Logo
Logo

भीम रावललाई राजीनामा फिर्ता लिन ओलीको आग्रह


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष भीम रावललाई संसद पदबाट दिएको राजीनामा फिर्ता लिन आग्रह गरेका छन् ।

पार्टीको १० औं केन्द्रीय किमटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीलाई उपाध्यक्ष रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन आग्रह गरेका हुन् । उनले भने, ‘हतारिएर किन राजीनामा दिएको ? सल्लाह गर्नुपर्ने । अझै पनि सकिन्छ भने राजीनामा फिर्ता लिनुस् ।’

पार्टी एकता जोगाउन आग्रह गर्दा माधव नेपालले हप्काएर पठाएपछि रावलले सांसद पदबाट राजीनामा दिएको अध्यक्ष ओलीले बताए । उनले भने, ‘भीम रावलहरुले देउवालाई विश्वासको मत नहालौं, पार्टी एकताबद्ध बनाऔं भन्दा म विधि, निर्णय मान्दिनँ एक्लै भएपनि भोट हाल्छु भनेर हप्काएर पठाए ।’

रावलले आइतबार देउवाले विश्वासको मत लिने प्रक्रिया सुरु हुनुअघि राजीनामाको घोषणा गरेका थिए । उनले आइतबार संघीय संसद् भवनमा सञ्चारकर्मीहरुको अगाडी राजीनामा पत्र पढेर सुनाएका थिए ।

रावलले राजीनामा दिए पनि सभामुख अग्निप्रसाद सापकोटाले उनको राजीनामा स्वीकृत भएकोबारे अहिलेसम्म औपचारिक सूचना प्रकाशित गरेका छैनन् ।

संविधानको धारा ८९ को (क) अनुसार सांसदले राजीनामा दिएपछि उक्त स्थान रिक्त भएको मानिन्छ । सभामुखले स्वीकृत वा अस्वीकृत गर्न सक्ने व्यवस्था संविधानमा छैन ।

प्रतिक्रिया दिनुहोस्