काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट बाहिरिनु परेपनि छिट्टै नेतृत्वमा आउने बताएका छन् ।
सरकारबाट बाहिरिने क्रममा राष्ट्रको नाममा बिदाइ सम्बोधन गर्दै ओली नेपाललाई समृद्ध र नेपालीलाई खुसी बनाउने अभियानमा आफू र आफ्नो पार्टी निरन्तर लागिपर्ने बताए ।
उनले भने, ‘बादलले एकछिन अँध्यारो पार्न सक्ला,घामलाई एकछिन छेक्न सक्ला । तर सूर्यको प्रकाशलाई कसैले पनि निस्तेज पार्न सक्दैन, नेपाललाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउने महान अभियानमा म र मेरो पार्टी सँधैभरी अग्रमोर्चामा डटिरहनेछ । एकछिन बादल लागेको छ । फेरि सूर्य बादल हटाएर उदाउने छ ।’
उनले आफू नेतृत्वको सरकारलाई साथ सहयोग गर्ने सबैमा धन्यवाद पनि आभार प्रकट गरे । ‘मेरो नेतृत्वमा सञ्चालित सरकार ऐतिहासिक रुपमा सफल सरकार हो । त्यसको सफलतामा धेरैको योगदान छ’,उनले भने, ‘सबैको सद्भावले यो सफलता प्राप्त भएको हो । यसले हामीलाई ऊर्जा प्राप्त दिएको छ ।’












