गणतन्त्रमा महाराजा उच्छिन्ने शासक « Drishti News – Nepalese News Portal
Logo

गणतन्त्रमा महाराजा उच्छिन्ने शासक


उमेश बन्जाडे


गुँड नफिर्दै बाटोमै हराए– जीवनको पहिलो अक्षरपढ्न पाठशाला हिंडेका नानिहरु । बाँस नफर्किदै बाटोमै विलाए– नुनकिन्न पसल गएका आमाहरु । डाँडागाउँको मेलो बाटै बेपत्ता भए– खेत जोत्न गएका ‘बा’हरु । भञ्ज्याङ्का स्याउलाहरुमा स्कुले नानिहरुको रगत पोखियो । कयौं सुत्केरी भाउजुहरु आतंककारीको नामले बलात्कृत भए ।

बिकास र निकास नामको एकसरो धागो नदेखेका गाउँहरु बम र बारुदको धुवाँले मक्किए । समग्रतया राज्यको दर्फराउँदो कोर्रा खाएर आजित बनेका स्वरहरु आगोको मुस्लो बनेर लुटको स्वर्गमाथि धावा बोले । र, टुपी देखि पैतालासम्म बोंसो पलाएर ढाडिएको एकात्मक राज्य व्यवस्थालाई यहि माटोमा उत्तानो पारे ।

यद्यपि, उतिबेला राजतन्त्रको आगनमा लालचको भैलेनी भट्याउनेहरु नै आजको लोकतान्त्रिक गणतन्त्रात्मक विहानीको जमिनदार बन्न पुगे । जब चिसो जमिनबाट निदाएका भुइँमान्छेहरु ब्युँझन्छन् तब भयंकर भुइँचालो जाँदै शासकहरुको गिदि हिनहिँनाउँछ रे ! सत्ताको गद्दीमा कार्यकारी राजा र श्रीपेचरहित रानीको उदय भएदेखि यिनीहरुको मस्तिष्क पनि मस्तै हिनहिनाएको छ ।

जनता जागेपछी पुरातनको सिरानीमा भुइँचालो गयो । जाली फटाहहरु त्राहिमाम भए । उर्लदो जनताको शक्तिलाई अवमूल्यन गर्दै अँध्यारो कोठाबाट उखान–टुक्काको सुइरो घोच्नेहरु समेत बाध्यात्मक परिस्थिति बस् जनताका मुद्दामा सहमती जनाउन राजी भए । राजी मात्रै होइन, उनै जनताको त्याग र समर्पणबाट आएको व्यवस्थाको मालिक नै ठहरिए । अन्ततः नयाँ भनिएको व्यवस्थालाई भुत्ला लुछेको कुखुरा जस्तै बनाइदिए ।

जनताका भावनामाथि निरन्तर प्रहार गर्ने, सत्ता र शक्तिको घमण्डले सुन्निएर संविधानका प्रत्येक धारामा घारा हाने । देशको सर्वोच्च न्यायालयले कयौंपटक मुखुण्डो खुस्काइ दिँदासमेत हातैले छोपेर किन नहोस– जब्बरता देखाइ रहने ।

सोह्र दुना आठको जुक्ती सिकाउने पाठशाला खोलेर दुनियाँ आफ्नै हत्केलामा रहेको भ्रममा लठ्ठीने । हो यहि बेहोशिको बलेनिमा यो बखत असिना झरीरहेको छ । बेइमानीको मरुभूमिमा जेनतेन लर्खराइ रहेको शासक आफ्नै मझेरीमा मुर्छा परेको छ ।

यतिखेर गणतन्त्रको साइनबोर्डमुनि शाहीकालीन चाकरीले पराकाष्ठा नाघेको छ । राष्ट्रियता र सुशासनको बियाँ केलाउँदै हिँडेको सरकार बाटोमै बेवारिसे बनेको छ ।

बालुवाटार–शितल निवास पेरिफेरीलाई मात्रै देश मान्ने र यी दुई सेल्टर बिचको रमितामा भजन गाउनेलाई जनता ठान्ने सन्की सोंचाइले देशलाई निरन्तर ओरालो तर्फ धकेली रहेको छ । स्वयं आफू नै षड्यन्त्रको गोलचक्करमा रनभुल्ल परेको यो सरकारबाट आम जनताले आश भन्दा बढी पश्चाताप गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ ।

मुलुकलाई होईन आफुलाई जे ठिक लाग्छ त्यही गर्ने शासकहरुको बिगबिगी नै भो । त्यसले लोकलाई पार्ने नकारात्मक फड्कोले देशलाई कुन भित्तामा पुर्याउने हो भन्ने हेक्का समेत नराख्ने अरिंगालहरुको म्याराथन दौडाहाले देशमाथि झनै खतराको संकेत पैदा भएको छ ।

एकात्मक राज्यव्यवस्थालाई पनि उच्छिन्ने गतिविधि देखेर गणतन्त्र आफै लज्जित छ । यसको अर्थ राजा महाराजा नै ठिक भन्न खोजिएको होइन । यहाँ राजतन्त्रलाई नै बिर्साउने गरी भइरहेका गतिविधिहरुले धेरैलाई ‘बरु पुरानै जाति’ भन्नेसम्मको मानसिकतामा पुर्याएको छ । ज्ञानेन्द्र शाह सिंहदरबारबाट नागार्जुन बगैंचामा गए, यद्यपि सामन्ती संस्कार उनीसँगै गएन ।

ज्ञानेन्द्रले पोकापुन्तुरा र ओढ्ने ओछ्याउने सँगै लगे होलान् परन्तु उनको जिम्दारीपारा सिंहदरबारकै भित्तामा टाँसिएर जम्दै गयो । र, त्यसले मन्दगतिमा देश अनि जनतालाई डँस्दै गयो । जसरी घाँस र भुस खुवाएपछि जुवा बोक्न गोरुले सभक्ति थपक्क काँध थाप्छ । त्यसरी नै आफ्ना प्रभुहरुप्रति बफादारिता देखायो ।

जनताका छातिमा निरन्तर लात हानेर आसेपासे अनि सुसारेहरुको भरणपोषणमा चुर्लुम्म डुवेको उदाङ्गो राष्ट्रवाद अहिले बेसहारा बनेको छ । घमण्डको हावाले टनक्क भरिएर आफ्नै मझेरिमा मुर्छा परेको छ । लाज नै वेपत्ता भएपछि नांगै हिँड्न के को आपत्ति ?

प्रतिक्रिया दिनुहोस्