काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्षतको हैसियत मागेको समाचार भ्रमपूर्ण रहेको भन्दै नेता नेपालको सचिवालयले खण्डन गरेको छ ।
पार्टी एकताका लागि भइरहेका सम्पूर्ण प्रयासहरुलाई असफल बनाउन पार्टी अध्यक्ष केपी शर्मा ओली समूहले भ्रम फैलाएको भन्दै नेता नेपाललको सचिवालयले खण्डन गरेको हो ।
सचिवालयले भन्यो– ‘पार्टी एकताका लागि कार्यदलले प्रयास गरिरहेको छ । कार्यदलको पछिल्लो प्रगति पनि सकारात्मक दिशातर्फ उन्मुख रहेको बेला एकता प्रयास असफल बनाउन भ्रम फैलाइएको हो । वरिष्ठ नेता नेपालले यस्ता कुनै पनि प्रस्ताव गर्नु भएको छैन ।’
अध्यक्ष ओली र नेता नेपालबीच लामो समयपछि बुधबार होटल मेरियटमा भेटवार्ता भएको थियो । उक्त भेटपछि केही संचार माध्यमले नेता नेपालले अध्यक्षको हैसियत मागेको भन्दै समाचार लेखेपछि सचिवालयले खण्डन गरेको हो ।
बुधबार भएको ओली–नेपाल भेटमा कार्यदलका सदस्यहरु समेत सहभागी थिए । कार्यदलका नेताहरुले समेत अध्यक्ष र वरिष्ठ नेताबीच पावर सेयरिङको विषयमा छलफल नै नभएका बताएका छन् ।












