Logo
Logo

प्रलेसभित्रको सत्तापक्ष र प्रतिपक्ष


प्रा. डा. बद्रीविशाल पोखरेल


प्रा. डा. बद्रीविशाल पोखरेल

श्यामप्रसाद शर्माको अध्यक्षतामा २००९ सालमा गठित प्रगतिशील लेखक सङ्घको ११ औँ राष्ट्रिय सम्मेलनका सम्मुख लेखकहरुका बीचको विवाद छताछुल्ल पोखिएको छ । आगामी चैत्र २२ र २३ गते तुलसीलाल अमात्य भवन, काठमाडौँमा हुन गइरहेको सम्मेलन सामु सत्ता पक्ष र प्रतिपक्ष भनेर दुइथरि समूह प्रायोजित द्वन्द्वमा उत्रिएका छन् ।

प्रा. डा. बद्रीविशाल पोखरेल

प्रलेसमा माक्र्सवादी सौन्दर्यशास्त्रीय चेत न्यून मात्र होइन शून्य हुँदै जाने अवस्था छ । अहिले त मृत आत्माको चीर शान्तिको कामना गर्ने लेखकहरु यत्रतत्र देखिन्छन् । माओले बन्दुक विहीन शत्रु कतिपय स्रष्टाहरुका मन, ध्यान र चेतनमा देख्न सकिन्छ नत्र शत्रु र मित्र सम्म छुट्याउन नसक्ने स्थिति कसरी उत्पन्न हुन्छ भनेका थिए । अनि यस्ता कुरुप दृष्टिकोणका पछि लाग्दा संविधान अनुसार नेपाल समाजवादउन्मुख किमार्थ हुनेछैन ।

प्रलेस साझा संगठन भन्दा बाझा संगठनका रुपमा परिचित छ । आआफ्ना पार्टी निकट साहित्यिक संघ संस्थामा सक्रिय भएर थाकेपछि प्रलेसमा आएर सिद्धान्त, सिर्जना र संगठनका नाममा अनावश्यक फतुर खोजीखोजी सिङ्जुरो हल्लाएर निष्कर्षहीन विवाद गरेर समय खेर फाल्नु यसको नियति रहेको छ ।

प्रलेसले माक्र्सवादी सांस्कृतिक सौन्दर्य शास्त्रीय सही मान्यताका आलोकमा नेपाली कला,साहित्य र संस्कृतिका क्षेत्रमा आमूल परिवर्तन ल्याएको छ । यसले नै अभिजात्यवादी समग्र साहित्यिक मान्यतालाई कलात्मक हस्तक्षेप मार्फत् अन्तध्र्वंश गरेको देखिन्छ । पहिले जनवादी वा जनपक्षीय विषय,भाव,चरित्र,पात्र,प्रस्तुति,विचार र मान्यताका घोर विरोधी रुपवादी कित्ताका तमाम लेखक तथा स्रष्टाहरु लेखकीय व्यवहारमा जनताको पक्षमा उभिन बाध्य देखिन्छन् । विशुद्ध साहित्यको राग लामो समय सम्म अलाप्नेहरु अहिले प्रलेसकै परोक्ष प्रभावमा आएका छन् । तर यी सब उपलब्धि र प्राप्तिहरु बिर्सेर कतिपय सतही लेखकहरु मनोगत ससाना र सामान्य विषयलाई उछालेर उत्पात भएझैँ गरिरहेका छन् ।

