आइएमई फाउन्डेसनद्वारा अक्सिजन प्लान्ट हस्तान्तरण « Drishti News – Nepalese News Portal
Logo

आइएमई फाउन्डेसनद्वारा अक्सिजन प्लान्ट हस्तान्तरण


दृष्टि संवाददाता


काठमाडौं । आइएमई फाउन्डेसनले शुक्रराज सरुवा रोग अस्पताललाई अक्सिजन उत्पादन प्लान्ट स्थापनाका लागि उपकरण हस्तान्तरण गरेको छ । आइएमई फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक तथा फाउन्डेसनका अध्यक्ष हेमराज ढकालले अस्पतालका निर्देशक डा. सागर राजभण्डारीलाई उपकरण हस्तान्तरण गरेका हुन् ।

यसअघि नेसनल बिजनेस इनिसिएटिभ र आइएमई फाउन्डेसनबीच शुक्रराज सरुवा रोग अस्पतालमा अक्सिजन उत्पादन प्लान्ट स्थापनाका लागि उपकरण उपलब्ध गराउने सम्झौता भएको जनाइएको थियो । सम्झौताअनुसार नेसनल बिजनेस इनिसिएटिभले अक्सिजन उत्पादन प्लान्ट स्थापनाका लागि उपकरण खरिद प्रक्रिया अगाडि बढाएको थियो ।

फाउन्डेसनले अक्सिजन प्लान्ट स्थापनाका लागि १ करोड २८ लाख रुपैयाँबराबरको सहयोग उपलब्ध गराएको जनाएको छ । आइएमई फाउन्डेसनले कोभिड–१९ को रोकथाम तथा उपचारका लागि पहिले पनि करिब ३ करोड रुपैयाँ मूल्यबराबरको स्वास्थ्य उपकरण नेपाल सरकारलाई प्रदान गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्