Logo
Logo
टिप्पणी

ठाकुर समूहले प्रधानमन्त्रीलाई विश्वासको मत दिनुको कारण


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूहले अनपेक्षित रूपमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गर्यो ।

केपी शर्मा ओली नेतृत्वको सरकारमा पार्टीको निर्णय विपरीत सहभागी भएको ठाकुर समूहले देउवालाई विश्वासको मत दिन्छ भन्ने अपेक्षा कसैले गरेका थिएनन् । र, आफ्नै सरकार ढालेर नयाँ सरकार बनाएकालाई विश्वासको मत दिनु राजनीतिक नैतिकताको आधारमा पनि बेठिक भन्ने हुन्थ्यो । तर, अन्तिम अवस्थामा ठाकुर समूहले विश्वासको मत दिने निर्णय गर्यो । सबैलाई अचम्मित तुल्यायो ।

देउवाले संसदमा विश्वासको मत मागेपछि संसद बैठकलाई सम्बोधन गर्दै ठाकुरले विश्वासको मत दिने निर्णय गरेको बताए । उनले भने– ‘प्रधानमन्त्रीज्यूले विश्वासको मत माग्नु भयो । हाम्रा मुद्धाहरु सम्बोधन गर्ने अपेक्षा र आग्रहसहित विश्वासको मत दिने निर्णय गरेको हौं ।’

विश्वासको मत दिनुको कारण
अध्यक्ष ठाकुरले भने झै देउवा नेतृत्वको सरकारले आफ्ना मुद्धा सम्बोधन गर्ने आशामा विश्वासको मत दिन पुगेका होइनन् भन्ने विश्लेषण गरिएको छ । आफ्ना सांसदहरु धमाधम उपेन्द्र यादव समूहमा जान थालेपछि बाध्य भएर ठाकुर समूहले पनि विश्वासको मत दिने निर्णय गरेको बताइन्छ ।

यादव समूहको भागमा भाँजो हाल्न !
जसपा नबन्दै राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टी हुँदा नै दुई शक्तिबीच एकअर्कालाई भाँजो हाल्ने क्रम चल्थ्यो । बाध्यात्मक परिस्थितिमा एक भए पनि भावनात्मक रूपमा एक हुन नसकेको दुई शक्तिबीच आन्तरिक शक्ति संघर्ष चलिरहेकै हुन्थ्यो । केपी ओलीको कदम ठीक बेठिक ? भन्नेमा पनि यो शक्तिको संघर्ष थियो ।

ओली नेतृत्वमा सरकार बन्दासमेत सरकारमा सहभागी हुने क्रममा दुई शक्तिबीच एक अर्कालाई छेक्ने कोसिस भएको थियो । त्यो समयमा यादव समूहले ओलीको मन जित्यो र सरकारमा सहभागी भयो । ठाकुर समूह बाहिरै बस्यो । तर, सरकारलाई समर्थन गर्यो । यसपटक पनि यादव समूहले देउवालाई विश्वासको मत दिने भएपछि उहिले जसरी नै ठाकुर समूहले पनि विश्वासको मत दिने निर्णय गरेको हो ।

ठाकुरको आशा
पार्टीको निर्णयविरुद्ध ओली सरकारमा सहभागी भएको ठाकुर समूह १३ दिन मात्र सरकारमा रह्यो । ‘एकातिर सरकार ढल्यो, अर्कोतिर पार्टी विभाजन हुँदा आँफू रित्तिने सम्भावना बढ्यो’ भन्ने ठाकुरको पछिल्लो विश्लेषण हो । त्यसैले यादव समूहको निर्णय अनुसार नै देउवालाई विश्वासको मत दिएर पार्टीमा आफ्नो स्थान केही सुरक्षित होला कि भन्ने आशा ठाकुरमा पलाएको पनि विश्लेषण गरिएको छ ।

के होला जसपा विवाद ?
दुई समूह भए पनि सिंंङ्गो जसपाले प्रधानमन्त्री देउवालाई विश्वासको मत दियो । तर, यत्तिले जसपाको विवाद समाधान हुने अवस्था छैन । निर्वाचन आयोगमा आधिकरिकताको झमेला बाँकी नै छ । आजकै निर्णयबाट ठाकुरले आशा गरे झै जसपाको समस्या समाधान हुने सम्भावना छैन ।

परिस्थितिले यादव समूह नै ठीक भन्ने वातावरण बनेकाले जसपाको विवाद समाधान हुन ठाकुर समूहले ‘ओली सरकारमा सहभागी हुनु गल्ती थियो’ भन्नुपर्ने हुन्छ । तर, ठाकुर हत्तपत्त त्यो अवस्थामा पुग्ने सम्भावना छैन । त्यसैले जसपाको समस्या समाधान निर्वाचन आयोगको निर्णयसम्म लम्बिने छ ।

प्रतिक्रिया दिनुहोस्