Logo
Logo

प्रहरी नेतृत्वमा मनमुटाव


दृष्टि संवाददाता


काठमाडौं । नेपाल प्रहरी संगठनमा सामूहिक नेतृत्व प्रणाली अवलम्बन गरेर प्रशंसा कमाएका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री पछिल्लो समय विवादमा परेका छन् । पछिल्लो एआइजी सरुवा प्रकरणले प्रहरी नेतृत्वमा मनमुटाव देखिएको छ ।

एआइजी सरुवामा जुनियरलाई महत्वपूर्ण जिम्मेवारी दिएको तर सिनियरलाई उपेक्षा गरेको भन्दै एआइजीहरुले उनीसँग गुनासो गरेका छन् । स्रोतका अनुसार हरिबहादुर पाल र निरजबहादुर शाही महानिरीक्षक क्षेत्रीसँग असन्तुष्ट बनेका छन् ।

जुनियर एआइजी सहकुलबहादुर थापा तथा विश्वराज पोखरेललाई महत्वपूर्ण जिम्मेवारी दिइएको छ । थापालाई मानव स्रोत तथा प्रशासन र पोखरेललाई प्रहरी एकेडेमीको प्रमुख बनाइएको छ । सिनियर रहेका पाल र शाहीलाई कार्य तथा अपराध अनुसन्धान विभागमा पठाइएको छ । सात महिनामा नै एआइजीको सरुवा भएकाले पनि असन्तुष्टि देखिएको हो ।

एआइजी बढुवामै झन्डै छुटेका प्रद्युम्न कार्कीले मेट्रो प्रमुख हुने अवसर पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै समय तिक्ततापूर्ण सम्बन्ध भएका उनले पछिल्लो समय महेश बस्नेतमार्फत सम्बन्ध सुधार गरेर यो मौका पाएको बताइन्छ । एआइजी पालले एमालेलाई असहयोग हुने गरी काम गरेको भनेर बस्नेत लगायतको समूहले प्रधानमन्त्रीलाई कुरा लगाएर उनलाई हटाइएको चर्चा प्रहरी मुख्यालयमा छ ।

पछिल्लो बढुवा र सरुवाले प्रहरीमा नेतृत्वमा गुटबन्दी र टकराव बढाएको छ । यसअघि पोखरेल भावी महानिरीक्षकका एक्ला दाबेदार देखिएकोमा अब थापा समेत थपिएपछि कडा प्रतिस्पर्धा हुने भएको छ । दुवै एआइजीको संगठनमा टिम नै देखिएको छ । यसले फेरि गुटबन्दीको सुरुवात हुने जोखिम बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्