Logo
Logo

देश र जनताको हितमा काम गर्न जिम्मेवारी थपियो : देउवा


दृष्टि संवाददाता


काठमाडाैं । नेपाली काँग्रेसले सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गरेको छ ।

सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै मंगलबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परमादेश जारी गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको सो फैसलाको स्वागत गरेका हुन् ।

फैसलालगत्तै सभापति देउवाले विज्ञप्ति जारी गर्दै भनेका छन्- ‘ सम्मानित सर्वोच्च अदालतले नेपाली काँग्रेस लगायत ५ दलले दर्ता गरेको रीट निवेदन उपर गरेको फैसलाको हार्दिक स्वागत गर्दछु ।’

सभापति देउवाले यो फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको र स्वतन्त्र न्यायपालिकाको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको बताएका छन् । उनले लोकतन्त्र र लोकतान्त्रिक संविधान रक्षाका लागि सरिक सबै पक्षलाई बधाई समेत दिएका छन् ।

उनले भनेका छन्- ‘लोकतन्त्र र लोकतान्त्रिक संविधान रक्षाका लागि विभिन्न ढंगले आन्दोलनमा सरिक राजनैतिक दलहरु, सबै कानून व्यवसायीहरु, भ्रातृ र शुभेच्छुक संस्थाहरु, नागरिक आन्दोलन र सजग सञ्चारमाध्यम एवम् स्वदेश र विदेशमा रहेका सबै नेपाली दिदीबहिनी–दाजुभाईलाई बधाई ज्ञापन गर्दछु ।’

देउवाले यसलाई कसैको व्यक्तिगत जीत हारको विषय नभई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जान अपिल समेत गरेका छन् । यो फैसलाले देश र जननाको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न सबैलाई अझ जिम्मेवार बनाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्