Logo
Logo

बार अध्यक्षमा प्रगतिशील समूहका श्रेष्ठको अग्रता, कसको कति मत ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं २१, चैत्र ।

कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले फेरी अग्रता लिएका छन। दिउँसोसम्म अध्यक्षका अर्का उम्मेदवार सुनिलकुमार पोखरेलले अग्रता लिइरहेका थिए।

हिजो राति ११ बजे सम्म गणना भएको जम्मा पाँचहजार ४०४ मध्ये श्रेष्ठले दुई हजार ४४५ मत प्राप्त गर्नुभएको छ । श्रेष्ठलाई बृहत् लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार सुनिलकुमार पोखरेलले दुई हजार ३७५ मतले पछ्याइरहनुभएको प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिनुभयो ।

त्यसैगरी, महासचिवमा लोकतान्त्रिक समूहका लीलामणि पौडेलले दुई हजार ४५४ मत प्राप्त गर्नुभएको छ भने प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापाले दुई हजार ३१४ मत प्राप्त गर्नुभएको छ । कूल मतमा अब दुई हजार ५८४ मत गणना गर्न बाँकी छ । त्यो बिहीबार बिहान ९ बजेदेखि गणना हुनेछ । पच्चिसौँ केन्द्रीय कार्यसमितिका लागि गत शनिबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन भएको थियो ।

बारमा नयाँ नेतृत्वका लागि तीन वर्षका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक÷एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । निर्वाचनमा देशभर बारका १० हजार ३१३ मतदातामध्ये आठ हजार ३२९ मतदाताले मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्