Logo
Logo
समाचार टिप्पणी

ओलीले विष्णु च्याप्दा ईश्वर घर न घाटको !


दृष्टि संवाददाता


काठमाडौं । यदि, प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ गते गरेको मन्त्रिपरिषद्को पुनर्गठनबाट महासचिव ईश्वर पोखरेललाई विनाविभागीय उपप्रधानमन्त्रीबाट नहटाएको भए अहिले उनी सजिलैसँग गृहमन्त्री बन्ने रहेछन् ।

तर, ओलीले ‘भाग्य’ नै सिसासरि फुटाइदिएपछि के लाग्दो रहेछ र ? जब ओलीका लागि विष्णु पौडेल प्यारो हुन थाले, तब ईश्वर पोखरेल सकिँदै–सकिँदै अस्तित्व रक्षाका लागि घिस्रनुपर्ने अवस्थामा पुगे ।

त्यसो त ओलीको चालबाजी नै हो कि, एउटालाई बोकेर अर्कोलाई सिध्याउने । यसो गर्दागर्दै उनी आफ्नै कोटरीभित्र समस्यामा परेका छन् । अहिले ईश्वर पोखरेलको अवस्था बालुवाटारको पोखरीको माछाझैँ भइदियो– भागौँ, उफ्रिने ठाउँ छैन, नभागौँ, बस्ने अवस्था छैन ।

एमालेको ०७१ असार १९ देखि २५ सम्म सम्पन्न नवौँ महाधिवेशनबाट महासचिव जितेका ईश्वर पोखरेललाई माओवादीसँग पार्टी एकता गर्दा निर्वाचित महासचिवबाट फालिदिने, विनाविभागीय उपप्रधानमन्त्रीबाट पनि हुत्याइदिने अरु केही नभएर ओली हुन् भन्ने कुरा पोखरेलले नबुझेसम्म अझै कति पछारिनुपर्ने हो थाहा छैन । ओलीसँग लागेर सकिनुबाहेक पाउनु केही नभएपछि अहिले ईश्वर भित्रभित्रै ओलीसँग रुष्ट छन् । सबैभन्दा रुष्ट त विष्णु पौडेलसँग छन् ।

नवौँ महाधिवेशनमा महासचिवका लागि उम्मेदवार हुँदा प्रतिस्पर्धी सुरेन्द्र पाण्डेलाई जम्मा १५ मतले जित्ने ईश्वरले चार वर्षका लागि जितेको महासचिव तीन वर्षमै गुमाए । ०७५ जेठ ३ गतेदेखि बेपत्ता भएको उनको त्यो पद ०७७ फागुन २३ मा सर्वोच्चको फैसलाबाट फिर्ता त भयो, तर पार्टीको कामको जिम्मा अझै पाउन सकेका छैनन् ।

एमाले र माओवादी केन्द्रीबीच एकता घोषणा हुँदा एमालेको भागमा महासचिव पद पर्यो । तर, ओलीले निर्वाचित महासचिव ईश्वर हुँदाहुँदै त्यही महाधिवेशनबाट उपमहासचिव जितेका विष्णु पौडेललाई महासचिव बनाएर ईश्वरलाई देखाइदिए । यत्रो अपमान हुँदा पनि जाने ठाउँ नपाएर ईश्वर ओलीसँगै बस्न बाध्य भए । त्यसबेला उनी सरकारमा रक्षा मन्त्रालयको जिम्मेवारीसहित उपप्रधानमन्त्री थिए ।

ओलीसँग निहुँ खोजेको भए त्यही रक्षा पनि खोसिदिन्थे । तर, त्यही रक्षा मन्त्रालय पनि ०७७ असोज २८ गते ओलीले खोसे । विभागबिनाका उपप्रधानमन्त्री भएर उनलाई प्रधानमन्त्री कार्यालयको टेबुल–कुर्सी हेर्ने जिम्मा लगाइयो । उनी विनाभागीय बनाइँदै गर्दा विष्णु पौडेलचाहिँ अर्थमन्त्रीका रुपमा सरकारमा प्रवेश गरे ।

मन्त्रालय पनि नभएको उपप्रधानमन्त्री भएपछि ईश्वरले ओलीसँग महासचिव पद फिर्ता मागे । तर, पाएनन् । सर्वोच्चले फागुन २३ गते तत्कालिन नेकपाको एकता भंग गरेपछि ईश्वरले हत्तपत्त आफू नै एमाले महासचिव रहेको भन्दै ट्वीटरबाट घोषणा गरे ।

फागुन २८ मा ओलीले आफू र महासचिवबाहेक सबैका पद खारेज गरेपछि कुनै पनि बैठक महासचिवलाई चलाउन दिएनन् । त्यसपछिका एमाले बैठक स्वयं अध्यक्षका हैसियतले ओलीले बोलाउने, उनैले चलाउने र आफैँ समापन गर्ने काम गर्न थालेपछि ईश्वर नाममात्रको महासचिव छन् । र, उनको दैनिकी थापाथलीस्थित मारवाडीको निवास कुर्नु मात्रै हो ।

विनाविभागीय भए पनि जगेडामा उपप्रधानमन्त्रीका रुपमा ईश्वरलाई राखेको भए गृहमन्त्री पाउँथे । अहिले ईश्वर ‘जोकरफाल्तु’ भएका छन् भने विष्णु पौडेललाई तीन÷चारवटा मन्त्रालय सम्हाल्न हम्मेहम्मे परेको छ ।

जनता समाजवादी पार्टीको महन्थ ठाकुर–राजेन्द्र महतो समूहलाई सरकारमा सामेल गरेर ओलीले गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले खारेज गरिदियो । र, सरकारमा त्यसअघिको पुनर्गठनमा परेका जम्मा चार मन्त्री बाँकी रहे ।

यदि ईश्वर १७औं पुनर्गठनबाट नहटाइएको भए अहिले उपप्रधान तथा गृहमन्त्रीसहित रोजेको मन्त्रालय पाउँथे । त्यो मन्त्रालय पनि अहिले विष्णु पौडेलकै जिम्मामा छ । तर, विष्णुलाई बोक्ने ओलीको भाउँटोमा परेर ईश्वर घर न घाटको बन्न पुगे ।

प्रतिक्रिया दिनुहोस्