जसले बालुवाटारबाट जनतालाई झुक्याइरहे « Drishti News – Nepalese News Portal
Logo
टिप्पणी

जसले बालुवाटारबाट जनतालाई झुक्याइरहे


उमेश बन्जाडे


प्रधानसेनापति र पशुपतिका पुजारी काण्डको फेरो समाएर उतिबेला एमाले र कांग्रेसले तत्कालीन शक्तिशाली माओवादीलाई थला पारे । युद्धभूमिको जंगी स्वभावसहित सबैलाई उछिट्याउने दाउसहित जुँगाको ताउ मिलाएर सत्तामा पुगेका प्रचण्डले केही गर्ने आँट त देखाएकै हुन्, तर उनको आवेग र आँटले मात्रै केही लागेन ।

देश तोड्छु भन्नेहरू र देश जोड्छु भन्नेहरू मिले । राजा ल्याउँछु भन्नेहरू र राजा फ्याँक्नेहरू पनि मिलेकै थिए । संविधान बनाउनेहरू र त्यही संविधान च्यात्नेहरू पनि मिले । तर यो देशबाट हराएको सुशासन र समृद्धि जनताले सुघ्न पनि पाएनन् । आउँदा निर्वाचनका प्रतिबद्धताहरुमा देश बनाउने होइन, नेता बन्ने पंक्तिलाई केन्द्रविन्दुमा राखौं । ‘कमाउ र राज गरको सिद्धान्तलाई निधारमा टाँसेर विकास र निकासका बुँदाहरु पुछारमा झुण्ड्याऊँ । नेपालको राजनीतिमा आखिर हुँदै आएको र भइरहेको यही त हो ।

सामान्य वडासदस्यहरुको निर्वाचनपछिको जीवनशैली देखेर समाजले जिब्रो टोक्छ । प्रदेश र प्रतिनिधिसभाका सांसदको के कुरो ? गाउँगाउँमा सिंहदरबारको घण्टी बजाएर ल्याइएको स्थानीय सरकारले मैमत्त भएर डोजर चलाइरहेको छ । ऊ आफैँ ठेक्कापट्टा, टेण्डर र कमिसनमा मस्त छ । गाउँहरु दलालको कर्मकाण्डले ऐठन पार्दा मुर्झाएर घुँडा टेकेका छन् । दलाल, पूँजीपति तथा नोकरशाही व्यवस्थाविरुद्ध जंग लडेर सत्तामा पुगेका कामरेडहरुको असलियतका बारेमा यी अक्षर पढिरहेका तपाईं नै बढ्ता जानकार हुनुहुन्छ ।

चप्पल पड्काएर सिंहदरबार पुगेका होउन् वा गोल्डस्टार जुत्ताका जुम्रा कन्याउँदै सिंहदरबार छिरेका जहिल्यै तनावै तनावमा भेटिन्छन् । न यिनीहरुको काम भेटिन्छ, न त कहिल्यै फुर्सद देखिन्छ । सधैँ आफ्नो सानमान र सम्मानको अपेक्षा राख्ने सत्ता लिप्साका सेठहरु देश बनाउने चिन्तनमा नभएर सत्ताको भाग नपुग्ने चिन्ताको चितामा डढिरहेका छन् ।

भनिन्छ, सोझा जनतालाई एकपटक झुक्याउन सकिन्छ, पटक–पटक सकिँदैन । सायद बालुवाटारको ‘बा’को जीवनमा यो नै अन्तिम धुत्र्याइँ होला ।

हिजो आमूल परिवर्तनका लागि भन्दै पोखिएको रगतको अवमूल्यन गर्दै शासकहरु ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संरचना पिपल फेँदीमा जल चढाएर प्राप्त भएको व्यवस्था’ ठान्दैछन् । यो व्यवस्थालाई कसरी विस्थापित गर्ने भन्ने काममा सत्तासिनहरु जुटेका छन् । राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने साधनहरु पुरानै व्यवस्थाको हितमा लागिपरेका छन् ।

