Logo
Logo

उज्यालो नेपालका अभियानकर्मीलाई अर्थ मन्त्रालयको जिम्मा


रासस


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी समिति सदस्य जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन् ।

सर्वोच्च अदालतको सोमबारको फैसलापछि गठन भएको शेरबहादुर देउवा नेतृत्वको सरकारमा शर्मा राजनीतिक जीवनमा चौथो पटक मन्त्रीका रुपमा नियुक्त भएका हुन् ।

यसअघि विसं २०६५ मा शान्ति तथा पुनःनिर्माणमन्त्री, विसं २०७३ मा ऊर्जामन्त्री र विसं २०७४ मा गृहमन्त्रीको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका शर्माले अर्थ मन्त्रालयको नेतृत्व सम्हाल्न सम्हालेका छन् ।

ऊर्जामन्त्रीका रुपमा उनको कार्यकाल स्मरणयोग्य छ । चर्को विद्युत्भार कटौतीका मारमा परेका नेपाली जनतालाई त्यसबाट मुक्त गराउन उनले प्रभावकारी कदम चालेका थिए ।

तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्धमा डेपुटी कमाण्डर शर्माको कार्ययोजनामा नै मुलुकले १६ घण्टासम्मको विद्युत्भार कटौतीबाट मुक्ति पाएको थियो । उज्यालो नेपाल निर्माणको श्रेय पाएका शर्मा माओवादीका प्रभावशाली नेता हुन ।

मुसिकोट नगरपालिका–५ रुकुम पश्चिममा विसं २०२० वैशाख २६ गते बुबा इस्केन्द्र र आमा नर्मदा शर्माको सुपुत्रका रुपमा जन्मेका शर्माको विशेष रुचिको क्षेत्र साहित्य र कृषि हो ।

शर्मा विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का तर्फबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । विसं २०६३ मा अन्तरिम व्यवस्थापिका सदस्य, संविधानसभा २०६४ र २०७४ मा सदस्यका रुपमा निर्वाचित शर्माले राजनीतिमा आउनुअघि कृषि अनुसन्धान केन्द्रमा पाँच वर्ष सेवा गरेका थिए । शर्माले जनसेवाश्री र संविधानसभा पदक प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्