प्रलेस आफैँ प्रगतिशील वा प्रगतिवादी सिर्जनात्मक सही मान्यता हो । यो मूलतः माक्र्सवादी जीवन दर्शन र दृष्टिकोणबाट अनुप्राणित छ । त्यसैले यसले द्वन्द्वात्मक भौतिकवादी मान्यता अनुसार समग्र जीवन जगत् पर्गेल्छ । तर सत्तापक्ष र प्रतिपक्ष भनेर एक अर्कालाई आरोपित गरिरहेका केही लेखकको दरिद्र अवस्था देख्दा यस लेखकलाई दया लागेको छ । एकातिर सत्तापक्ष भनिएका केही लेखक सत्ता र सरकारका गम्भीर नकारलाई अनदेखा गरिरहेका छन् । सच्चा मित्रले भए गरेका नकारहरु उजागर गरेर समयमै सच्चिने मौका प्रदान गर्छ । चाकरहरु मात्र स्वस्ती र सलाम बर्साउँछन् र समग्र आन्दोलनलाई भड्खालोमा जाक्छन् । सरकारले गरेका तमाम वरिष्ठ सक्रिय,सिर्जना र साधनामा समर्पित अग्रज सर्जक र प्राज्ञहरुलाई घोर अपमानित हुने गरी पाँडे पजनी गरेका कृत्यका बारेमा मौन रहनु सत्ता र सरकारको ताबेदारी नै हो । यसमा सत्ता र सरकार रुष्ट हुँदा आफ्नै अहित हुन्छ कि भन्ने आतंकले काम गरेको हुनसक्छ । नैतिकवान् तथा सिर्जनाका श्रेष्ठ र श्रेष्ठतम् सर्जक पदासीन हुँदा मात्र तमाम सर्जकको सिर उँचो हुन्छ भन्ने मान्यता विकसित गर्न सकिएन भने प्रलेसको उचाइ किमार्थ उठ्दैन । यति मात्र कहाँ हो र आफैँ बिचौलिया बनेर वा तिनलाई प्रयोग गरेर गहकिला पुरस्कारहरु हात पार्ने कथित प्राज्ञहरुको पनि बिगविगी देखियो । विधिवत् तथा पद्धति संगत रुपमा सिफारिस गरिएकाहरुको नाम टिपेक्स लगाएर आसपासकाहरु प्रतिष्ठानमा बारबार नियुक्त भएको सरम लाग्दो अवस्था देखियो । मोदनाथ प्रश्रितले यस खालको कृत्यका बारेमा सविस्तार यस लेखकसित उल्लेख गरेका छन् । त्यसैले प्रलेसको पदाधिकारी र नेतृत्व गर्ने स्रष्टाले संस्थाको उचाइ र कद घटाउने खालको काम र कदम कदापि गर्न हुँदैन । आफू कुन तहमा छु र कस्तो जिम्मेवारी लिएको छु भन्ने कुरा चटक्क बिर्सिएर जता धुधु उतै कुदु गर्नु हुन्न । प्रलेसको पदाधिकारी बन्ने अनि कताकता नियुक्ति पाइन्छ भनेर चियो गर्दै हिँडेर सिर्जनात्मक संगठन विस्तार हुँदैन ।