नेपालमा राजनीतिक परिवर्तन पटक–पटक भए पनि राज्यका मेसिनरीमा कहिलै परिवर्तन भएन । उनीहरु न जनताको नियन्त्रणमा छन् न त जनताको सेवकको रूपमा । बरु उनीहरु निर्धक्क पीडक र शासकको रुपमा काम गरिहेका छन् । प्रायः जनमानस सरकारी रवैया देखेर वाक्क छन् । चोक र गल्लीहरुमा निरन्तर सरकारले गरेका एकपछि अर्को गलत कदमका विरुद्ध चर्को आलोचना भइरहेको छ ।

यद्यपि प्रधानमन्त्रीका रुपमा ओलीले भन्ने गर्थे– ‘यो सरकार र एमाले पार्टी झनै लोकप्रिय भएको छ ।’ कयौंपटक उनले जानाजान गरेका कमजोरी देखेर लोक लज्जित थियो, छ । तर उनलाई फिटिक्कै पश्चाताप थिएन, छैन । दिनै नबिराइ मोबाइल र टेलिभिजनका स्क्रिनमा झनै जंगिएर विपक्षीप्रति शब्दबाण हानिरन्छन, हान्छन् । र आफ्नो समृद्धिको अध्याय वाचन गर्न थाल्छन् । खै यो कुन बारीको कस्तो लोकप्रियता हो ?

जो बोकिएर माथि उक्लिन्छ, उसले यथार्थ धरातल बिर्सिन्छ । र, भ्रमवश ऊ ठान्छ– म जहाँ र जत्रो छु, यो मेरो वास्तविक उचाइ हो । उता अहिलेको सत्ता ठिक त्यही भ्रमको गुमराहमा बेसुर बनेर नाचिरहेको छ । यता आम जनअपेक्षाहरु उखान टुक्काको परिबन्धभित्रै ख्याउटिएका छन् ।

दरबारभित्र बेग्लै खिचडी पकाउने र बाहिर निस्किएपछि जनतालाई अर्कै चखाउने छेपारे प्रवृत्तिले दशकौंदेखि देशलाई पिरोलिरहेको छ । पुस्तौंदेखि परिवर्तनका लागि भनेर तातो सडकमा खाली खुट्टा दौडिएका भुइँमान्छेहरु पिँधमै खुम्चिएर जिउन बाध्य छन् । बाढीपहिरोबाट वर्षेनी कयौं मानवजीवन खोलामा बगेका छन् । घरबारविहीन भएका छन् ।

यता सरकार भने त्यसको समाधानको साटो खोलामा डोंजर जोताउँदै बालुवाटारको मझेरीमा ताली बजाएर बसेको हुन्छ । प्रत्येकपल्ट आफ्नै दुनो सोझ्याउन सत्तामा जाने शासकहरुले बारम्बार देश उधोगतितर्फ धकेलिरहेका छन् । जब शासकहरु सत्ताको घोडामाथि उक्लिएर घमण्डले उन्मत्त हुँदै जनअधिकार कुल्चिन थाल्छन्– उनीहरु आँखामा लगाम लगाउँछन् । आफ्नो पेरिफेरिभन्दा टाढा सामान्य नजरअन्दाजसमेत गर्न सक्दैनन् ।

यद्यपि, हामीसँग इतिहास साक्षी छ । जब जनता जागे भने दुनियाँका कुनै पनि शक्तिको जोर चल्दैन । जुन जनताको काँधमा चढेर सत्ताको चुलीमा पुगेका छौँ, उनै जनताले भित्तामा पुर्याउन सक्छन् । तसर्थ, अझै पनि धूर्त फ्याउराहरुले यदकदा खरायो जस्तै अभिनय गर्दैमा अब जनताले पत्याउनेवाला छैन । भनिन्छ, सोझा जनतालाई एकपटक झुक्याउन सकिन्छ, पटक–पटक सकिँदैन । सायद बालुवाटारको ‘बा’को जीवनमा यो नै अन्तिम धुत्र्याइँ होला ।

प्रतिक्रिया दिनुहोस्