Logo
Logo

प्रधानमन्त्री देउवासँग स्पष्ट बहुमत !


दृष्टि संवाददाता



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बस्ने प्रतिनिधिसभाको पहिलो बैठकमा विश्वासको मत लिँदैछन् । एमालेका बरिष्ठ नेता माधव नेपाल पक्षसहित प्रधानमन्त्री देउवाको पक्षमा स्पष्ट बहुमत छ ।

प्रधानमन्त्री देउवालाई नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टीको (उपेन्द्र यादव पक्ष) र राष्ट्रिय जनमोर्चाले सम्मिलित गठबन्धनले मत दिनेछन् । प्रधानमन्त्री देउवाका लागि माधव पक्षबाहेक ८ मतको आश्यक छ । तर, माधवसँग २३ सांसद छन् ।

यता सर्वोच्च अदालतले संविधानको धारा ७६ को ५ बमोजिम प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा दलीय ह्विप नलाग्ने ब्याख्या गरिसकेको छ। त्यसैले माधव एमाले नेपाल पक्षका सांसदहरूले देउवालाई मत दिएपनि उनीहरूलाई पार्टीले कारवाही गर्न पाउनेछैन।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाको सांसदको संख्या जोड्दा देउवाको पक्षमा १ सय २७ सांसद पुग्छन्। स्वतन्त्र सांसद छक्कबहादुर लामाको मत जोड्दा १२८ हुन्छ। यस्तो अवस्थामा माधव नेपाल पक्षका ८ सांसद भए देउवालाई बहुमत पुग्नेछ। तर, देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चमा रिट दायर गर्दा माधव पक्षका २३ सांसदले हस्ताक्षर गरेका थिए। ती २३ सांसदले नै देउवालाई मत दिए १ सय ५१ मत पुग्नेछ।

यस्तै, माधव पक्षका सांसदहरूले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने स्पष्ट पारेका छन् । उनीहरूले यसबारेमा आइतबार बसेको आन्तरिक छलफलपछि निर्णय गरेका हुन् । आफूहरू पहिलेदेखि नै संसद् पूर्णकाल चल्नुपर्ने पक्षमा उभिएकाले जे गर्दा संसद् पुरा अवधि चल्न सक्छ सोही गर्ने माधव पक्षको सांसदहरुको भनाइ छ ।

​‘हामीले संसद् पूर्णकालीन चल्नुपर्छ भन्दै आएका हौ र त्यसका लागि प्रयास गर्दै पनि आएका हौ’, माधव नेपाल समूहका सांसद विरोध खतिवडाले भने, ‘यसमा निर्णय गरिरहनुपर्ने आवश्यकता छैन ।’

प्रतिक्रिया दिनुहोस्