Logo
Logo

लगातारको असफलताले प्रहरीप्रति विश्वास घट्दै


दृष्टि संवाददाता


काठमाडौं । चितवन राप्ती नगरपालिकाकी सुजिता भण्डारीको मृत्यु प्रकरण यतिबेला सर्वत्र चर्चा छ । हराएको नवौं दिनमा जंगलमा उनको शव भेटिए पनि उनको मृत्युको कारण अझै खुल्न सकेको छैन । घटनाको अनुसन्धानमा प्रहरीले लापरबाही गरेको भन्दै स्थानीय आक्रोशित हुँदा कफ्र्यु नै लगाउनुपर्ने अवस्था आयो । सो क्षेत्र अझै शान्त भइसकेको छैन । प्रहरीले सुरुदेखि नै गम्भीरता नदेखाउँदा सुजिताको मृत्यु भएको भन्दै स्थानीयमा आक्रोश बढ्यो । प्रहरीमाथि सर्वसाधरणको विश्वास छैन ।

साथीकोमा जान भनेर हिडेकी सुजिता बेपत्ता भएकी थिइन् । दिदीले फोन गर्दा आफुलाई अपहरणमा परेको बताएकी थिइन्, पछि मोबाइल स्वीच अफ भयो । जसकारण घटना थप रहस्यमय बन्यो । त्यसको नौ दिनपछि नजिकै जंगलमा उनको शव भेटियो । पोष्टमार्टम रिपोर्टमा उनको मृत्युको कारण खुल्न सकेको छैन । हत्या भएको जस्तो प्रमाण नदेखिएको र घटनास्थलमा विषको बट्टा बरामद भएकोले आत्महत्या भएको समेत आकालन गरिएको छ । तर, सुजिताका आफन्त त्यस कुरामा विश्वस्त छैनन् ।

सुजितासँग बारम्बार फोनमा कुरा हुने केही आफन्तसँग सोधपुछ गर्दा घटना हत्याभन्दा आत्महत्या जस्तो देखिएको प्रहरी अधिकारी बताउँछन् । तर, प्रहरीले सुरुमा अनुसन्धानलाई आफन्तले चाहेअनुसार सक्रियता नदेखाउँदा यो घटनामा प्रहरीमाथि आशंका बढेको देखिन्छ । अझै अभियान्तका नाममा समेत कतिपयले समाजलाई भड्काउने प्रयास गरेका थिए । तर, प्रहरी अनुसन्धानप्रति बढेको यस्तो अविश्वासले प्रहरीको चिन्ता पनि बढाएको छ ।

निर्मलादेखि प्रवीणसम्म
प्रहरी अनुसन्धानमा सर्वसाधरणको विश्वास घट्नुमा विगतका घटनामा प्रहरीले गरेका गल्ती पनि कारण छन् । कञ्चनपुरकी निर्मला पन्तदेखि मोरङका प्रवीण बाँनियाको हत्या घटनाको अनुसन्धानमा प्रहरीबाट लापरबाही भएको थियो । बाँनियाको हत्या प्रकरणमा त प्रहरीले हचुवाको भरमा अनुसन्धान गरेको पुष्टि भयो । आन्दोलनपछि मात्र प्रहरीले गम्भीरताका साथ अनुसन्धान गरेको थियो ।

मोरङको उर्लाबारी नगरपालिकामा सात महिनाअघि बास्तोलाको रहस्यमय मृत्यु भएको थियो । बाँस्तोला मृत्यु प्रकरणको अनुसन्धान विवादमा परेपछि मोरङ प्रहरीले छानबिन समिति गठन गरेको थियो । अनुसन्धानको मिसिलमा मृतकको गलत फोटो समावेश गरेकोबाट सर्वसाधरणको आशंका बढेको थियो । त्यो प्रहरीको मानविय गल्ती थियो, पछि अनुसन्धानमै लापरबाही गरेको खुल्यो ।

४ पुसमा छिमेकीको घरमा जान्छु भन्दै हिँडेका मोरङ उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोला भोलिपल्ट साथीको घरमा मृत अवस्थामा फेला परेका थिए । मराउमा गएका प्रवीण साथीहरूमध्ये कसैको फोन आएपछि खानपान र भेटघाटमा गए । उनले धेरै मिल्ने साथी राजेश रणपहेलीको आग्रहमा उर्लाबारी–६ कै सौरभ होटलमा बसेर खानपान गरेका थिए । भोलिपल्ट प्रवीण रणपहेलीकै कोठामा मृत फेला परेका थिए । जसको जानकारी उनको परिवारले १२ घन्टापछि पाएको थियो ।