अर्कातिर प्रतिपक्षी भनेर आफूलाई क्रान्तिकारी देखिन रुचाउनेहरु अर्को भयानक रोगबाट ग्रस्त देखिन्छन् । यिनीहरु सकार र नकारलाई सोलोडोलो एउटै डालेमा हालेर अन्धवादी मत र मान्यता जाहेर गर्छन् । हालै अन्नपूर्ण पत्रिकामा र अर्को एक राष्ट्रिय अखबारमा प्रलेसको भँडास पोखेको देखियो । के सरकारका सबै काम नकाम हुन् ? के द्वन्द्ववादले यही भन्छ र सिकाउँछ ? ओली सरकारले तुइन युग समाप्त पारेर गल्ती ग¥यो ? प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, योगदानका आधारमा तमाम श्रमजीवीहरुलाई पेन्सन सुविधा दिने योजना, निर्धन तथा सीमान्तीकृत समुदायका लागि विभिन्न खालका सेवा र सहुलिय लगायत अनेक जनहितका कार्यक्रम र आयोजनाहरु यस देशलाई तीनबित्ता उठाउने कार्यक्रम हुन् । तर जण्डिसका रोगी केही लेखकहरु सबै पहेँलो मात्र देख्छन् र यिनले समाजको अगुवा सर्जकको स्वतन्त्र चेतको हुर्मत लिइरहेका देखिन्छन् । अहिले तिनै केही लेखक नाममा कार्यकर्ताहरु बौखलाइ रहेको देखिन्छ । कुनै पनि लेखक, कवि तथा सर्जक अमुक पार्टी निकट रहे पनि स्वतन्त्र तथा आलोचनात्मक चेत बिनाको छ भने त्यो लौरे कार्यकर्ता वा नेता मात्र हुन्छ । यस खालको सर्जकले समग्रतामा आन्दोलनलाई सिर्जनात्मक योगदान दिन सक्तैन । तिनको काम जसो जसो बराजु उसैउसै स्वाहा बाहेक केही देखिन्न । नत्र असहमतिमा पनि सहमति हुन्छ । अनेकतामा पनि एकता हुन्छ । मित्र पक्षका बीच एकता आलोचना र एकता हुन्छ भने विरोधी पक्षका बीच संघर्ष, एकता र सघर्षको नीति र नियम लागु हुन्छ । माक्र्सवादी मान्यता अब खोपीको द्यौता भएको अवस्थामा यस्ता कुराको कुनै काम र ठाम नै छैन । कतिपय पार्टीका नेताहरु आफू अनुकूलको माक्र्सवादको अपव्याख्या गर्छन् अनि लौरे कार्यकर्ताहरु नेताको पुराण वाचन हुबहु स्वीकार र सिरोपर गर्छन् । अनि कहिले दायाँ कहिले वायाँ भड्काउमा परेर आन्दोलन सोत्तर हुन्छ, भएको यही देखिन्छ । क्रान्तिकारी हुन बन्दुक बोक्नै पर्छ, रगत बगाउनै पर्छ । कुन समय, काल र परिस्थिति हो भन्ने कुनै मतलब छैन । अहिले पनि पंचायत कालभैmँ शान्तिपूर्ण संवैधानिक संघर्षका सबै बाटाहरु बन्द भएको अवस्था झैँ परिस्थितिको अपव्याख्या गरेर सोझा, सिदा र तातो रगत भएका युवा कार्यकर्तालाई उचालेर र उकासेर मर्न र मार्न उद्यत उग्रवादी कम्युनिष्टले भिरबाट हाम्फालेर इहलीला समाप्त पार्नु बाहेक कुनै विकल्प देखिन्न ।

द्वन्द्ववाद भनेको सिरछेदन गर्नु मात्र हो भन्ने आम कार्यकर्तालाई बुझाउँदा समस्या विकराल बनेको हो र बनिरहनेछ । मोदनाथ प्रश्रितद्वारा लिखित योग प्राणायाम विषयक कृतिलाई आध्यात्मिक देख्ने र निषेधको निषेध नियम कला, साहित्य र संस्कृतिका क्षेत्रमा लागु हुँदैन भन्ने खालका लेखकहरु प्रलेसका ठूला ऋणात्मक पक्ष हुन् । यस्तो प्रवृत्तिलाई वर्ग पक्षधरताका मुखौटो भन्न सकिन्छ र व्यवहारतः यसलाई वर्गच्यूत र वर्ग स्खलित भन्न पनि सकिन्छ । त्यसैले प्रगतिशील लेखक संघको केन्द्रमा नै यस सम्बन्धी सौन्दर्य चिन्तन र सिर्जनात्मक क्षमता विकसित गर्न सौन्दर्य शास्त्रीय गहन शिक्षण प्रशिक्षण सञ्चालन गर्नु जरुरी देखिन्छ । माक्र्सवादी सौन्दर्य शास्त्रीय समग्र सन्तुलित र गहन अध्ययन, चिन्तन र चरित्र बिनाका स्रष्टाहरु प्रलेसलाई विखण्डनको डिलतिर लैजान भरमग्दुर प्रयत्न गरिरहेको देखिन्छ । यस्तो पिँध बिनाको लोटा सरहको चिन्तनले अन्तमा घाटाबाहेक केही दिने छैन ।

