Logo
Logo

ओलीलाई हस्ताक्षर फिर्ताकै चिन्ता


दृष्टि संवाददाता


काठमाडाैं । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा एमाले केन्द्रीय कमिटीको बैठक बस्यो । १० औं महाधिवेशन आयोजक कमिटी भंग गर्दै २०७५ जेठ २ को अवस्थामा पार्टी फर्किएको घोषणासहित शुक्रबार केन्द्रीय कमिटीको बैठक सुरु भएको हो ।

बैठकमा अध्यक्ष ओली पार्टीभित्र देखिएको विवाद समाधान गर्न आफू भरपूर लागिरहेको देखाउँदै असन्तुष्ट रहेको समूहलाई मिल्नुको विकल्प नै नरहेको जसरी प्रंस्तुत भए । पार्टी एकताका लागि असन्तुष्ट रहेका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालसहितका टोलीलाई नै मुख्यतः उनले पार्टीमा देखिएको समस्याको जडको संज्ञा दिए ।

उनको आशय माधव समूहलाई दोष लगाएर आफू एकताको पक्षमा रहेको सन्देश दिनु थियो । तर, कार्यक्रममा बोल्दै जाँदा ओलीको बोलीले नै प्रष्ट भनिरहेको थियो कि उनी एकता चाहँदैनन् । दोस्रो तहका नेताहरू नेता नेपाललाई फकाउन लागिरहँदा आज पनि उनले पटकपटक नेपालप्रति कटाक्ष गरे ।

बैठकमार्फत् ओलीले माधव समूहलाई दुई दिनभित्र उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरियोस् भन्दै सर्वोच्च अदालतमा दायर गरिएको रिटबाट हस्ताक्षर फिर्ता लिन निर्देशन दिए । यसअघि, जेठ २ मा फर्कन तयार रहेको घोषणा गर्दा पनि यिनै विषयलाई केन्द्रमा राखेका थिए ।

तर, यो बैठक नै अमान्य भएको र पार्टीको विधान विपरीत रहेको बताइरहेको माधव समूहले यसअघि जस्तै हस्ताक्षर फिर्ता नहुने र सहमतिका आधारमा बैठक बोलाउनुपर्ने माग राख्दै आएको थियो ।

शुक्रबार ओलीले माधव समूहलाई लगाएका आरोप :
– पार्टी हित विपरीत गएर विपक्षीसँग नयाँ सरकार निर्माण गर्न सहकार्य गरेको
– पार्टीभित्रको असन्तुष्टीलाई बाहिर ल्याएर विपक्षीलाई उत्साहित बनाएको
– विवाद समाधान गर्न खोजको तर सहमतिमा नआउने
– हस्ताक्षर फिर्ता गर्न नमानेको
–पार्टी प्रवेश गरेका माओवादी नेतालाई स्थान दिन नचाहेको

ओलीले शुक्रबारको बैठकमा यस्ता थुप्रै आरोप नेपाललाई लगाए ।ओलीले बैठकमा विपक्षी नेतालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर सोमबार साँझसम्म फिर्ता नलिए पार्टी फुटको घोषणा हुनेसम्म भन्न भ्याए । आफैले उठाएको मुद्दाप्रति ओली यसअघि देखि नै अनुदार रहेको माधव समूहले भन्दै आएको छ । तर, भोलि पार्टी फुटको अवस्थामा पुग्दा सम्पूर्ण दोषको भारी लिनुपर्ने भएकाले पनि ओलीले हालसम्म सहमति र सहकार्यको कुरा गर्दै आएका हुन् ।

समस्या समाधान गर्न भन्दा पनि भोलि अदालतले संसद पुर्नस्थापना गरिदिएला वा देउवालाई प्रधानमन्त्री नै नियुक्त गर्न सक्ने हो कि भन्ने त्रासले ओलीको मुख्य ध्यान हस्ताक्षर फिर्ता गराउने पक्षमा रहेको माधव पक्षको बुझाई छ ।

जसले गर्दा पार्टीमा देखिएको समस्या समाधान गर्न ओलीमा खास रुचि देखिँदैन । त्यसैले ओलीले हस्ताक्षरलाई प्रमुख मुद्दा बनाइरहेको विश्लेषण हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्