Logo
Logo

अन्तरजातीय विहे गरेका जोडी एक महिनादेखि जंगलमा (भिडियाे)


दृष्टि संवाददाता


कैलाली । अन्तरजातीय विवाह गरेका कैलालीका एक जोडी परिवार र आफन्तको डरले एक महिनादेखि जङ्गलमा लुकेर बस्दै आएको घटना बाहिरिएको छ ।

उनीहरुले एक भिडियो सार्वजनिक गर्दै आफूहरुलाई बचाउन आग्रह गरेका छन् । ट्वीटरमार्फत सार्वजनिक सो भिडियो कैलालीको जङ्गलबाट पोस्ट गरेको दाबी गरिएको छ । कैलाली भजनी नगरपालिका–४ झलझलियाका प्रकाश विश्वकर्मा र मालती रावलले ४ असारमा विवाह गरेका थिए । भिडियोमा उनीहरुले विवाहपछि आफूहरु परिवार र आफन्तको डरले करिब एक महिनादेखि जंगलमा लुकेर बसिरहेको जानकारी गराएका छन् ।

विवाहपछि परिवार र समाजले मार्ने धम्की दिएपछि ज्यान जोगाउन जङ्गलमा लुकेको उनीहरूले भिडियोमा बताएका छन् । भिडियोमार्फत उनीहरूले आफूहरूलाई सहयोग गर्न आग्रह गरेका छन् । भिडियोमा युवतीले भनेकी छिन्, ‘जबरजस्ती विवाह भनेर मुद्दा हालिरहेका छन् । हामी जबरजस्ती भनेर आ’को होइन, आफ्नै मनले विवाह गरेर आएको तैपनि घरकाले मानिरहेका छैनन् । हामी दुई माया गरेर आ’को मेरो पेटमा नि बच्चा छ ।’

युवतीका परिवारले उनीहरूलाई धम्की दिएको म्यासेज पनि उनीहरूले भिडियोमा देखाएका छन् । युवकका आफन्तले बताए अनुसार युवतीका आफन्तले मार्ने धम्की दिएपछि उनीहरू जङ्गलमा लुक्न बाध्य भएका हुन् । रुकुम हत्याकाण्ड जस्तै गर्ने धम्की दिएपछि विवाहित जोडी जङ्गलमा लुक्न गएको उनले बताएका छन् ।

भिडियोमा युवकले भनेका छन्, ‘रुकुमकाण्ड दोहोरिनसक्छ, याद छ कि छैन भनेर पनि धम्काइरहेका छन् ।’ यही विषय बुझ्न सुदूरपश्चिमका दलित अभियन्ता विजय विश्वकर्मा अहिले युवकको घरतर्फ गइरहेको बताइएको छ । उनले भने, ‘युवती पक्षबाट युवक र उनको परिवारलाई मार्ने, काट्ने रुकुमकाण्ड दोहोर्‍याउने धम्की आएको पाइएको छ । यसलाई बुझ्ने कोशिस गरिरहेको छु ।’

अन्तरजातीय विवाहकै कारण भएको झडपमा रुकुम पश्चिममा जाजरकोटका २१ वर्षीय नवराज विकसहित ६ जनाको ज्यान गएको थियो । घटनाबारे आफूलाई अहिलेसम्म जानकारी नभएको कैलालीका एसपी विश्व अधिकारीले बताएका छन् । उनले भने, ‘अहिलेसम्म घटना जानकारीमा थिएन, यसबारे बुझेर अनुसन्धान अगाडि बढाउँछु ।’

प्रतिक्रिया दिनुहोस्