संघीय लोकतान्त्रिक तथा गणतान्त्रिक मुलुकको नीति, थिति, विधि, पद्धति र प्रणाली स्थापित गर्ने कुरा त कामै होइन भनेझैँ गरेर उपल्ला तहका सर्जकले आलोचनात्मक कटाक्ष गरेको देखेर तिनप्रति दया लाग्छ । दुईतिहाइको कम्युनिष्टको सरकार भए पनि संविधान, नियम र कानूनअनुसार नीति, विधि, पद्धति र प्रणाली अनुसार काम गर्नुपर्छ र अहिलेको प्रतिगामी कर्मचारी संयन्त्रबाट कति र कसरी काम गरिँदैछ भन्ने अतिसामान्य कुरा ख्याल नगरी बोल्ने लेखक पनि देखिन्छन् । गोयवल्स शैलीका कारण कम्युनिष्ट र यो सरकारका विरुद्ध प्रायोजित प्रचार प्रोपगण्डामा बहकिने धेरै सर्जक देखिएका छन्. । तर वरिष्ठ प्रगतिवादी लेखक तथा बुद्धिजीवी कृष्णप्रसाद श्रेष्ठ बी.ए.ले प्रदेश १ को प्रलेस सम्मेलनका अवसरमा ओली सरकारका सकारहरुको सकारात्मक चर्चा गरेका थिए । माओले कला, साहित्य बहुसंख्यक जनसमुदाय वा मजदुर, किसान र सिपाहीका लागि तथा तिनकै उपयोगिताका लागि हुन् भने पनि तिनलाई साहित्यिक कार्यक्रममा आमन्त्रणसम्म नगर्ने परिपाटी व्याप्त छ ।

प्रलेसमा माक्र्सवादी सौन्दर्यशास्त्रीय चेत न्यून मात्र होइन शून्य हुँदै जाने अवस्था छ । अहिले त मृत आत्माको चीर शान्तिको कामना गर्ने लेखकहरु यत्रतत्र देखिन्छन् । माओले बन्दुक विहीन शत्रु कतिपय स्रष्टाहरुका मन, ध्यान र चेतनमा देख्न सकिन्छ नत्र शत्रु र मित्र सम्म छुट्याउन नसक्ने स्थिति कसरी उत्पन्न हुन्छ भनेका थिए । अनि यस्ता कुरुप दृष्टिकोणका पछि लाग्दा संविधान अनुसार नेपाल समाजवादउन्मुख किमार्थ हुनेछैन । कार्लमाक्र्सका अनुसार हरेक युगमा शाषक वर्गका विचार प्रभावी हुन्छन्, बुद्धि र बौद्धिक शक्ति पनि उसैको हुन्छ भनेझैँ अधिकांश प्रगतिशील लेखकहरु यही रोगबाट ग्रस्त रहेका छन् ।

राष्ट्रिय सम्मेलन निकट भए पनि प्रदेश र स्थानीय स्तरका प्रलेस सम्मेलनहरु हुनु खुसीको कुरा हो । यसले एक खालको पातलो तरङ्ग उत्पन्न गरेकै देखिन्छ । अब कामको प्राथमिकता छुट्याएर बाझा मात्रै नगरी सिर्जनात्मक कामलाई निष्कपट रुपमा बहु आयामिक तरिकाले सञ्चालन गर्ने हो भने यो क्षेत्र जुरुक्क उठ्न सक्ने देखिन्छ । प्रगतिशील कला साहित्य नै मनको मैलोलाई गुणात्मक रुपमा सफा गर्ने अद्भूत साबुन हो । त्यसैले संविधानमा धर्म, परम्परा, रीति, तथा संस्कारका नाममा हुने सबै प्रकारका असमानता, शोषणको अन्त गर्ने उद्घोष गरिएजस्तै प्रलेस र प्रज्ञाले आफ्नो चरित्रमा सुधार गरेनन् भने तिनको औचित्य सिद्ध हुने छैन ।

(लेखक : प्रलेस,केन्द्रका पूर्वसल्लाहकार हुन्)

प्रतिक्रिया दिनुहोस्