Logo
Logo

मेगा बैंकले ल्यायो अस्पतालको बिल तिर्न ‘मेगा मेडिकार्ड’ सुविधा


दृष्टि संवाददाता


काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुलाई अस्पतालमा उपचार गर्नका लागि आवश्यक रकम उपलब्ध गराउने उद्देश्यले ‘मेगा मेडिकार्ड’ नामक आकर्षक सुविधा ल्याएको छ ।

ग्राहक बिरामी हुँदा तत्कालै रकम जुटाउन गाह्रो र अफ्ट्यारो पर्नसक्ने अवस्थालाई मध्यनजर गर्दै ल्याइएको यो सुविधामार्फत मेगा बैंकका क्रेडिट कार्ड सुविधा उपभोग गरिरहेका ग्राहकले न्यूनतम रु २० हजार देखि रु १ लाख ५० हजारसम्म क्रेडिट कार्ड (इन्स्टा–बाई) सुविधा १८ महिनासम्मका लागि उपभोग गर्न पाइने हुदाँ यस व्यवस्थाले ग्राहकलाई उपचारका लागि तत्कालै रकमको जोहो गर्न सहज हुने विश्वास बैंकले लिएको छ । बैंकले ग्राहकहरुले आवश्यक कागजपत्र पेश गरेको २ दिनमानै ग्राहकलाई यस सुविधा उपलब्ध गराउने व्यवस्था मिलाएको जनाएको छ ।

बैंकका डिजिटल तथा इ–बैंकिङ विभाग प्रमुख विश्व सिंहका अनुसार यो सुविधाका लागि प्रक्रियागत शुल्क निःशुल्क गरिएको छ भने क्रेडिट कार्डवापत लाग्ने शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । यसका साथै बैंकले बैंकबाट क्रेडिट कार्ड सुविधा प्रयोग गरिरहेका ग्राहकले हेल्थ प्याकेज लिन चाएमा त्यसको भुक्तानी गर्ने सुविधासमेत ल्याएको छ । अस्पतालको बिल भुक्तानीका लागि बिरामीका परिवारलाई समेत नाता प्रमाणित प्रमाणपत्रका आधारमा रकम उपलब्ध गराइने भएकाले यो सुविधा निकै सहज र प्रभावकारी हुने मेगा बैंकले जनाएको छ ।

यसअन्तर्गत अस्पतालको बिल सोझै बैंकसमक्ष पेश गरी क्रेडिट कार्डमार्फत अस्पताललाई भुक्तानी गर्न सकिनेछ भने ग्राहकले आफूले भुक्तानी गरिसकेको बिलको शोधभर्नासमेत लिन सकिने छ । बैंकको देशभरका शाखा कार्यालयबाट उपलब्ध यस सुविधाबारे विस्तृत विवरणका लागि आफूलाई पायक पर्ने शाखा कार्यालयमा सम्पर्क राख्न मेगा बैंकले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्