Logo
Logo

बामदेवकाे प्रष्टीकरण- म ओली समूहतिर गएकाे छैन


दृष्टि संवाददाता


काठमाडाैं । नेकपा एमाले नेता बामदेव गौतमले आफू अध्यक्ष केपी ओलीतिर नगएको प्रष्ट पारेका छन् ।

आइतवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सदस्य गौतमले पार्टी अध्यक्ष ओलीले २०७५ साल जेठ २ गतेको अवस्थामा केन्द्रीय कमिटीको बैठक बोलाएपछि आफू बैठकमा सहभागी मात्रै भएको बताएका हुन् । उनले केपी ओलीतर्फ गएको भन्ने हल्ला भएको भन्दै आफू ओलीतिर नभइ एमाले भएको प्रमाण पेस गर्न बैठकमा गएको बताए ।

‘मैले केही समय पहिले नेकपा हुँदा खेरी भएको पार्टी विभाजनमा म कतै पनि सामेल हुन पाइनँ, सकिनँ र मलाई मन लागेन । अहिले म नेकपा एमाले पुनर्स्थापित भएपछि मैले एमाले रोज्नै पर्‍यो । म एमालेको एउटा सदस्य हुँ । जिम्मेवार व्यक्ति पनि हुँ । जिम्मा पाएँ त्यो निर्वाह गर्ने व्यक्ति पनि हुँ । त्यसो भएर म केही समय पहिले पार्टी अध्यक्ष कमरेड केपीले २०७५ साल जेठ २ को अवस्थामा केन्द्रीय कमिटीको बैठक बोलाउनुभयो र म त्यो बैठकमा भाग लिन गएँ । धेरै मानिसले वामदेव केपीतिर गयो भनेर भने । मैले यो सभामार्फत हाम्रो देशका सबै जिम्मेवार राजनीतिज्ञलाई, नागरिकलाई जानकारी गराउन चाहन्छु, म कुनैतर्फ गएको होइन । म नेकपा एमाले भएको हुनाले त्यो प्रमाण पेस गर्न म गएको हो ।’

उनले त्यो दिनको बैठकमा पार्टीको विवाद मिलाउने जिम्मा दिन भनेपनि त्यो नपाएको गुनासो समेत गरे । बैठकमा उनले भने,‘ मैले पार्टीमा गइसकेपछि जे भूमिका निर्वाह गर्छु भनेको थिएँ त्यो भूमिका यद्यपि मैले प्राप्त गर्न सकिनँ ।’

उनले सत्तारुढ नेकपा एमालेले गरेको अराजनीतिक क्रियाकलाप, संविधान र ऐन, नियम कुल्चने क्रियाकलापले नेपाली नागरिकको शिर निहुरिएकोमा असन्तुष्टी समेत जनाए । बैठकमा उनले राष्ट्रियसभाका सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्