प्रहरीले परिवारलाई जानकारी नै नदिई शव अस्पताल लगेपछि प्रहरीप्रति परिवार सशंकित बनेको थियो । परिवारले प्रवीणको मृत्यु नभई हत्या भएको दाबी गर्दै चुस्त अनुसन्धान गर्न आग्रह गरेको थियो । सोही दिन राति प्रवीणसँगै सुतेका साथीहरू रतुवामाई नगरपलिका–१० का निकेश शिवा भनिने २९ वर्षीय मेहरमान दर्जी, उर्लाबारी–६ का १९ वर्षीय सुदीप परियार, झापा गौरादह–९ का दीपेश पौडेल, पप्पु भनिने ३२ वर्षीय राजेश रणपहेली, उर्लाबारी–६ का घरधनी ६० वर्षीय रमेश गिरी र उर्लाबारी–९ का होटल सञ्चालक कुमार राईलाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गर्यो ।

प्रवीणका बुबा प्रेमप्रसाद बास्तोलाले छोराको हत्या भएको भन्दै कर्तव्य ज्यान कसुरमा राजेश रणपहेलीसमेत ६ लाई आरोपी बनाएर २२ पुसमा किटानी जाहेरी दर्ता गराए । प्रहरीले पक्राउ परेका प्रतिवादीहरूलाई अभद्र व्यवहारको कसुर लगाएर २५ दिन थुनामा राख्दा पनि शव भिसेरा परीक्षण प्रतिवेदन प्राप्त नभएपछि सरकारी वकिल कार्यालयको निर्देशनमा २ माघमा हाजिर जमानीमा छाडेको थियो । पक्राउ परेका व्यक्तिहरू छाडिएपछि परिवार र आफन्तहरू आक्रोशित बने ।

उनीहरूले इप्रका उर्लाबारीका इन्स्पेक्टर उद्धव पोखरेलले मिलेमतोमा गलत अनुसन्धान गराएको आरोप लगाउँदै प्रहरी कार्यालय घेराउ गरे । बहिनी सदीक्षा बास्तोलाको अगुवाइमा प्रशासन कार्यालय र सरकारी वकिलको कार्यालयमा पनि डेलिगेसन गएका थिए । तर, प्रहरी अझै गम्भीर बनेन ।

पोस्टमार्टम रिपोर्टमा ‘नो अल्कोहल, नो ओभर डोज’ भन्ने लेखिएको थिएन । मात्रै ‘कज अफ डेथ नट फाउन्ड नाउ’ भनिएको थियो । त्यसैले पक्राउ परेकालाई अभियोग लगाउन पर्याप्त प्रमाण नपुगेपछि कानुनअनुसार हिरासतमा लिएकालाई छाड्न निर्देशन भएपछि पक्राउ परेकाहरू सबै २ माघमा हाजिरी जमानीमा छाडिए । पक्राउ परेकाहरू छाडिएपछि आफन्तहरू आक्रोशित भएर प्रहरीविरुद्ध आन्दोलन थाले । लगत्तै भिसेरा रिपोर्ट पनि प्राप्त भयो । रिपोर्टमा प्रवीणको मृत्यु श्वासप्रश्वास अवरुद्ध भएर भएको भन्ने आयो । त्यसपछि प्रहरीको गल्ती प्रष्ट भयो । थप अनुसन्धान गर्दा हत्या नै भएको पुष्टि भयो । सायद मृतकका आफन्तले आन्दोलन नगरेको भए आरोपीले सहजै उन्मुक्ति पाउने थियो । यो घटनाले अपराध अनुसन्धानमा प्रहरीले गर्ने लापरबाही प्रष्ट भयो ।

स्रोत साधनको अभावदेखि हस्तक्षेपसम्म
नेपालको प्रहरी अपराध अनुसन्धानमा विश्वमै अब्बल मानिन्छ । तर, पनि पटक–पटक अनुसन्धानमाथि प्रश्न उठ्ने गरेको छ । यसका पछाडि प्रहरीमा हुने गरेको राजनीतिक हस्तक्षेपदेखि स्रोत साधनको अभावसम्म प्रमुख कारण भएको प्रहरी अधिकारी बताउँछन् । सरकारले प्रहरीको स्रोत साधनमा लगानी बढाउन सकेको छैन । बैज्ञानिक अनुसन्धान प्रणालीमा नेपाल प्रहरी निकै पछाडि छ ।

प्रहरीमा अनुसन्धानमा अब्बल प्रहरी अधिकारीको मनोबल गिरेको भन्ने गरिएको छ । उनीहरुको संगठनले उचित मूल्याङकन गर्न सकेको छैन भने गरिएको छ भने पछिल्लो समय गलत अनुसन्धान गरेको नाममा हचुवाकै भरमा प्रहरीमाथि मुद्दा चलाउने प्रवृत्तिसमेत देखिएको छ ।

