काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुनर्स्थापना ऐतिहासिक फैसला भएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा मन्तव्य दिँदै उनले प्रतिनिधि सभालाई पुनर्स्थापना गर्ने ऐतिहासिक फैसलाका लागि सर्वोच्च अदालतप्रति आभार प्रकट गरे ।
उनले भने, ‘संविधान सभाबाट निर्मित संविधानको मर्म र भावना एवं लोकतन्त्रको सार्वभौम मान्यता अनुसार प्रतिनिधि सभालाई पुनर्स्थापना गर्ने ऐतिहासिक फैसलाका लागि सम्मानित सर्वाेच्च अदालतप्रति आभार प्रकट गर्न चाहन्छु ।’
उनले शक्ति पृथकीकरणविरुद्ध चालिएको कदम फेरि असफल भएको बताए । ‘शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त विपरीत चालिएको कदम एकपटक फेरि असफल भएको छ, प्रतिनिधि सभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको छ’ उनले भने ।
सभामुख सापकोटाले संसद पुनर्स्थापना हुनु गौरवपूर्ण भन्दै सबै सांसदहरुलाई बधाइ दिए । ‘यो सभाको सार्वभौम अधिकारलाई पुनः स्थापित गर्न आफ्नो तर्फबाट योगदान पु–याउने राजनीतिक दल, प्रबुद्धवर्ग, सञ्चार जगत, नागरिक समाज एवं आम जनसमुदायलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु’ उनले भनेका छन् ।











