाटा सात अर्ब पुगेको छ । जबकि विभिन्न परीक्षण, उपचार, बेडभर्ना, शल्यक्रियालगायत गरी प्रतिष्ठानको दैनिक आम्दानी झन्डै एक करोड रहेको अनुमान छ । अस्पतालमा ओपिडी शुल्क एक सय १० रुपैयाँ छ । लकडाउनबाहेकको अवस्थामा प्रतिष्ठानमा दैनिक तीन हजारभन्दा धेरै बिरामी आउने गरेका छन् । बिरामीको चाप सधैँ बढ्दो छ, तैपनि प्रतिष्ठान निरन्तर घाटामा छ ।

महालेखापरीक्षक कार्यालयले प्रत्येक वर्ष प्रतिष्ठानलाई आर्थिक र नीतिगत सुधार गर्न झकझक्याउने गरेको छ । तर, नेतृत्व आफैँ अनियमिततामा संलग्न हुन थालेपछि सुधारको सट्टा झन् भद्रगोल भएको छ । वर्षौँअघि निर्माण थालिएका आधा दर्जन भौतिक संरचना अलपत्र छन् । अस्पताललाई चाहिने औषधिदेखि उपकरण मर्मत तथा खरिद प्रक्रियामा आर्थिक पारदर्शिता नभएको भन्दै चिकित्सकसहितका स्वास्थ्यकर्मी आन्दोलित छन् ।

महालेखाको प्रतिवेदनअनुसार एक अर्ब १० करोड बेरुजुमा केही हिस्सा स्वास्थ्य मन्त्रालयको छ भने अधिकांश प्रतिष्ठानको छ । चार सय ५० बिघा क्षेत्रफलमा फैलिएको प्रतिष्ठानमा नेपाल र भारत सरकारको लगानी छ । प्रतिष्ठानले खरिद गरेका कतिपय स्वास्थ्य उपकरण प्रयोग नै नगरी थन्क्याइएका छन् । सामान्य मर्मत गरेर चलाउन सकिने दर्जनौँ उपकरण महिनौँ बित्दा पनि व्यवस्थापनले बनाउन चासो देखाएको छैन । जसका कारण सेवाग्राहीहरू महत्वपूर्ण सेवा पाउनबाट वञ्चित भइरहेका छन् । प्रतिष्ठानमा आउने यस्ता बिरामीलाई निजी अस्पतालहरूमा रेफर गर्ने गरिन्छ ।

प्रतिष्ठानमै २० वर्षभन्दा बढी वरिष्ठ चिकित्सकका रूपमा काम गरेका रजिस्ट्रार प्राडा मोहनचन्द्र रेग्मी संस्थामा मौलाएको आर्थिक अनुशासनहीनता र बेथिति देखेर अताल्लिएका छन् । गत १३ जेठमा उनले जारी गरेको आन्तरिक सर्कुलरले त्यस्तै देखाउँछ । सर्कुलरमा नियमविपरीत भएका आर्थिक क्रियाकलापका कारण एक अर्बभन्दा बढी बेरुजु भएको र त्यसको फर्स्योट गर्न रजिस्ट्रार कार्यालय असमर्थ रहेको उल्लेख थियो ।

नयाँ पत्रिकासँगको कुराकानीमा पनि रजिस्ट्रार रेग्मीले प्रतिष्ठानमा आर्थिक अनुशासनहीनतादेखि धेरैखाले समस्या देखिएको र अहिले सुधारको प्रयास भइरहेको बताए । ‘०५८र६० सालदेखिको बेरुजु छ । महालेखापरीक्षकले औँल्याएअनुसार हामी यसलाई फस्र्योट गर्ने प्रक्रियामा छौँ,’ उनले भने, ‘निकै ठूलो समस्या भएकाले क्रमशः सुधार गर्दै लैजान्छौँ । फस्र्योट हुने खालको बेरुजु ताकेता गर्दै छौँ, नहुने किसिमको बेरुजुबारे महालेखापरीक्षकलाई जानकारी गराउने प्रक्रियामा छौँ ।’ अस्पतालको सेवा, कर्मचारीका समस्या, आर्थिक संकटलगायतका विषयमा आफूहरूको ध्यानाकर्षण भएको रेग्मीले बताए । ‘कार्ययोजना बनाएर प्रतिष्ठानलाई सुधार गर्न हामी लागिपर्छौँ,’ उनले भने ।, यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्