अझै भेटिएनन् निर्मलाका हत्यारा
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको करिब तीन वर्ष पुगेको छ । प्रहरीको मात्र नभई सरकारकै ठूलो असफलता बनेको यो घटनाको अनुसन्धानमा अझै प्रहरी रुमल्लिएको छ । अहिले पनि घटनाको अनुसन्धानमा सीआइबी टोली कञ्चनपुरमा रहेपनि कुनै नयाँ तथ्य आउन सकेको छैन ।

प्रहरी महानिरीक्षकमा नियुक्त भएलगत्तै शैलेश थापा क्षेत्रीले यो घटनाको अनुसन्धानबारे उच्च प्रहरी अधिकारीसँग छलफल गरेका थिए । सीआइबीको अनुसन्धान सुरुमा पक्राउ परेर छुटेका दिलिपसिंह बिष्टमाथि नै थियो । परिस्थितिजन्य प्रमाण पर्याप्त भएपनि उनीमाथि अकाट्य किमिसको वैज्ञानिक प्रमाण नहुँदा फेरि प्रहरीले पक्राउ गर्ने आँट गर्न सकेन ।

त्यतिबेला डिएनए म्याच नहुँदा छुटेका उनीविरुद्ध यसपटक पहिलेभन्दा धेरै प्रमाण भएको प्रहरी अधिकारीहरु दाबी गर्छन् । तर, घटनाका प्रत्यक्षदर्शी कोही नभएको र डिएनएको पाटो बन्द भइसकेकाले प्रहरी अनुसन्धान जटिल बनेको छ । अकाट्य प्रमाण नभए पनि परिस्थितिजन्य र अन्य पर्याप्त प्रमाण रहेको उनीहरुको भनाई छ । हत्याको दिन उनलाई सोही बाटो हिडेको देख्ने एक स्थानीयले प्रहरीमा कागज गरिदिएका छन् ।

त्यस्तै, दिलिपको दुव्र्यवहार भोगेकी अर्की महिलाले प्रहरी कार्यालयमा गएर त्यसबारे कागज गरिदिएकी छिन् । निर्मलालाई आफुले नै हत्या गरेको हुँ भनेर स्थानीय युवाहरुलाई बताएको र मिडियामा बोलेको भिडियो प्रहरीको अर्काे प्रमाण हो । बिष्टको भिडियो हेरेपछि नै निर्मलाकी आमाले प्रहरीमा किटानी जाहेरी दिसकेकी छन् । सो घटनामा प्रहरीले थप प्रमाण जुटाउने काम गरिरहेको प्रवक्ता बसन्तबहादुर कुँवर बताउँछन् ।

सो प्रकरणमा सेवाबाट हटाइएका एसपी डिल्लीराज बिष्टलाई मन्त्रिपरिषद्बाट सेवामा पुर्नस्थापना गरिएको छ । मुद्दा खेपेका अन्य प्रहरीले पनि अवकाश पाइसकेका छन् । अनुसन्धान त्यतीबेला नै सही भएपनि प्रहरी नेतृत्वले त्यसको व्यवस्थापन गर्न नसक्दा यो घटना यसरी अहिलेसम्म नसुल्झिएको विगतमा अनुसन्धानमा खटिएका प्रहरी अधिकारी बताउँछन् ।

डीआइजी उत्तमराज सुवेदीले तीन महिनाअघि केहीदिनभित्रै हत्यारा सार्वजनिक गर्ने भनेर अन्र्तवार्ता दिएका थिए । उनको सुदुरपश्चिम प्रदेशबाट सरुवा भइसकेको छ । तर, केही दिन आएन । स्रोतका अनुसार निर्मलाको परिवारसँग निकट एक व्यक्तिमाथि शंका गरेर उनले अनुसन्धान गरेका थिए । तर, थप अनुसन्धानमा त्यो पुष्टि हुन सकेन ।

तत्कालिन आइजी सर्वेन्द्र खनालकै कारण यो घटनामा प्रहरी असफल भएको बताइन्छ । उनले आफ्ना प्रहरीका कुरा सुन्ने भन्दा भीडबाट निर्देशित भएर काम गर्दै गए । आफ्नो कुर्सी जोगाउन उनले त्यसरी गलत निर्णय गर्दा यो प्रकरण नसुल्झिएको हो । अवकाशअघि एक कमिटी बनाएर यस विषयमा उनले छानबिन गर्न लगाए । एआइजी धीरु बस्नेतको प्रतिवेदनलाई त्यसले खारेज गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्