Logo
Logo

ओलीलाई इतिहासले माफी दिने छैन


शम्भु श्रेष्ठ


असार १४ गते जननेता मदन भण्डारीको ७०औँ पुण्यतिथि । ठिक एक वर्ष अगाडि मदन भण्डारी फाउण्डेशनले प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली थिए ।

उनले विदेशी शक्तिले आफूलाई हटाउन योजना बनाइरहेको बताए । प्रधानमन्त्री ओलीको मुखबाटै यस्तो षड्यन्त्रको पर्दाफास भएपछि नेकपाभित्र ठूलो हलचल उत्पन्न भयो । नभन्दै कात्तिक ५ गते भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुख सामन्तकुमार गोयल नेपाल आए । करिब ३ घण्टा प्रधानमन्त्रीसँग बालुवाटारमा बिताए ।

ओली र गोयलबीच के कुराकानी भयो र के–के सहमति भयो भन्ने कुरा बाहिर नआए पनि गोयल भ्रमणपछि नेपालमा उत्पन्न राजनीतिक बिग्रहबाट गोयल दुईतिहाइ बहुमतसहितको नेकपा सरकार ढाल्न आएको कुरा ओलीले पुस ५ गते संसद् विघटन गरेको घटनाबाट पुष्टि भयो ।

आफ्नै पार्टीभित्रको आन्तरिक कलहका कारण विदेशी शक्तिले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको अग्रिम सूचना पाएका ओलीले संसद् विघटन नगरी दुईतिहाइ बहुमतको सरकार जोगाउने भित्री प्रयास गरेको भए पाँच वर्षसम्म निरन्तर उनीलाई प्रधानमन्त्री बन्न कसैले रोक्ने थिएन ।

किनभने, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको कार्यकारी अध्यक्षका रुपमा एकताका सम्पूर्ण काम सम्पन्न गर्ने र ओलीले पाँचै वर्ष सरकारको नेतृत्व गर्नेमा सहमत भइसकेको थिए । ओलीबाट त्यो सहमति कार्यान्वयनमा समस्या आएपछि स्थायी कमिटीले भदौ २६ गते पार्टी र सरकारले गर्ने कामको जिम्मेवारी बाँडफाँटसमेत गरेको थियो ।

पार्टीभित्रको आन्तरिक द्वन्द्व समाधान गर्ने स्थायी कमिटीको ‘रोडम्याप’मा मात्र ओली र प्रचण्ड हिँडेको भए यी दुवै जना ‘किन रोइस मंगले, आफ्नै ढंगले’ भन्ने अवस्थामा पुग्ने थिएनन् ।

जननेता मदन भण्डारीले राजनेता मनमोहन अधिकारीलाई मालेसँग जोडेर एमाले बनाए । र, त्यो एमालेको अध्यक्ष अधिकारीलाई सुम्पिए । आफू महासचिव भएरै अधिकारीलाई सघाए । भण्डारी र अधिकारीले बाबु छोराकै रुपमा पार्टीलाई सुदृढ, सवल र सशक्त एमाले बनाउन भूमिका खेले ।

यो ऐतिहासिक घटनालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले थप उचाइमा पुर्याए । कमरेड पुष्पलालको सपना साकार पार्दै ओलीले माओवादी केन्द्रसँग पार्टी एकता गरे । जुन एकतालाई नेपाली जनताले अनुमोदन गर्दै दुईतिहाइ मत दिए । नेपालको कम्युनिष्ट आन्दोलनमा मात्र होइन, विश्व कम्युनिष्ट आन्दोलनका लागि पनि यो एकता र त्यसको उपलब्धि एउटा शिक्षा थियो ।

मदन भण्डारीले ‘जवज’मा देखेको सपना पूरा गर्ने अवसर थियो । तर, त्यो अवसरलाई ओलीले सदुपयोग गर्न सकेनन् । महान् उपलब्धिको रक्षा गर्न सकेनन् । अहिले उनी ‘भुइँको टिप्न खोज्दा, गोजीको झरे’जस्तो अवस्थामा पुगेका छन् ।

कम्युनिष्ट आन्दोलनलाई धरासायी बनाउने, जनताको आशा र विश्वासमाथि तातोपानी खन्याउने, मदन र मनमोहनले जोडेको एमालेलाई विभाजन गराउने, इतिहासकै शक्तिशाली कम्युनिष्ट सरकारलाई घर न घाटको बनाउने ओलीलाई इतिहासले माफी दिने छैन । एक दिन जनताले दण्डित गरेरै छाड्नेछन् ।

त्यो दिन पनि टाढा छैन, ओली आफैँले दुई–दुई पटक सार्वभौम संसद् भंग गरेर निर्वाचनको मिति घोषणा गरेका छन् । र, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई नै कमजोर बनाउँदैछन् । यसको रक्षाका लागि सच्चा एमालेपंक्ति धुलो टकटक्याएर उठ्नुपर्ने छ ।

अन्त्यमा, यो उपलब्धि रक्षाका लागि प्रतिगमनविरुद्ध उभिएका एमाले नेता कार्यकर्ता मुठ्ठी कसेर उठ्नुपर्ने छ । प्रतिगामी कित्तामा उभिएका एमाले नेता, कार्यकर्ताहरुमाथि अनुशासनको डण्डा चलाउनु पर्नेछ । र, मदन भण्डारीको सपना पूरा गर्न सुदृढ, सुसंगठित, जुझारु पार्टी निर्माणमा जुट्नुपर्ने छ । यही नै मदन भण्डारीप्रति श्रद्धाञ्जलि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्