Logo
Logo
एमाले संसदीय दलको बैठक

विदेशी हस्तक्षेपमा सरकार परिवर्तन भएको ओलीको आरोप


दृष्टि संवाददाता


काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान र लोकतन्त्रलाई उपहास गरेर अदालतले निर्णय गरेको बताएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको एमाले संसदीय दलको बैठकमा ओलीले संविधानको मूल्य र मान्यताविपरीत जनताको जनादेशलाई उपहास गरेर अदालतको आदेश भएको बताएका हुन् ।

उनले मुलुकलाई निर्दलीयतातर्फ लैजाने षड्यन्त्र भइरहेको जिकिर गरे । त्यस्तै उनले एमाले विभाजन गर्ने षड्यन्त्र भइरहेको भन्दै सचेत हुनुपर्ने बेला आएको बताए ।

ओलीले सर्वोच्च अदालतको संवैधानिक इजलास गठनकै बेलादेखि फैसलाको पूर्वाभ्यास भइसकेको समेत उनले बताए । त्यस्तै उनले नेपालको सरकार परिवर्तनमा विदेशी हस्तक्षेप भएको आरोप पनि लगाए ।

बैठकले जनादेशलाई पूर्ण इन्कार गरेर अदालतले गरेको निर्णयविरुद्ध जनतामा अभियानका साथ जाने निर्णय गरेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । संविधान, लोकतन्त्र र दलीय व्यवस्थाको रक्षार्थ अभियान चलाउनुपर्छ भन्ने पार्टीको निष्कर्ष रहेको उनको भनाइ छ ।

बैठकमा माधव नेपाल पक्षका सांसदहरू अनुपस्थित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्